। भारतका निरज चोपरालाई पछि पार्दै एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ओलम्पिकमा कीर्तिमान स्वर्ण जितेका पाकिस्तानका अर्शद नदिम अहिले चर्चामा छन् । टोकियो ओलम्पिकमा स्वर्ण जितेका भारतका निरज चोपरा स्वर्ण रक्षा गर्ने अभियानमा थिए । तर अर्शदले ओलम्पिककै कीर्तिमानी समयमा स्वर्ण जित्दा निरजले रजत जिते ।
नदिमले थ्रोमा ९२.९७ मिटर थ्रो गर्दै सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका आन्द्रेस थोरकिल्डसेनले बनाएको ९०.५७ मिटरको ओलम्पिक कीर्तिमान तोडेका हुन् । निरज चोपराले ८९.४५ मिटर थ्रो फाल्दै रजत जिते । ग्रेनडाका एन्डरसन पिटर्सले ८८.५४ मिटर फाल्दै कांस्य जिते ।
प्रतिस्पर्धी भारतका निरज चोपराले पनि नदिमको प्रशंसा गर्दै उनको दिन रहेको बताएका थिए । अर्शदको पदक पाकिस्तानले सन् १९९२ को बार्सिलोना ओलम्पिकपछि जितेको पहिलो पदक हो भने ४० वर्ष यताको पहिलो स्वर्ण पदक हो ।
‘उनले एकदमै राम्रो थ्रो गरे र इतिहास बनाए । हामी उनीप्रति एकदमै गर्व गर्छौँ ।’ नदिमका दाई ३५ वर्षीय मुहम्मद अजिमले भने ।
यस्तै व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण जित्ने नदिम पहिलो पाकिस्तानी खेलाडी समेत बने । यसअघि पाकिस्तानले ओलम्पिकमा हक्कीमा तीन स्वर्ण जितेको थियो । पछिल्लो पटक हक्की टिमले सन् १९८४ मा ओलम्पिकमा स्वर्ण जितेको थियो भने १९९२ मा हक्कीमै कांस्य पदक जितेको थियो । ३२ वर्षपछि पाकिस्तानले ओलम्पिकमा पहिलो पदक जितेको हो ।
निरज चोपराले लगातार दुई ओलम्पिकमा स्वर्ण जितेर भारतीय खेलकुदमा उच्च खेलाडीको नाम लेखाए । तर, पाकिस्तानबाट ७ खेलाडीले मात्र पेरिस ओलम्पिकमा सहभागिता जनाउदा नदिमले कीर्तिमानी स्वर्ण जिते । यसपटक नदिमले साँच्चिकै उत्कृष्ट प्रदर्शना गरे ।
१२ खेलाडीले प्रतिस्पर्धा गरेको अन्तिम चरणमा नदिमले दोस्रो प्रयासमामै ९२.९७ मिटर थ्रो गर्दै ओलम्पिकको कीर्तिमान बनाए । त्यसपछि उनले अन्तिम थ्रोमा ९१.७९ मिटर टाढा ज्याभलिन फाले । नदिम एकै ओलम्पिकमा दुई पटक ९० मिटरभन्दा टाढा थ्रो गर्ने पनि पहिलो खेलाडी बने ।
गत वर्ष वर्ल्ड च्याम्पियनसिपमा निरज चोपराभन्दा पछि रहेका अर्शदले नदिमले सन् २०२२ मा कमनवेल्थ गेम्समा स्वर्ण जितेका थिए ।
सन् २०२१ मा जापानमा भएको टोकियो ओलम्पिकमा पाँचौ भएका नदिमले चोटका कारण गत वर्ष १९औं एसियाडमा सहभागिता जनाउने सकेनन् । सन् २०१८ मा भएको एसियन गेम्समा उनले कांस्य पदक जितेका थिए ।
नदिमको ओलम्पिक स्वर्ण यात्रा सहज भने थिएन । उनको राम्रो स्पोनसर थिएन । अन्य प्रतिस्पर्धी खेलाडी जस्तो उनले सुविधा सम्पन्न प्रशिक्षण पनि पाएका थिए । सन् २०१५ देखि एउटै ज्याभलिन प्रयोग गर्दै आएका थिए । त्यो पनि गत वर्ष ड्यामेज भएको थियो । पाकिस्तानी मिडियाहरुका अनुसार गाउँका मानिसहरुले रकम उठाएर नदिमलाई सहयोग गरेका थिए ।
ओलम्पिक सुरु हुने पाँच महिनाअघि गत मार्चमा नदिमले आफूले 7 वर्षदेखि एउटै ज्याभलिन प्रयोग गर्दै आएको बताएका थिए । त्यो पनि उच्च स्तरको प्रतियोगितामा खेल्न लायक थिए । त्यसबेला नदिमले आफ्नो निराशा व्यक्त गर्दै राष्ट्रिय संघ र कोचसँग पेरिस ओलम्पिकअघि आफ्नो लागि केही गर्न आग्रह गरेका थिए ।
सानोमा क्रिकेटर बन्न चाहन्थे नदिम
नदिमको कथा आफैँ प्रेरणादायी छ । सन् १९९७ मा लाहोरभन्दा २५० किमी टाढा मिएन चान्नुमा जम्निएका नदिम ७ सन्तानमध्ये तेस्रो सन्तान हुन् ।
उनको परिवार आर्थिक रुपमा कमजोर थियो । उनको बुबा कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे ।स्कुल पढ्दादेखि नै नदिमको शारीरिक बनावट राम्रो थियो । उनले क्रिकेट ब्याडमिन्टन फुटबल देखि एथ्लेटिक्स सबै खेल खेल्थे ।
क्रिकेटमा उनको विशेष रुची थियो । उनले जिल्ला स्तरसम्म क्रिकेट खेले । तर, एथ्लेटिक्समा राम्रो प्रदर्शन गरेपछि प्रशिक्षक राशिद अहमख साकीको नजरमा परे । जसले उनलाई आफ्नो अन्डरमा ल्याएर उनको प्रतिभा निखार्ने काम गरे ।
नदिमलाई उनका दाई शाहिद नदिमले क्रिकेटबाट ज्याभलिनमा स्विच गर्न भूमिका खेलेका थिए । त्यतिबेला धेरै ज्याभलिन भनेको के हो भन्नेसम्म पनि थाहा थिएन ।
ज्याभलिन थ्रोमा केन्द्रित हुनुअघि उनले डिस्कस थ्रो र सटपुट पनि खेले । उनले पञ्जाव युथ फेस्टिभलमा ‘ज्याभलिन थ्रो’मा पदक जितेपछि यसमा सफलता पाउन थाले । त्यसपछि उनलाई राष्ट्रिय स्तरमा एथ्लेटिक्स टीमहरु आर्मी, एअर फोर्स र वाप्डाबाट प्रस्ताव आउन थाल्यो ।
नदिमलाई ज्याभलिन थ्रो मै केन्द्रित हुन उनका बुबा मुहम्मद अस्रफले मुख्य भूमिका खेले । नदिमको ज्यालिन थ्रो करियर सन् २०१५ बाट सुरु भयो । सन् २०१६ मा उनले वर्ल्ड एथ्लेटिक्सबाट छात्रवृत्ति पाए । जसका कारण उनले मरिससमा रहेको आईएएफ हाई पर्फमेन्स ट्रेनिङ सेन्टरमा प्रशिक्षित हुने अवसर पाए ।
जब उनले उच्च स्तरमा खेल्न थाले, त्यसपछि उनले विभिन्न खालका चुनौतीहरु पनि सामना गर्नुपर्यो । उनलि विभिन्न चोटको सामना गरे । यस्तै प्रायोजकहरु समेत पाउन कठिन थियो । उनलाई गाउँका मानिसहरुले पैसा चन्दा उठाएर प्रदान गर्थे ताकि उनले अन्य शहरहरुमा गएर प्रशिक्षण गर्न सकोस् ।