मुख्य समाचार
जब शेख हसिनालाई इन्दिरा गान्धीले भारतमा शरण दिइन्…
जब शेख हसिनालाई इन्दिरा गान्धीले भारतमा शरण दिइन्…

बंगलादेशमा हिंसात्मक प्रदर्शनका बीच शेख हसिनाले अगस्ट ५ मा बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडिन् ।

७६ वर्षीया शेख हसिना सन् २००९ देखि १७ करोडभन्दा बढी जनसंख्या भएको बंगलादेशकी प्रधानमन्त्री थिइन् ।

बंगलादेशका विद्यार्थीहरूले सरकारी जागिरमा आरक्षणको विरोधमा गत महिनादेखि प्रदर्शन गरिरहेका थिए ।

सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारलाई ३० प्रतिशत आरक्षण दिने प्रावधान राखिएको थियो ।


हुनत, पछि बंगलादेशको सर्वोच्च अदालतले यो कोटा प्रणाली लगभग खारेज गरिदियो । तर प्रदर्शनकारीहरू शेख हसिनाको राजीनामाको मागमा अडिग रहे । आन्दोलन चर्किंदै गएपछि उनी राजीनामा दिएर देश छाड्न बाध्य भइन् ।

उनलाई सेनाले हेलिकप्टरमा राखेर भारतीय भूमिमा पुर्‍याएको थियो ।

शेख हसिनाले भारतमा शरण लिएको यो पहिलो घटना चाहिँ होइन । उनले यसअघि भारतमा शरण लिएकी थिइन् र त्यसबेला भारतमा प्रधानमन्त्री इन्दिरा गान्धी थिइन् ।

जब इन्दिरा गान्धी आफैंले फोन उठाइन्

अगस्ट १५, १९७५ः शेख हसिना, उनका श्रीमान् डा.वाजेद र बहिनी रेहाना बेल्जियमको ब्रसेल्समा बंगलादेशका राजदूत सनउल हकको निवासमा बसिरहेका थिए ।

त्यहाँबाट उनीहरू पेरिस जानुपर्ने थियो, तर एक दिनअघि डाक्टर वाजेदको हातमा चोट लाग्यो । उनीहरु पेरिस जाने कि नजाने सोचिरहेका थिए ।

त्यतिबेला बिहान साढे ६ बजे राजदूत सनउल हकको फोन बज्यो । फोन गर्ने व्यक्ति जर्मनीका लागि बंगलादेशका राजदूत हुमायुँ रसिद चौधरी थिए ।

उनले बंगलादेशमा त्यस बिहान सैनिक विद्रोह भएको बताए । साथै पेरिस जानुको सट्टा, उनीहरुलाई तुरुन्तै जर्मनी फर्किन अनुरोध गरे ।

सैन्य विद्रोहमा शेख मुजिबुर मारिएको थाहा पाएपछि राजदूत सनउल हकले उनका दुई छोरी र ज्वाइँलाई कुनै पनि सहयोग गर्न अस्वीकार गर्नेमात्रै होइन हसिना लगायतलाई राजदूत निवास छाडेर अन्यत्रै जान भने ।

सन् २०१६ मा शेख मुजिबको पुण्यतिथिमा आयोजित एक कार्यक्रममा उक्त घटनालाई स्मरण गर्दै शेख हसिनाले भनेकी थिइन् ‘हामी उनका लागि बोझ बन्यौं, यद्यपि उनलाई शेख मुजिबले नै बेल्जियमका लागि बंगलादेशको राजदूत नियुक्त गरेका थिए । त्यो राजनीतिक नियुक्ति थियो । उनले हामीलाई जर्मनी जानका लागि एउटा कार दिन समेत अस्वीकार गरे ।’
तर, जर्मनीका लागि बंगलादेशका राजदूत हुमायुँ रसिद चौधरीको सहयोगमा उनीहरु जसोतसो जर्मनी पुगेका थिए । त्यसको आधा घण्टामै युगोस्लाभिया भ्रमणमा रहेका बंगलादेशका विदेशमन्त्री डा. कमाल हुसेन पनि त्यहाँ पुगेका थिए ।

त्यस बेलुकी जर्मन प्रसारण संस्था ड्यूचे वेले र केही जर्मन अखबारका पत्रकारहरू राजदूतको घरमा उनको प्रतिक्रिया लिन आए । तर शेख हसिना र उनकी बहिनी रेहाना यति स्तब्ध भएका थिए कि उनीहरु केही पनि बोलेनन् ।

