मुख्य समाचार
इरानको डिफेन्स र माइन्डसेट सामु जवाफविहीन नेपाल
इरानको डिफेन्स र माइन्डसेट सामु जवाफविहीन नेपाल

। घरेलु टोली नेपाल काभा नेसन्स लिग २०२४ मा आइतबार इरानसँग ३–२ को सेटमा पराजित भयो ।

दशरथ रंगशालास्थित भलिबल कभर्डहलमा भएको खेलमा नेपाल १६–२५, २५–१६, २३–२५, २५–१५ र १५–१३ ले पराजित हुन पुग्यो । शनिबार मात्रै आफ्नो इतिहासमा पहिलो पटक भारतलाई हराएको नेपालले आइतबार पहिलो सेट राम्रो गर्न सकेन ।

नेपालको सुरुवात हेर्दा इरानलाई सहज रुपमा लिएको जस्तो देखिन्थ्यो । पहिलो सेट हारेपछि दोस्रो सेटमा नेपालले शानदार पुनरागमन गर्दै ७–० को अवस्था बनाएको थियो । त्यसैले दोस्रो सेटमा जित निकाल्न नेपाललाई खासै कठिन देखिएन ।

तेस्रो सेटमा पनि नेपालले उत्कृष्ट सुरुवात गर्नेक्रममा ६–२ को अवस्थामा थियो । जुन अवस्थामा इरानले टाइम आउट लिएको थियो । त्यसपछि इरानले खेलमा पुनरागमन गर्दै ८–८ मा बराबरी गर्‍यो ।



त्यसपछि नेपाललाई पछि पार्दै १०–८ ले अघि बढ्यो । त्यसपछि उषा भण्डारीको स्पाइक र कप्तान अरुणा शाहीको चलाखीपूर्ण प्लेसमेन्टमा नेपालले १०–१० बराबरी गर्‍यो । लगातार ६ अंक जोडेपछि नेपाल एक समय १४–१० को बलियो अवस्थामा थियो । त्यसपछि इरानले लगातार ५ अंक जोडेपछि खेल रोचक मोडमा पुगेको थियो ।

आइतबारको खेलमा इरानको डिफेन्स र मानसिक खेल उत्कृष्ट थियो । डिफेन्समा प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट टोली इराननै देखिएको छ । धेरैजसो खेलाडीको २० वर्ष उमेर आसपास छ र फिटनेस पनि उत्तिकै राम्रो छ ।

त्यसपछि दुबै टिमले निरन्तर अंक जोड्दै जाँदा खेल २१–२१ को अवस्थामा थियो । बराबरी अवस्थामा पुगेपछि इरानले नेपालको मोमेन्ट्स ब्रेक गर्न टाइम आउट लियो । उक्त निर्णय इरानको जितको आधार बन्यो । जर्सी नम्बर ७७ की मसोमेह घदामीले दुई उत्कृष्ट स्पाइकमा अंक बट्ल्दै इरानको जितको आधार तयार पारेकी थिइन् । दोस्रो स्पाइकपछि उनले गरेको सेलेब्रेसन हेर्न लायक थियो ।

उषा भण्डारीले स्पाइकबाट अंक जोडेपछि तेस्रो सेट पनि नेपालले जित्ने आशा जीवितै थियो । नेपाली स्पाइकरको बललाई निरन्तर डिफेन्स गरेको इरानले सुमित्रा रेग्मीको क्वीक स्पाइकलाई ब्लक गरेपछि २४–२२ को अवस्थामा खेल इरानको पक्षमा पुग्यो ।

उषाले दोस्रो पटक चलाखीपूर्वक विपक्षी कोर्टमा बल खसाल्दै २३–२४ को अवस्थामा पुर्‍याइन् । सफिया पुनको स्पाइक रोक्दै सलिना श्रेष्ठलाई बल मिस गराएपछि इरानले तेस्रो सेट २५–२३ ले जित्यो ।

जित्नैपर्ने चौथो सेट नेपालले २५–१५ को स्थितिमा सहजै जित्यो । निर्णायक पाँचौं सेट अघि इरानकी प्रशिक्षकले आफ्ना खेलाडीलाई ब्रेक समयमा दिएको मुख्य सन्देश नै दिमाग लगाएर खेल्ने थियो ।



निर्णायक पाँचौं सेटमा नेपाल एक समय ४–२ ले अघि थियो । तर इरानले खेलमा पुनरागमन गर्दै लगातार तीन अंक लिएपछि ५–५ को बराबरी भयो । त्यसपछि इरानले दुई अंक लगातार थप्यो । नेपालले पाँचौं सेटमा ५–७ को अवस्थामा नै आफ्नो दुबै टाइम आउट सकेको थियो ।

