मुख्य समाचार
सम्झनाको सम्झिरहने इनिङस्
सम्झनाको सम्झिरहने इनिङस्

। वुमन्स एसिया कपमा यूएईलाई ६ विकेटले हराउँदै नेपाललाई ऐतिहासिक जित हात पार्दा ओपनर सम्झना खड्काले अविजित ७२ रनको उत्कृष्ट इनिङस् खेलिन् ।

सन् २०१२ देखि वुमन्स एसिया कप खेल्न थालेको नेपाल हालसम्म जितविहीन थियो । सम्झानाको उनको उत्कृष्ट प्रदर्शनमा नवौं खेलमा पहिलो जित हात पार्न सफल भयो नेपाल ।




श्रीलंकाको डाम्बूलामा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपालले हालसम्म टी–२० आईमा ११० भन्दामाथिको योगफल पूरा गरेको थिएन । त्यसैले जित्नेमा शंका थियो ।

तर सम्झनाको सानदार ब्याटिङमा नेपालले मात्रै १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । सुरुवातदेखि नै आक्रामक क्रिकेट, कमजोर बललाई बाउन्ड्री, मैदानमा धैर्यता, जिम्मेवारी र खेल सकाएर मात्रै फर्किनु उनका ब्याटिङका आर्कषण थिए । ४५ बलको सामाना गरेकी उनले ११ चौका हानिन् ।


उनले यसअघि मध्यक्रममा खेल्दै आएकी थिइन् । पहिलो पटक ओपनिङमा आएकी उनी नयाँ भूमिकामा पूर्ण सफल भइन् । तीव्र गतिकी बलर समिरा धर्निधर्कालाई पहिलो ओभरको दोस्रो र पाँचौं बलमा चौका हान्दै सुरुवात गरिन् । तेस्रो ओभरमा समिरालाई पुनः दुई चौका हानिन् । उनी आक्रामक बन्दा अर्को एण्डबाट खाता खोल्न अनुभवी ब्याटर सीता रानामगरलाई ९ बल लागेको थियो ।

नेपालले सुरुवाती ३ ओभरमा ३० रन बनाउँदा २० रन सम्झना र बाँकी १० अतिरिक्त पाएको थियो । नेपालले सुरुवातमा जस्तो सुरुवात चाहेको थियो, सम्झनाले त्यस्तै सफलता दिलाइन् । उनले कुनै पनि समय यूएईलाई खेलमा हाबी हुन दिइनन् । यो कीसिमको सुरुवात नेपाली महिला क्रिकेटमा विरलै देखिन्छ ।

छैटौं ओभरको पहिलो बलमा सीता ७ रनमा क्याच हुँदा नेपाल ३९–१ को अवस्थामा थियो । सातौं ओभरको सुरुवाती दुई बलमा सम्झनाले स्पिनर वैष्णवे महेशलाई स्क्वायर लेगमा दुई सुन्दर चौका हानेकी थिइन् । दशौं ओभरमा आएकी स्पिनर ईशा ओझालाई उनले सुरुवाती दुई बलमा दुई चौका हानेकी थिइन् । स्क्वायर लेगमा लगातार बाउन्ड्रीका साथ टोलीको जित सहज बनाइन् ।



सुरुवाती १० ओभरमा नेपालले २ विकेट गुमाउँदै ६६ रन बनायो । सम्झना २६ बलमा ८ चौकासहित ४३ रनमा क्रिजमा थिइन् । एक समय उनलाई नेपालबाट महिला टी–२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाउने अवसर थियो । त्यसको लागि उनले बाँकी ६ बलमा ६ रन जोड्नुपर्दथ्यो । तर उनले अर्धशतक बनाउने नाममा खराब सट खेलिनन् ।

१२औं ओभरको पहिलो बलमा इन्दु बर्मा १० रनमा आउट हुन पुगिन् । सम्हालिएर क्रिजमा रहेकी सम्झनाले १३औं ओभरको पाँचौं बलमा ३५ बलमा अर्धशतक प्रहार पुार गरिन् । लगत्तै १४ औं ओभरको तेस्रो बलमा रुविना १० रनमा क्याच आउट हुन पुगिन् । तीन अनुभवी सीता, इन्दु र रुविना आउट भइसकेकाले खेल सकाएर आउनु पर्ने थियो, सम्झनाले त्यही गरिन् ।

१७ औं ओभरको पहिलो बलमा ईशा ओझालाई स्क्वायर लेगमा विजयी चौका प्रहार गरिन् । ६६ प्रतिशतक कन्ट्रोलमा हानेकी उनले सुरुवातको पहिलो र अन्त्य आफैं गरिन् । ‘देशलाई गौरवान्वित गर्ने मौका पाएकोमा म धेरै खुसी छु । म सबैलाई धन्यावाद दिन चाहन्छु’, खेलपछि भावुक हुँदै सम्झनाले भनिन् ।

सम्झनाले दिलाएको जित कति ठूलो थियो भन्ने अरु सिनियर खेलाडीमा देखिएको खुसीले प्रष्ट बोल्यो । जब चौका हान्दै उनले खेल सकाइन्, डगआउटमा रहेका खेलाडीहरु दौडिएर क्रिजमा पुगे । उनीहरु सम्झनालाई अंगालो मार्न तछाडमछाड गरिरहेका थिए । उनीहरु सबैको आँखामा हर्षको आँशु थियो ।

‘जितपछिको क्षण भन्नै नसकिने थियो । म भन्दा पनि सिनियर खेलाडीहरु बढी भावुक थिए । आँखाबाट आँशु आइराखेको थियो’ सम्झनाले अनलाइनखबरसँग भनिन्, ‘त्यो देख्दा मैले गर्व गर्न लायक गरेछु जस्तो लाग्यो ।’

को हुन् सम्झना खड्का ?

