इजरायलमा यस्ता मातापिताहरूको संख्या बढिहेको छ, जसले युद्धमा मारिएका आफ्ना सैनिक छोराहरुको शुक्रकिट सुरक्षित राख्न चाहन्छन् ।
गत वर्ष अक्टोबरमा हमासको आक्रमणपछि यससम्बन्धी नियमहरुलाई केही खुकुलो बनाइएको छ । तर, लामो कानुनी प्रक्रियाका कारण परिवारजनमा असन्तुष्टि पैदा हुने गरेको छ ।
अबी हारुसले जब युद्धमा मारिएका आफ्नो २० वर्षीय छोरा रीफलाई सम्झिन्छन्, तब उनको बोली धरमराउन थाल्दछ । गाँजापट्टीमा हमाससँगको युद्धका क्रममा गत अप्रिल ६ मा रीफको मृत्यु भएको थियो ।
त्यसपछि अबीको घरमा पुगेका सेनाहरुले एउटा विकल्प प्रस्तुत गरेका थिए । अर्थात् रीफको शुक्रकिट सुरक्षित गर्न सकिने जानकारी उनीहरुले पिता अबीलाई गराएका थिए र त्यसका लागि परिवार तयार रहे नरहेको सोधेका थिए ।
रीफका पिता अबी त्यसका लागि तत्कालै तयार भए । उनले भने- रीफ आफ्नो जीवन भरपूर रुपमा जिए र उक्त क्षतिका बाबजुत पनि हामीले जीवित रहने विकल्प छान्यौं । रीफले बच्चाहरुलाई निकै मन पराउँथे र आफ्नो पनि बच्चा होस् भन्ने चाहन्थे । उसको शुक्राणु नराख्ने भन्ने त प्रश्नै हुन सक्दैन ।
मिसन जीवनको
रीफका कुनै पत्नी वा गर्लफ्रेण्ड थिएनन् । तर, अबीले जब आफ्नो छोरा रीफको बारेमा बताए, तब धेरै महिलाहरू अगाडि सरे र रीफको बच्चालाई जन्म दिन तयार भएको बताए ।
यो अवधारणा नै अब उनको जीवनको मिसन रहेको अबी बताउँछन् ।
अबीको परिवार यस्ता कैयौँ परिवारमध्ये एक हो, जसले गतवर्ष अक्टोबरमा हमासले गरेको आक्रमणपछि आफ्ना मृत पुत्रहरुको शुक्रकिट सुरक्षित राख्न चाहेका छन् । सो आक्रमणमा करिब १२ सय मानिसहरु मारिएका थिए र २५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो । त्यसको जवाफमा इजरायलले गाजामा भीषण आक्रमण जारी राखेको छ । इजरायली कारबाहीमा अहिलेसम्म ३९ हजारभन्दा धेरै प्यालेस्टाइनीहरुको मृत्यु भएको बताइएको छ ।
इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टोबर यता देशका करिब १७० मृतक युवाहरुको शुक्रकिट सुरक्षित गरिएको छ, जसमा सैनिक र गैरसैनिक दुवै छन् । एक वर्षअघिको तुलनामा सो संख्या करिब १५ गुणा धेरै हो ।
उक्त प्रक्रियामा मृतक व्यक्तिको अण्डकोषमा चिरा पारेर त्यसबाट कोशिकाहरुको एउटा सानो हिस्सा निकालिन्छ, जसबाट जीवित शुक्रकिट कोशिकालाई प्रयोगशालामा छुट्टाएर फ्रिज गरिन्छ ।
मानिसको मृत्यु भएको २४ घण्टाभित्र यदि ती कोशिकाहरुलाई निकाल्न सकियो भने त्यसलाई भविष्यमा प्रयोग गर्नमा सफलता हात पर्ने दर सबैभन्दा धेरै हुन्छ । यद्यपि ती कोशिकाहरु ७२ घण्टासम्म जीवित रहन सक्दछन् ।
अक्टोबरमा इजरायलको स्वास्थ्य मन्त्रालयले उक्त प्रक्रियामा माता पिताका लागि अदालती आदेशको अनिवार्यता नचाहिने निर्णय गरेको थियो ।
छोराको मृत्युको पीडा
रेचेल र याकोव कोहेन आफ्नो मृतक सैनिक छोराको शुक्रकिट सुरक्षित गर्ने पहिलो अभिभावक हुन् । इजरायली प्रतिरक्षा बलका अनुसार कोहेन दम्पतीका छोरा केभिनको सन् २००२ मा गाजापट्टीमा प्यालेस्टाइनी बन्दुकधारीको आक्रमणमा ज्यान गएको थियो । त्यसपछि कोहेन दम्पतीले मृतक छोरा केभिनको शुक्रकिट सुरक्षित गरे । जसबाट उनीहरुले अहिले एकजना नातिनी प्राप्त गरेका छन्, जसको नाम ओशेर हो ।
केभिनको मृत्युपछि रेचेल विक्षिप्त बनिन् । मृतक छोराले आफ्नो बच्चा होस् भन्ने चाहना व्यक्त गरेको आभाष उनलाई भयो । त्यसपछि उनले छोराको शुक्रकिट सुरक्षित राखिन् ।
यद्यपि उनले निकै चर्को विरोधको सामना गर्नुपर्यो । तथापि एक ऐतिहासिक कानुनी फैसलापछि उनले आफ्नो छोराको शुक्रकिटबाट गर्भाधान गर्ने महिला अर्थात् आफ्नो छोराको सन्तानको सम्भावित आमाको खोजीमा विज्ञापन प्रकाशित गरिन् ।
उक्त विज्ञापनपछि रेचेललाई सम्पर्क गर्नेमध्ये इरिट पनि एक थिइन् । उनी एकल थिइन् । त्यसपछि एकजना मनोवैज्ञानिक तथा सामाजिक कार्यकर्ताले उनको राम्रोसँग परीक्षण गरे र अदालतको अनुमति पछि उनको गर्भाधान उपचार पनि सुरु गरियो । त्यसबेला कतिपयले इरिटलाई उनले भगवानसँग खेलवाड गरिरहेको बताए । तर, उनलाई भने त्यस्तो गल्ती गरेको जस्तो लागेन । शुक्रकिट बैंकको दानबाट जन्मिएको बच्चा र आफ्नो पिताको पहिचान भएको बच्चाको बीचमा अन्तर हुने उनको मत छ ।
ओशरलाई आफ्ना पिता युद्धमा मारिएको कुरा थाहा छ । उनको कोठा डल्फिनले सजाइएको छ । उनलाई थाहा छ कि उनका पितालाई डल्फिन निकै मन पर्थ्यो ।
उनी भन्छिन्- मलाई थाहा छ कि बुवाको शुक्रकिट निकालिएको थियो र मलाई यस दुनियाँमा ल्याउनका लागि एक असल आमाको खोजी गरिएको थियो ।
ओशरलाई अरु आम बालबालिका जस्तै गरी पालनपोषण गरी हुर्काइएको छ ताकि उनी जीवित स्मृत हुन् भन्ने नलागोस् ।
-बीबीसीबाट