विदेशमन्त्री कमल हुसेन त्यहाँ उपस्थित भए तापनि एक शब्द पनि बोलेनन् । राजदूत चौधरीले चाहिँ पत्रकारसँग शेखका दुई छोरी आफूसँगै रहेको बताए ।

यसैबीच, युगोस्लाभियाका राष्ट्रपति मार्शल टिटोले उनीहरुको स्वास्थ्य अवस्थाबारे सोधे । तर शेख हसिनाहरु अब कहाँ बस्ने भन्ने केही पनि टुंगो लागेको थिएन ।

हुमायुँ रसिद चौधरीका छोरा नौमान रसिद चौधरीले बंगलादेशको प्रसिद्ध पत्रिका ‘द डेली स्टार’को १५ अगस्ट २०१४ को अंकमा एउटा लेख लेखेका थिए ।

‘बंगबन्धुका छोरीहरू’ शीर्षकको लेखमा उनले लेखेका छन्, ‘मेरो बुबाले पश्चिम जर्मनीका लागि भारतका तत्कालीन राजदूत वाईके पुरीलाई एक कूटनीतिक समारोहका बेला भारतले शेख हसिना र उनको परिवारलाई राजनीतिक शरण दिन सक्छ कि ? भनेर सोध्नुभयो ।’

‘उनले त्यसबारेमा आफूले बुझ्ने जवाफ दिए । भोलिपल्ट उनी मेरो बुवाको कार्यालयमा आएर बुवालाई भने कि सामान्यतया भारतमा राजनीतिक शरण दिने प्रक्रिया लामो हुन्छ । साथै उनले दिल्लीमा स्वतन्त्रता अघि दिल्लीस्थित बंगलादेशी मिशनको प्रमुख रहिसकेकाले मेरो बुवाको भारतमा ठूलो प्रतिष्ठा रहेको भन्दै इन्दिरा गान्धी र उनका सल्लाहकारहरु डीपी धर तथा पीएन हक्सरसँग सिधै सम्पर्क गर्न सुझाव दिए ।

पुरीको उपस्थितिमा चौधरीले डीपी धर र हक्सारलाई फोन गरे । तर त्यतिबेला दुवैजना भारत बाहिर रहेकाले सम्पर्क हुन सकेन ।

इन्दिरा गान्धीलाई फोन गर्न भने उनी प्रोटोकलको ठूलो अन्तरका कारण हिचकिचाए । किनकि इन्दिरा गान्धी देशको प्रधानमन्त्री थिइन् भने चौधरी एकजना राजदूत मात्र थिए ।

हुनत उनले इन्दिरा गान्धीलाई त्यसअघि धेरै पटक भेटेका थिए, तर पछिल्ला तीन वर्षदेखि भने उनको कुनै सम्पर्क थिएन । राजनीतिमा तीन वर्ष लामो समय हो ।

दोस्रो कुरा, त्यतिबेला भारतमा संकटकाल थियो र इन्दिरा गान्धी आफैं पनि देशभित्रैका समस्यासँग जुधिरहेकी थिइन् ।

नउमान रसिद चौधरी लेख्छन्, ‘केही पनि पार नलागेपछि हतास हुँदै हुमायुन चौधरीले इन्दिरा गान्धीको कार्यालयमा फोन गरे । यो नम्बर उनलाई भारतीय राजदूत पुरीले दिएका थिए । चौधरीले आफ्नो त्यो टेलिफोन कल अपरेटरभन्दा माथि जाला भनेर कुनै आशा गरेका थिएनन् । तर इन्दिरा गान्धीले नै फोन उठाएपछि उनी चकित भए । उनले इन्दिरा गान्धीलाई सबै कुरा बताए । त्यसपछि बंगबन्धुका छोरीहरूलाई राजनीतिक शरण दिन गान्धी तत्कालै राजी भइन् ।’

अगस्ट १९ मा राजदूत पुरीले चौधरीलाई शेख मुजिबका छोरीहरू र उनीहरूको परिवारलाई दिल्ली पुर्‍याउने तुरुन्तै प्रबन्ध मिलाउन दिल्लीबाट निर्देशन आएको बताए ।

शेख हसिना युरोपबाट भारत पुगेपछि…


२४ अगस्ट १९७५ मा शेख हसिना र उनको परिवार एयर इन्डियाको विमानबाट दिल्लीको पालम एयरपोर्ट पुगे ।

उनलाई मन्त्रिपरिषद्का सहसचिवले स्वागत गरेका थिए । पहिले उनलाई रअको सेफ हाउसमा लगियो ।

पछि उनलाई डिफेन्स कोलोनीको घरमा सारिएको थियो । दश दिनपछि सेप्टेम्बर ४ मा रअका एक अधिधारीले उनलाई प्रधानमन्त्री इन्दिरा गान्धीको निवासमा लगे ।

इन्दिरा गान्धीलाई भेटेपछि शेख हसिनाले १५ अगस्टमा बंगलादेशमा भएको घटनाबारे विस्तृतमा जानकारी भए/नभएको सोधिन् । त्यहाँ उपस्थित एक अधिकारीले घटनामा शेख हसिनाको परिवारको कुनै पनि सदस्य जीवित नरहेको बताए । यो सुनेर शेख हसिना रुन थालिन् ।

शेख हसिनाका जीवनीकार सिराजुद्दीन अहमदले लेखेका छन्, ‘इन्दिरा गान्धीले हसिनालाई अँगालो हालेर सान्त्वना दिने प्रयास गरेकी थिइन् । अब उनले व्यहोरेको क्षतिको पूर्ति हुन नसक्ने भए पनि शेख हसिनाका एक छोरा र एक छोरी रहेको हुनाले आफ्नो छोरालाई आफ्नो बुबाको रूपमा र छोरीलाई आमाको रूपमा सम्झिन सल्लाह दिइन् ।’



सिराजुद्दीन अहमदका अनुसार भारतमा रहँदा इन्दिरा गान्धीसँग शेख हसिनाले गरेको त्यो एकमात्रै भेट थियो । तर रअका अधिकारीहरू भने शेख हसिना र इन्दिरा गान्धी बीच धेरैपटक भेट भएको दाबी गर्छन् ।

सो भेटको दश दिनपछि शेख हसिनालाई इन्डिया गेट नजिकैको पाण्डारा पार्कको सी ब्लकमा फ्ल्याट दिइएको थियो । त्यहाँ तीनवटा बेडरूम र केही फर्निचर थिए । पछि शेख हसिनाले आफूलाई चाहिने थप फर्निचर किनेकी थिइन् ।

उनलाई मानिससँग नभेट्न र घरबाट बाहिर ननिस्कन सख्त आदेश दिइएको थियो । उनलाई व्यस्त राख्न टेलिभिजन पनि दिइएको थियो । त्यतिबेला टेलिभिजनमा एउटा मात्र च्यानल थियो, दूरदर्शन । त्यसमा पनि केवल दुई घण्टाको मात्रै कार्यक्रम थियो ।

पहिचान बदलेर हसिनाको सुरक्षामा खटिएका थिए सुरक्षा अधिकारी

रअका एक पूर्व गुप्तचर अधिकारीले नाम नछाप्ने सर्तमा भने, ‘शेख हसिनाको सुरक्षाका लागि दुई जनालाई तैनाथ गरिएको थियो । एक जना इन्स्पेक्टर सत्तु घोषलाई पश्चिम बंगालबाट बोलाइएको थियो र अर्का १९५० ब्याचका आईपीएस अधिकारी पीके सेन थिए । रोचक त के भने इन्सपेक्टर घोषलाई सेनाको कर्णेल भनेर हसिनाको सुरक्षामा राखिएको थियो भने आईजीस्तरका पीके सेनलाई इन्सपेक्टरका रूपमा चिनाइएको थियो ।

अक्टोबर १ मा हसिनाका श्रीमान् डा. वाजेदलाई पनि परमाणु ऊर्जा विभागमा फेलोसिप प्रदान गरिएको थियो ।

रअका पूर्व अधिकारी भन्छन्, ‘शेख हसिनाको सबै खर्च भारत सरकारले बहन गरिरहेको थियो । उनको खर्च एकदमै न्यून थियो र यो पैसा उनका स्रोतमध्ये एक, कोलकातामा बस्ने चित्तरञ्जन सुतार मार्फत उपलब्ध गराइएको थियो ।’

