मुख्य समाचार
अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा
अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा

। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकी मुलुकहरुमा मङ्कीपक्स (एमपक्स)को संक्रमण बढेपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य निमामकको आपतकालीन कमिटीको बैठकमा सदस्यहरुको सुझावपछि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरेको डब्ल्यूएचओले जनाएको छ ।




कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानुन अनुसार आपतकाल घोषणा गर्दछ ।

अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मंगलबार नै यो स्थितिको विश्लेषणपछि स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।



अति संक्रामक रोग एमपक्स अफ्रिका महाद्वीपको कंगो गणराज्यबाट सुरु भएको थियो । यसको संक्रमण हाल बुरुण्डी, केन्या, रुवान्डा र युगाण्डासम्म फैलिसकेको छ । यसबाट ५२४ जनाको मृत्यु भइसकेको र १४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।
कसरी सर्छ ?

डब्ल्यूएचओका अनुसार एमपक्स संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहने व्यक्तिहरुलाई सर्दछ । संक्रमित व्यक्तिलाई छुँदा वा नजिकै गएर कुराकानी गर्दा स्वासप्रश्वासको माध्यमबाट पनि यो रोग सर्छ ।

यसको संक्रमण देखिएमा शरीरभरी फोकाहरु आएर घाउ हुने, उच्च ज्वरो आउने र ज्यान जाने गर्दछ । सुरुवातमा फ्लुको जस्तो लक्षण देखिन्छ ।

घातक र चिन्ताजनक

एमपक्सका मुख्य दुई प्रकार छन्- क्लेड १ र क्लेड २ । सन् २०२२ मा क्लेड-२ प्रकारको संक्रमण फैलिँदा स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । यसपटक क्लेड-१ संक्रमण देखिएको छ । यो क्लेड-२ को तुलनामा घातक रहेको वैज्ञानिकहरुले बताएका छन् ।

डब्ल्यूएचओले एमपक्सविरुद्ध दुईवटा भ्याक्सिनलाई स्वीकृति दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले एमपक्सको संक्रमण फैलावटको स्थिति चिन्ताजनक रहेको बताएका छन् । उनले यसबाट हुने मृत्युदर रोक्न स्वास्थ्य सतर्कताका सटिक र व्यापक अभियान सञ्चालन आवश्यक रहेको बताएका छन् । साथै प्रभावित देशका सरकार, अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र अन्य साझेदारहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन् ।

डब्ल्यूएचओले त्यसको फैलावट रोक्नका लागि निगरानी, तयारी र कारबाही सम्बन्धी गतिविधि सन्चालन गर्न सुरुमा डेढ करोड डलर आवश्यक पर्ने जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसका अनुसार १४ लाख डलर आपदा कोषमा जम्मा गरिएको छ । कोषमा थप रकम दान गर्न पनि उनले विश्व समुदायलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीलाई ओपीडी सेवामा वार्षिक २५ हजारसम्मको सुविधा उपलब्ध गराइने ...
। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा ...
— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण ...
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...