मुख्य समाचार
बङ्गलादेशमा रोजगारी कोटाको विषयमा विद्यार्थी समूहबीच झडप, सय जना घाइते
बङ्गलादेशमा रोजगारी कोटाको विषयमा विद्यार्थी समूहबीच झडप, सय जना घाइते

बङ्गलादेशमा विद्यार्थीहरूबीच सोमबार भएको झडपमा एक सय जना घाइते भएका प्रहरीले बताएको छ। प्रतिष्ठित सरकारी नोकरीका लागि कोटाको विरोध गरिरहेका प्रदर्शनकारीहरू र सत्तारूढ पार्टीप्रति बफादार विरोधी प्रदर्शनकारीबीच झडप भएको हो।



कोटाविरोधी सयौँ प्रदर्शनकारी र सत्तारूढ अवामी लिग पार्टीको समर्थन गर्ने विद्यार्थीहरूले ढाका विश्वविद्यालय परिसरमा घन्टौँसम्म झगडा गरेको, ढुङ्गा हानेको, लाठीले लडाइँ गरेको र एकअर्कालाई फलामको रडले पिटेको प्रहरी र प्रत्यक्षदर्शीहरूले बताएका छन्। केहीले चक्कु बोकेका थिए भने अन्यले पेट्रोल बम प्रहार गरेका थिए।

कोटा प्रणालीले सन् १९७१ मा मुक्ति सङ्ग्रामका वीरहरूका सन्तानलगायत विशिष्ट समूहका लागि कूल लाखौँ सरकारी पदहरूको आधाभन्दा बढी निजामती पदहरू आरक्षित गर्दछ।



स्थानीय प्रहरी स्टेसन प्रमुख मोस्ताजिरुर रहमानले भने, 'उनीहरूले एकअर्कालाई लाठी र ढुङ्गा प्रहार गरे।' प्रहरी निरीक्षक मसुद मियाले भने, 'महिलासहित करिब एक सय विद्यार्थी घाइते भएका छन्, उनीहरूलाई अस्पताल लगिएको छ र अझै पनि मानिसहरू अस्पताल आइरहेका छन्।'

विद्यार्थीहरूले योग्यतामा आधारित प्रणालीको माग गर्दै यसै महिनाको प्रारम्भमा विरोध प्रदर्शन सुरु गरेका थिए। बङ्गलादेशको शीर्ष अदालतले कोटा योजना निलम्बन गरे पनि यो प्रणाली जारी छ।

कोटाविरोधी प्रदर्शनकारीहरूले हिंसाका लागि सत्तारूढ पार्टीका विद्यार्थीहरू जिम्मेबार रहेको बताएका छन्। 'उनीहरूले हाम्रो शान्तिपूर्ण जुलुसमाथि रड, लाठी र ढुङ्गाले आक्रमण गरे', कोटाविरोधी प्रदर्शनका राष्ट्रिय संयोजक नाहिद इस्लामले भने, 'उनीहरूले हाम्रा महिला प्रदर्शनकारीहरूलाई पिटे, ३० महिलासहित कम्तीमा एक सय ५० विद्यार्थी घाइते भएका छन् र २० जनाको अवस्था चिन्ताजनक छ।'

आलोचकहरूले यो प्रणालीले प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकारका समर्थक समूहहरूका बालबच्चालाई मात्र लाभ हुने बताएका छन्। व्यापक वहिष्कार र आफ्ना राजनीतिक विरोधीहरूविरुद्ध ठूलो कारवाहीसँगै वास्तविक विपक्षी दलहरूबिनाको निर्वाचनमा छयत्तर वर्षीया हसिनाले जनवरीमा लगातार चौथो कार्यकाल जितिन्।

हसिनाको अपमानजनक टिप्पणीहरूको विरोधमा हजारौँ विद्यार्थीले आइतबार रातभरदेखि सोमबार बिहानसम्म एक दर्जन विश्विद्यालयमा जुलुस निकालेका थिए। धेरै निजी विश्वविद्यायलका सयौँ विद्यार्थीले कोटाविरोधी नारा लगाउँदै ढाकामा विरोध प्रदर्शन गर्दा अमेरिकी दूतावास नजिक चार घन्टाभन्दा बढी सडक जाम भएको प्रहरीले बताएको छ।

बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा पाकिस्तानी सेनाका सहयोगीहरूसँग आफूहरूलाई तुलना गरिएको प्रदर्शनकारीहरूले बताएका छन्। 'यो अस्वीकार्य छ', ढाका विश्वविद्यालयकी एक छात्राले नाम उल्लेख नगर्ने शर्तमा भनिन्, 'हामी कोटा प्रणालीमा सुधार चाहन्छौँ जसबाट मेधावी विद्यार्थीहरूलाई उचित अवसर प्राप्त होस्।'

विद्यार्थीहरूले जातीय अल्पसङ्ख्यक र अपाङ्गहरूलाई समर्थन गर्न छुट्याइएको छ प्रतिशत नोकरीलाई मात्र कायमै राख्नुपर्ने बताएका छन्। सन् १९७१ मा स्वतन्त्रता प्राप्तिपछि बङ्गलादेश विश्वको सबैभन्दा गरिब मुलुकमध्ये एक थियो तर सन् २००९ पछि हरेक वर्ष औसत छ प्रतिशतभन्दा बढीले आर्थिक वृद्धि भएको छ।

यद्यपि उक्त वृद्धिको अधिकांश हिस्सा मुलुकको कपडा उद्योगलाई बल प्रदान गर्ने अधिकांश महिला कारखाना जनशक्तिका कारणले भएको हो र अर्थशास्त्रीहरूले विश्वविद्यालयका लाखौँ विद्यार्थीका लागि नोकरीको गम्भीर सङ्कट रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ। राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार परीक्षण देशका नेता किम जोङ–उनको निगरानीमा गरिएको हो। कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले हतियारमा उत्कृष्ट लडाई क्षमता रहेको र यसमा विशेष प्रविधि प्रयोग गरिएको बताएको छ। परीक्षणले दुवै क्षेप्यास्त्र ड्रोन र क्रूज क्षेप्यास्त्र सहित विभिन्न हवाई लक्ष्यलाई नष्ट गर्न सक्षम छन् ...
: गाजामा युद्धविराम सम्झौताको माग गर्दै शनिबार इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन्। धेरै सहरमा आयोजित विरोध र्‍यालीमा ठुलो संख्यामा मानिस सहभागी भए। प्रदर्शनकारीले गाजा शहर कब्जा गर्ने सेनाको योजनाले बाँकी बन्धकको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन्। इजरायली पूर्व रक्षामन्त्री बेनी गान्ट्जले बन्धकको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठन गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्जिओ गोरलाई भारतका लागि अमेरिकी राजदूतमा नियुक्त गरेको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपतिले सर्जिओ गोरलाई भारतका लागि नयाँ अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत नियुक्त गर्ने बताएका हुन्। भारतमाथि अमेरिकाले लगाएको करलाई लिएर विवाद भइरहेको छ। यसै समयमा गोरलाई भारतका लागि अमेरिकी राजदूत बनाइएको छ। यससँगै भारत ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधान नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका छन्। अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,ʻम चाँडै निर्णय गर्नेछु। यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ। ...
: चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको बताएका छन्। बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले भारत र चीनबीचको साझेदारीले अन्य कुनै देशलाई असर नगर्ने बताएका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए। तर यसले भारतको रुससँगको मित्रतालाई ...