हसिनाको दिल्ली बसाइँलाई पूर्णरूपमा गोप्य राख्ने प्रयास भए पनि बंगलादेश सरकारलाई शेख हसिनाको परिवार दिल्लीमा बसेको थाहा थियो ।

मे १९७६ को सुरुमा, भारतका लागि बंगलादेशका उच्चायुक्त शमसुर रहमान र उनकी श्रीमती शेख हसिना र उनकी बहिनी रेहानालाई भेट्न उनीहरूको निवासमा गए, जहाँ दुवै बहिनीले उच्चायुक्तकी पत्नीलाई अँगालो हालेर रोएका थिए ।

देशाइले घटाए शेख हसिनाको सुरक्षा


यस अवधिमा इन्दिरा सरकारका मन्त्री प्रणव मुखर्जी र उनको परिवार हसिना र उनको परिवारसँग निरन्तर सम्पर्कमा थिए । धेरै पटक हसिनाका छोराछोरीहरू प्रणव मुखर्जीको सरकारी घरमा खेलिरहेको देखिन्थे ।

प्रणव मुखर्जीले आफ्नो आत्मकथा ‘ड्रामेटिक डिकेड’मा लेखेका छन् कि दुवै परिवार प्रायः भेट्ने मात्रै होइन दिल्ली बाहिर पिकनिकमा पनि जाने गर्थे ।

यसैबीच सन् १९७७ मा चुनाव भयो र इन्दिरा गान्धी चुनाव हारिन् । नयाँ प्रधानमन्त्री मोरारजी देसाईले चाहिँ रअका क्रियाकलापहरुमा खासै चासो दिएनन् ।

एम ए वाजेद मियाँ आफ्नो पुस्तक ‘बंगबन्धु शेख मुजिबुर रहमान’ मा लेख्छन्, ‘सेख हसिना र डाक्टर वाजेदले रेहानालाई दिल्ली ल्याउने सम्बन्धमा अगस्ट १९७७ मा मोरारजी देसाईलाई भेटेर अनुरोध गरे । मोरारजी देसाईले रेहानालाई दिल्ली आउने व्यवस्था गरेका थिए ।

सन् १९७७ को डिसेम्बरको दोस्रो साता रेहाना दिल्ली आइन् र शेख हसिनासँग पाण्डारा पार्कस्थित उनको फ्ल्याटमा बसिन् । तर बिस्तारै मोरारजी देसाईले हसिनाको सुरक्षाबाट हात झिक्न लिन थाले ।

यसैबीच सन् १९८० मा इन्दिरा गान्धी पुनः सत्तामा आइन् । त्यसपछि चाहिँ शेख हसिनाका समस्याहरूको समाधान भयो । ४ अप्रिल १९८० मा शेख हसिना आफ्ना छोराछोरीसहित रेहानालाई भेट्न लन्डन गएकी थिइन् ।

त्यसै सन् १९८० मा नै अवामी लिगका धेरै नेता शेख हसिनालाई भेट्न दिल्ली आए र उनलाई ढाका जान अनुरोध गरे ।

डा. वाजेद चाहिँ हसिना ढाका जाने कुराको पक्षमा थिएनन् । हसिना प्रत्यक्ष राजनीतिबाट टाढा रहनुपर्छ भन्ने उनको भनाइ थियो ।

अन्ततः मे १७, १९८१ मा शेख हसिना आफ्नी छोरी र अवामी लीगका नेता अब्दुस समद आजाद र कोरबान अलीसँग ढाका प्रस्थान गरिन् । उनलाई ढाका एयरपोर्टमा १५ लाख मानिसले स्वागत गरेका थिए ।

– बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गरेको छ । शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गर्‍यो। एक्समा गरिएको एक ...
। गाजामा मारिएका बन्दीहरूको शव पत्ता लगाउन विभिन्न देशका प्रतिनिधि संलग्न कार्यदल गठन हुने भएको छ । गाजा युद्धमा मारिएकाहरूको शव रहेको स्थान पत्ता लगाउन कठिनाइ पर्ने देखिएपछि अमेरिका, इजरायलसहितका देश सम्मिलित कार्यदल गठन गर्ने सहमति भएको हो । यस्तो कार्यदलमा इजरायल र गाजामा संघर्षरत हमासबीच युद्धविराम गराउन मध्यस्थता गरेका कतार, इजिप्ट र टर्कीका प्रतिनिधि समेत सामेल ...
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...