काठमाडौं । एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाइटेडबीचको खेल दशरथ रंगशालामा नै हुने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले २९ साउनमा उक्त खेल काठमाडौंको दशरथ रंगशालामा नै गर्न अनुमति दिएको छ ।
एएफसीका प्रतिनिधिले ९ साउनमा दशरथ रंगशालाको निरीक्षण गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।
यसअघि रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भएका कारण गत चैतमा विश्वकप छनोटको नेपाल र बराइनबीचको खेल बराइनमा भएको थियो । जेठ २४ गते यूएईसँगको खेल साउदी अरेबियामा भएको थियो ।