मुख्य समाचार
अन्तिम समयमा पनि बल प्रयोग गर्ने पक्षमा थिइन् शेख हसिना
अन्तिम समयमा पनि बल प्रयोग गर्ने पक्षमा थिइन् शेख हसिना

। धेरैले सोचेका थिएनन् कि १५ वर्षदेखि शक्तिमा रहेकी प्रधानमन्त्री शेख हसिना यसरी देश छाडेर जानेछिन् । बंगलादेशमा उनलाई धेरैले ‘आइरन लेडी’को उपमा समेत दिएका थिए ।

बंगलादेशको इतिहासमा कोही पनि सत्ताच्यूत भएपछि यसरी देश छाडेर जान बाध्य भएको थिएन । तर, शेख हसिना र उनकी बहिनी शेख रेहाना सोमबार हजारौं सहभागी प्रदर्शनका कारण देश छाड्न बाध्य भए ।




यस्तो परिस्थिति सिर्जना हुनुअघि आइतबार राति र सोमबार बिहान ढाकामा नाटकीय घटनाक्रमहरु भएका थिए । आन्दोलनकारी, अवामी लिगका नेता, कार्यकर्ता र प्रहरीबीच आइतबार ठाउँ–ठाउँमा झडप हुँदा कम्तीमा १०० जना मारिएका थिए । कतिपय प्रहरीलेसमेत ज्यान गुमाए ।

आइतबार अपराह्न अवामी लिगका केही वरिष्ठ नेता र सल्लाहकारहरुले हसिनालाई स्थिति नियन्त्रण बाहिर गएको जानकारी गराएका थिए ।



उनीहरुले प्रदर्शनकारीको प्रतिरोधका कारण अवामी लिगका कतिपय नेताहरुले विभिन्न स्थानमा पछि हट्नु परेको रिपोर्टिङ गरेका थिए ।

तर, हसिना परिस्थितिलाई स्वीकार्ने पक्षमा थिइनन् । उनलाई बल प्रयोगबाटै स्थितिलाई नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने लागेको थियो । उच्च सुरक्षा अधिकृतहरुले उनलाई परिस्थिति नियन्त्रणमा लिन नसकिने अवस्थामा पुगिसकेको स्पष्ट जनाउ दिइसकेका थिए ।

त्यसपछि उनी मानसिक रुपमा राजीनामा दिने तयारीमा पुगिन् । प्रधानमन्त्री हसिनाका छोरा सजिब वाजेदले बीबीसीसँग कुरा गर्दै हसिनाले आइतबारदेखि राजीनामा दिनेबारे सोचेको बताएका थिए ।

नाम उल्लेख नगर्ने सर्तमा एक जना उच्च सैनिक अधिकृतले बीबीसी बंगला सेवालाई बताएअनुसार, हसिनाले राजीनामा दिएको र हेलिकप्टर चढेको विषय सुरुमा सीमित विशेष सुरक्षा फौज, सैनिक मुख्यालयका उच्च अधिकृतलाई मात्र जानकारी थियो । यो सबै काम एकदमै गोप्य तरिकाले गरिएको थियो ।

सैनिक स्रोतका अनुसार, हसिनाले गणभवन सोमबार बिहान ११ बजे नै छाडिसकेकी थिइन् । त्यहाँबाट हेलिकप्टरमा उनी भारतको त्रिपुरा गएकी थिइन् । यसको झण्डै डेढ घण्टापछि मात्र हसिनाले राजीनामा दिएको र देश छाडेको विषय सार्वजनिक भएको थियो ।



उनी त्रिपुराबाट इण्डियन एयर फोर्सको विशेष विमानमा दिल्ली गएकी थिइन् । बीबीसी बंगलाले सरकारी अधिकारीहरुसँग गरेको कुराकानीबाट हसिनाले अन्तिममा पनि दुई विकल्प खुला राख्न चाहेको देखिन्छ ।

एउटा, उनी देश छाड्ने तयारी गरिरहेकी थिइन् भने अर्को अन्तिम समयसम्म पनि बल प्रयोग गरेर शक्तिमा बसिरहन चाहन्थिन् ।

तर, सैनिक अधिकारीहरुले थप क्षति चाहेनन् । आइतबार कतिपय स्थानमा आन्दोलनकारी, आमनागरिक र सैनिक फिल्डमा घुलमिल भएका थिए । आन्दोलनकारीले सेनालाई फूल दिएको विवरण पनि बाहिर आएको थियो । परिस्थितिको विश्लेषणपछि उच्च सैनिक अधिकृतहरुले स्थिति सत्ताको नियन्त्रण बाहिर पुगेको निष्कर्ष निकालेका थिए ।

आइतबार बिहानसम्ममा प्रधानमन्त्रीको सरकारी निवास गणभवन पुग्ने सबै सडकमा प्रहरी र सेना तैनाथ भइसकेका थिए । सैनिक अधिकृतहरुका अनुसार, हसिना सजिलै सुरक्षित रुपमा निस्किन सकुन् भनेर यो व्यवस्था गरिएको थियो ।

अर्कोतर्फ बिहान ९ बजेतिर डेढ घण्टाका लागि देशभर इन्टरनेट सेवा बन्द गरिएको थियो । त्यो व्यवस्था यसकारण गरिएको थियो कि हसिनाको मुभमेन्टका कुराहरु सामाजिक सञ्जालमा नफैलियोस् ।

हसिना हेलिकप्टर चढेपछि मात्र इन्टरनेट सेवा सञ्चालन भएको थियो । ढाकास्थित बंगाली भाषाको दैनिक पत्रिका प्रोथोम आलोले सोमबार बिहान प्रधानमन्त्री हसिनाले तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको लेखेको छ ।