इरानले ८–६ मा कोर्ट परिवर्तन गरेको थियो । नेपाली खेलाडीले निरन्तर स्पाइक हानेका थिए । तर त्यतिनै राम्रो डिफेन्स इरानी खेलाडीले गरे । अनि शक्तिशाली स्पाइक भन्दा पनि अंक जोड्नमा ध्यान दिए ।

कोर्टको हरेक भागमा उनीहरुले खेलको सुरुवात देखिनै शत प्रतिशत दिएका थिए । पुन मसोमेहले स्पाइकमा अंक जोडेपछि इरान ११–७ को बलियो अवस्थामा पुग्यो । १२–९ को अवस्थामा ३ अंकको अग्रता लिएपनि इरानले टाइम आउट लिँदै खेलाडीलाई सम्झाएको थियो ।

सुमित्राको ब्लक र उषाको स्पाइकमा उक्त टाइम आउटपछि नेपाल लगातार दुई अंक जोड्दा ११–१२ को अवस्थामा थियो । त्यसपछि नेपालको मोमेन्ट ब्रेक लगाउन इरानले टाइम आउट लिएको थियो ।



तर कप्तान अरुणाले सर्भिस आउट गरेपछि नेपाल ११–१३ को अवस्थामा थियो । सरस्वती चौधरीले ब्लक आउटमा अंक जोडेपछि खेल १२–१३ को रोचक अवस्थामा पुगेको थियो । इरानकी सादबले क्वीक स्पाइकमा अंक जोड्दै म्याच प्वाइन्टमा लगिन् । त्यसपछि सरस्वतीको उत्कृष्ट स्पाइकमा खेल १३–१४ को अवस्थामा थियो ।

निर्णायक बराबरी प्वाइन्ट गराउन निरुताको शक्तिशाली स्पाइक इरानको डिफेन्स, त्यसपछि सरस्वती चौधरीको लगातार दुई स्पाइक पनि इरानले बचायो । पुन निरुताको स्पाइक इरानी डिफेन्सले असफल पार्‍यो । त्यसपछि सरस्वती चौधरीले प्लेसमेन्ट गर्न खोज्दा पुन बचाए, निरुताको स्पाइक ब्लक गर्दै इरानले आएको सहज बललाई पहिलो स्पाइकरको पछाडि खसाल्दै जित हात पार्‍यो ।

त्यसपछि इरानी खेलाडीले मैदानमै लडेर सेलेबेस्रन गरे । इरानको जितको मुख्य आधार नै डिफेन्स र माइन्ड सेट थियो । अनि युवा खेलाडीको शतप्रतिशत प्रदर्शन र हार नमान्ने सोच ।



सुरुवातमै रिसिभ नभएपछि टोली आत्तिएको कप्तान अरुणा बताउँछिन् । ‘खेलमा रिसिभ महत्वपूर्ण हुन्छ । सुरुवातमै रिसिभ कन्ट्रोल गर्न नसकिएपछि आत्तिए । रिसिभ राम्रो भएपछि स्पाइक राम्रो हुन्छ । रिसिभ कमजोर गरेर सहज दिँदा उहाँहरुले पावरफुल स्पाइक गर्नुभयो’, उनले भनिन् ।

अन्तिममा नेपाली टिमको रिसिभ र स्पाइक राम्रो भएको तर इरानले डिफेन्स गरेको शाहीले बताइन् । ‘उहाँहरुले डिफेन्स यति राम्रो गर्नुभयो र सबै बल लिएपछि गाह्रो भयो’, उनले भनिन् ।

इरानविरुद्धको खेल जितेको भए नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा चौथो स्थानमा रहेको टिम प्रतिस्पर्धा गर्न पाउँथ्यो । त्यो दबाबले पनि प्रदर्शन राम्रो नभएको कप्तन अरुणा बताउँछिन् ।

मुख्य प्रशिक्षक जगदिश भट्टले पनि इरानको डिफेन्स लाइन र स्पाइक उत्कृष्ट देखिएको बताए । ‘हाम्रो डिफेन्समा अलिकति कमजोरी नै रह्यो । डिफेन्स कमजोर भएका कारण ब्लक त्यति राम्रो भएन । त्यसको कारण हामी लुज भयौं । हामीले सर्भिसमा धेरै गल्ती गर्‍यौं र भनेको ठाउँमा पनि हान्न सकेनौं ।’

शनिबार भारतलाई जितेपछि इरानलाई जित्नैपर्छ भन्ने दबाब भएको पनि भट्टले बताए । ‘तेस्रो सेटमा कमब्याक गर्न नसक्नु हाम्रो हार हो । आज भएको कमीकमजोरी सेमिफाइनलमा सुधार गर्दै फाइनलमा राम्रो गर्दै ट्रफी उचाल्न प्रयास गर्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम