मुख्य समाचार
नेपथ्यको उस्तै उमंग
नेपथ्यको उस्तै उमंग

सानफ्रान्सिस्को । अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइसकेपछि पनि सानफ्रान्सिस्कोस्थित विशाल वारफिल्ड हलको दुवै तल्लामा खचाखच भरिएका दर्शक उल्लासमा उफ्रिरहेकै थिए ।

सुरुदेखि नृत्यरत दर्शकहरू अन्तिमसम्म पनि सँगसँगै गाउँदै नाचिरहेकै देखिन्थे ।




मञ्चमा भएका कलाकारहरू हातेमालो गर्दै बिदाइ अभिवादनका लागि दर्शक अघिल्तिर बढे । अग्रभागमा रहेको कसैले नेपाली राष्ट्रिय झण्डा हल्लाइरहेको गायक अमृत गुरुङले देखे । साथीहरूलाई यथावत् छाडेर उनी सरासर अघि बढे र त्यो झन्डा समातेर सुरुमा आफूले ओढे अनि बाँकी सदस्यलाई समेत ढाकिदिए । त्यो दृश्यले हजारौँ दर्शकबीच उत्साह र उमंगको भेल बगे जस्तो भयो ।

‘यसैगरी खुसी भएर बस्नुस्,’ अमृतले बिदाइको हात हल्लाउँदै भने, ‘नेपाली भाषा र पहिचानलाई जोगाएर बस्नुहोला है ।’





नेपथ्यले थालेको शृंखलाबद्ध अमेरिका यात्राको दोस्रो प्रदर्शन अमेरिकाको पश्चिमी तटीय सहर सानफ्रान्सिस्कोको प्रसिद्ध वारफिल्ड हलमा भव्य रूपमा सम्पन्न भएको छ ।
यस हलमा ब्यान्ड दोस्रोपटक प्रस्तुत भएको हो । अघिल्लोपटक आठ वर्षअघि नेपथ्य यसै हलमा उभिएको थियो ।

‘मैले नबुझ्ने भाषा भए तापनि असाध्यै रमाइरहेका दर्शकहरू हेरेर यो ब्यान्डको लोकप्रियता अनुमान गर्न सकिन्थ्यो,’ स्थानीय साउन्ड इन्जिनियर फ्रिवे मिग्लियोर भने, ‘मिक्सर चलाउँदै गर्दा म पनि नेपथ्यको संगीतमा झुमिरहेको थिएँ ।’

कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’ हुँदै अगाडि बढेपछि ‘मै नाचेँ छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो ।

ब्यान्डको स्थापनाकालदेखि हालसम्मका नयाँ–पुराना गरेर जम्माजम्मी १७ वटा गीत प्रस्तुत गरिएका थिए ।

‘नेपथ्यको कन्सर्ट मैले झन्डै २० वर्षअघि एउटा विद्यार्थीका रूपमा भक्तपुर दरबार स्क्वायरमा हेर्ने मौका पाएको थिएँ,’ आयोजक बिन्दास इभेन्टका सुदीप थापा भन्छन्, ‘अहिले त्यसै ब्यान्डलाई निम्त्याएर यो भेगमै आजसम्मको सबैभन्दा ठूलो नेपाली कार्यक्रम प्रस्तुत गर्ने आयोजक टोलीमा सम्मिलित हुन पाउँदा जीवनभर नमेटिने गौरवपूर्ण क्षण बन्न पुगेको छ ।’



कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘विश्वकै अग्ला सांगीतिक हस्तीहरू उभिएको यसै मञ्चमा दोस्रोपटक यति भव्य र सभ्य दर्शकका अघिल्तिर पाइला राख्न पाउँदा अनुगृहीत महसुस गरिरहेको छु,’ ब्यान्डका मुख्य गायक अमृत भन्छन्, ‘म यो आर्जनलाई तमाम नेपाली संगीतप्रेमीहरूप्रति समर्पित गर्न चाहन्छु ।’

कार्यक्रम अवधिभर आफ्ना सामुन्ने खुसीले रमाइरहेका र उफ्रिरहेका दर्शकतर्फ हेर्दै अमृतले बारम्बार ‘यसैगरी रमाएर बस्नुस् है’ भनेको सुनिन्थ्यो ।



अमेरिका यात्राको अघिल्ला दुई कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अबको तेस्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसमा हुनेछ । त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्यान्डले अगस्ट १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ । यो सहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ ।

त्यसपछि क्रमशः डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत हुनेछ । अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...