बझाङमा जन्मिएकी २५ वर्षीया सम्झनाले बाल्यकालमा दाइहरुसँग क्रिकेट खेल्ने गर्दथिन् । रमाइलोलाई क्रिकेट खेल्ने उनलाई विस्तारै यही खेलको लत बस्यो ।

१५/१६ वर्षको उमेरबाट भने क्रिकेटमा ट्रेनिङ गर्न थालिन् । पहिलो पटक उनी २०७१ तिर यू–१९ राष्ट्रिय प्रतियोगिता पनि खेलिन् । सुदूरपश्चिमबाट सुरुवातमा घरेलु क्रिकेट खेलेकी उनको प्रदर्शन त्यति राम्रो भएन । २०२१ मा दाङको लमहीमा भएको प्रधानमन्त्री कपमा उनले २ खेलमा ४ रन बनाएकी थिइन् ।

२०२२ मा धनगढीको फाप्लामा भएको प्रधानमन्त्री कपमा पनि उनको ब्याटबाट राम्रो प्रदर्शन हुन सकेन ।

बिर्सनलायक मध्यक्रम

तर २०२२ अक्टोबरमा नवौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लबले कोशी र सुदूरपश्चिम प्रदेशका खेलाडीहरु लिएर पहिलो पटक टिम निर्माण गर्‍यो । रुविनाको कप्तानीमा बनेको टोलीमा सम्झाना पनि अटाइन् । अनि, पोखरामा भएको नवौं राष्ट्रिय प्रतियोगिता नै उनको करिअरको ट्रनिङ प्वाइन्ट बन्यो ।

नवौं राष्ट्रिय प्रतियोगितामा पुलिसलाई स्वर्ण जिताउन महत्वपूर्ण भूमिका खेलेकी सम्झना ५ खेलमा १३५ रन बनाउँदै सर्वाधिक रन बनाउने ब्याटर बनेकी थिइन् । त्यही प्रदर्शनले उनलाई २०२३ मेमा नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पुर्‍यायो ।



पाँच खेलको सिरिज अन्तर्गत बागींमा मे २९ मा भएको खेलमा नेपालले सम्झनालाई डेब्यू गरायो ।

नेपाल ५० रनमा अल आउट हुँदा सम्झनाले २५ बलमा टोलीको सर्वाधिक १३ रन बनाएकी थिइन् । पाँच खेलको सिरिजमा उनी १३, २, ८ र ० मात्रै बनाउन सकिन् । पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी उनको प्रदर्शन अपेक्षा अनुसार हुन सकेन ।

अगष्ट २२ मा हङकङविरुद्ध अविजित ३६ रन बनाइन् । तर त्यसपछि दोहोरो अंकमा रन बनाउन सकिनन् । टी–२० आईमा मध्यक्रममा यसअघि ब्याटिङ गरेका ११ इनिङस्मा क्रमश : १३, २, ८, ०, ३६, १, २, ०, ०, ० र १ रनमा आउट भएकी थिइन् । उनले यसअघि नेपालबाट खेलेका ११ खेलमा मात्रै ६३ रन बनाएकी थिइन् ।

सिनियर क्रिकेटमा उनको प्रदर्शन सम्झन लायक रहेन । तर उनले हिम्मत हारिनन् ।

प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता २०२४ को सुरुवातमा ९ खेलमा १५० रन बनाउँदै लय समाउन खोजेकी थिइन् । सबै खेलमा सुरुवात पाएपनि ठूलो इनिङस् खेल्न सकिनन् । तर मे मा ललितपुर मेयर्स च्याम्पियसिपमा सुदूरपश्चिमबाट ओपनिङ गर्दै बागमतीविरुद्ध ४७ बलमा १० चौकासहित ७४ रनको इनिङस् खेल्दै प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।



त्यसअघि ललितपर मेयर्स कपमा कोशीविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गर्दै ५४ रन बनाएकी थिइन् । ५ खेलमा २ अर्धशतकसहित १५६ रन बनाएपछि नेपाली टोलीमा फर्किएकी थिइन् । नेपालको टोलीमा भएका ओपनर काजोल श्रेष्ठ र विन्दु रावल दुवै सुस्त गतीमा खेल्ने हुँदा ओपनिङमा ल्याएको थियो ।

प्रशिक्षको त्यो निर्णयलाई उनले सही साबित गरेकी छन् । महिला टोलीका सहायक प्रशिक्षक रिजन प्रजु टोलीले दिएको भूमिका अनुसार खेलेको बताउँछन् । ‘बाउन्ड्री ठूलो हुँदा हाम्रो लक्ष्य सिंगल डबलमा ध्यान थियो । योजना अनुसार नै उनलाई ओपनिङ ल्याएका थियौं’ रिजनले भने, ‘उनले टोलीको दिएको भूमिका अनुसार खेलिन् ।’

नेपालकी पूर्वकप्तान निरा राजोपाध्यायका अनुसार नेपालको समस्या सुरुदेखि नै दबेर खेल्ने थियो । तर सम्झनाले सुरुवातदेखि नै आक्रामक खेलेको भन्दै उनले भनिन्, ‘उनले जिम्मेवारी लिँदै सुरुदेखि अन्तिमसम्म मैले नै खेल सकाउँछु भनेर खेलिन् ।’

अब नेपालले आइतबार पाकिस्तान र मंगलबार भारतसँग खेल्नेछ । प्लेयर अफ दि म्याच बनेकी सम्झना भन्छिन्, ‘आजको इनिङस् ले मेरो मनोबल बढेको छ । भारत र पाकिस्तानसँग यसरी नै खेल्छु भनेर सोच छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...