त्यसक्रममा हसिनाले सुरक्षा निकायले किन परिस्थितिलाई नियन्त्रणमा लिन सकेन भनेर आक्रोश व्यक्त गरेको पत्रिकाले लेखेको छ ।

‘एक पटक हसिनाले आईजीपीलाई देखाउँदै उनीहरुले राम्रो गरिरहेका छन् भनेकी थिइन्’, समाचारमा भनिएको छ, ‘तर, आईजीपीले स्थिति यस्तो चरणमा पुगेको छ कि प्रहरीलाई पनि यो पोजिसन लामो समयसम्म कायम राखिराख्न गाह्रो छ भने ।’

त्यतिञ्जेलमा हजारौं प्रदर्शनकारीहरु सडकमा जम्मा भइसकेका थिए । एक जना उच्च सैनिक अधिकृतले बीबीसी बंगला सेवासँग भने, ‘प्रधानमन्त्री हसिनालाई नागरिकलाई लामो समयसम्म गणभवनतर्फ आउन रोकिराख्न सकिँदैन भनिएको थियो, त्यो अवस्थामा हसिनाको जीवन जोखिममा पर्नसक्छ भनिएको थियो ।’

तर, हसिनाले आन्दोलनकारीको ‘मार्च टु ढाका’ कार्यक्रम बल प्रयोगबाट रोक्न सकियो भने राजीनामा नदिने सोच बनाएकी थिइन् । यो सम्भव नभए देश छाड्ने उनको तयारी थियो । अर्थात्, दुवै विकल्प खुला राखेकी थिइन् ।

अधिकारीहरुका अनुसार, देश छाड्ने विषयमा भारतलाई पहिल्यै जानकारी गराइसकिएको थियो । भारतले उनी हेलिकप्टरमार्फत अगरतलसम्म आइपुगिन् भने त्यहाँबाट दिल्लीसम्म ल्याउने व्यवस्था गरिने जानकारी दिएको थियो । त्यहाँबाट उनलाई हिण्डोन विमानस्थलसम्म पुर्‍याइएको थियो ।

हसिनाका छोरा सजिब वाजेदले बीबीसीसँग कुरा गर्दै आमाले देश छाड्न नचाहेको बताएका थिए । तर, परिवारका सदस्यहरु उनको सुरक्षालाई लिएर चिन्तित भएको उनले बताएका छन् । सुरक्षाका कारणले उनलाई सुरक्षित स्थानमा जान जोड दिइएको वाजेदको भनाइ छ ।

प्रोथोम आलो पत्रिकाले लेखेअनुसार सोमबार बिहान प्रहरी र सेना प्रमुखले हसिनाकी बहिनी रेहनासँग छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री हसिनालाई राजीनामा दिनका लागि मनाउन भनिएको पत्रिकाले लेखेको छ ।

‘प्रधानमन्त्री हसिनालाई परिस्थितिबारे खुलेर बताइदिन आग्रह गरिएको थियो, उनले त्यसबारे बताएकी पनि थिइन् । यद्यपि, हसिना सहमत भएकी थिइनन्’, प्रोथोम आलोले लेखेको छ, ‘अन्तिममा एक जना उच्च अधिकारीले विदेशमा रहेका छोरा सजिब वाजेदसँग कुरा गरेका थिए, त्यसपछि उनले आमा शेख हसिनासँग कुरा गरे ।’

बल्ल उनी राजीनामा दिन तयार भएको प्रोथोम आलाले लेखेको छ ।

बीबीसी बंगला सेवाबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको कोलकातामा हजारौं मान्छे सडकमा उत्रिएका छन् । उनीहरूले एकै स्वरमा नारा लगाइरहेका छन्, ‘नो डग, नो भोट’ । पश्चिम बंगालमा चुनाव नजिकिँदै गर्दा कुकुरप्रेमी मतदाताहरूले नेताहरूलाई कडा सन्देश दिएका छन् ‘कुकुरलाई सडकबाट हटायौ भने हाम्रो भोट पाउँदैनौ । ’यो विरोध ३ नोभेम्बर २०२५ मा आएको सर्वोच्च अदालतको निर्णयविरुद्ध हो । स्कुल, अस्पताल र सार्वजनिक ...
। भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको प्रस्ताव 'अन्तिम' नभएको बताएका छन्। युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ​​"न्यायपूर्ण र दिगो शान्ति" को लागि प्रमुख तत्वहरू समावेश गरिएको तर "अझ धेरै काम आवश्यक पर्ने" बताएका छन्। उनले सिमाना परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावप्रति चिन्ता व्यक्त गरे। आइतबार, बेलायत, फ्रान्स, जर्मनी, ...
— गाजाको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणमा कम्तिमा २२ जना प्यालेस्टिनी मारिएका छन् । हमासको चिकित्सा तथा नागरिक सुरक्षा अधिकारीहरुले उक्त आक्रमणको पुष्टि गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शनिबार पाँच ठाउँमा भएको आक्रमणमध्ये केही आवासीय क्षेत्रसमेत थिए । स्थानीयका सुत्रले दिएको जानकारी अनुसार मारिएकाध्ये एक जना हमासका वरिष्ठ कमान्डरसमेत रहेको बीबीसीले जनाएको छ । इजरायली ...
— टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री भएको छ । इसिडोर स्ट्रस र उनकी पत्नी आइडा ती १५ सय मानिसहरुमा थिए, जसको १४ अप्रिलः १९१२ मा टाइटानिक जहाज आएसबर्ग (हिमखण्ड)सँग ठोक्किँदा मृत्यु भएको थियो । उक्त जहाज साउथेम्प्टनदेखि न्यूयोर्कतर्फ जाँदै थियो । दुर्घटनाको केही दिनपछि स्ट्रसको शव ...