। लिग-२ का अविश्वसनीय प्रदर्शन, एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा, अनि टी-२० विश्वकपमा विश्वकै ध्यान तान्ने खेल । मोन्टी देशाईको मुख्य प्रशिक्षण र रोहितकुमार पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको पछिल्लो डेढ वर्ष साँच्चै लोभलाग्दो रह्यो ।
नेपाल क्रिकेट संघले कात्तिक २०७९ मा कात्तिकमा २० वर्षका रोहितलाई कप्तान बनाएको थियो भने माघमा देशाईलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्यायो ।
असम्भव जस्तै बनेको ओडीआई मान्यता जोगाउने क्रममा नेपालले आईसीसी विश्वकप लिग-२ मा १२ मध्ये ११ खेल जित्यो । घरेलु मैदानमा एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने अवसर पायो । त्यसमा पनि विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध सर्ट बल र बाउन्सरको राम्रो सामना गर्दै २३० रनको योगफल बनायो ।
जेठ-असारमा भएको टी-२० विश्वकपमा एउटा पनि खेल जितेन । तर बलियो दक्षिण अफ्रिकालाई ११५ रनमा रोकेको नेपाल अन्तिम दुई बलमा दुई रन बनाउन नसकेर पराजित भएको थियो ।
‘विश्वकपसम्म हाम्रो यात्रा पूरा भयो’ क्रिकेट संघका सचिव समेत रहेका पूर्व कप्तान पारस खड्का भन्छन्, ‘नयाँ भिजन, नयाँ योजना र नयाँ सोचका साथ फेरि शून्यबाट सुरुवात गर्नुपर्छ ।’
शून्यबाट हुने नयाँ यात्राको गन्तव्य नम्वर वान एसोसिएट टिम, अनि टेष्ट नेशनको मान्यता पाउनु हुनेछ ।
त्यसक्रममा महत्वपूर्ण दुई प्रतियोगिता आउनेछ, २०२६ को टी-२० विश्वकप र २०२७ को एकदिवसीय विश्वकप ।
२०२६ को टी-२० विश्वकप खेल्न नेपालले सम्भव त एसिया क्षेत्र अन्तिम चरणको शीर्ष तीनमा स्थान बनाउनुपर्छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ निर्णय अनुसार एसिया प्यासिफिकको अन्तिम चरण एसियामा गाभिएको छ । एसिया छनोटको अन्तिम चरणबाट तीन टोली विश्वकपमा पुग्नेछन् ।
तर कुन मोडलमा खेलाउने आईसीसीले तय गरेको छैन । यसअघि एसिया छनोट हुँदा फाइनलमा पुग्नु पर्थ्यो । एसियाबाट नेपाल, यूएई, ओमान, हङकङ, पपुवा न्युगिनी प्रमुख दाबेदार टोली हुन् ।
त्यसको अर्को वर्ष २०२७ मा एकदिवसीय विश्वकप हुनेछ । नेपालले अहिलेसम्म एकदिवसीय विश्वकप खेल्न सकेको छैन । यो पटक पनि एकदिवसीय विश्वकपको यात्रा सहज छैन ।
नेपालले अहिले लिग टु खेलिरहेको छ । २०२७ सम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देश छन् र हरेक टोलीले ३६ खेल खेल्नेछन् । यसमा शीर्ष चारमा रहन सफल भए नेपालले सिधै विश्वकप छनोट खेल्न पाउनेछ ।
शीर्ष चारमा पर्न सकेन भने पुछारका चार टोलीले च्यालेन्ज लिगबाट आएका चारसँग प्लेअफ खेल्ने अवसर पाउनेछ । प्लेअफ प्रतियोगिताको शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् ।
अनि, विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
२०२७ को एकदिवसीय विश्वकपमा आयोजक जिम्बावे र दक्षिण अफ्रिकाबाहेक आईसीसी र्याङकिङको शीर्ष ८ टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछन् । बाँकी चार टिम छनोटबाट आउनेछन् ।
पछिल्लो विश्वकपमा छनोट चरणबाट दुई टोलीले मात्र अवसर पाएका थिए, तर २०२७ देखि एकदिवसीय विश्वकप खेल्ने देशको संख्या १० बाट १४ पुर्याइने भएकाले थप दुई टोलीलाई बाटो खुल्यो । यो चार स्थानका लागि सिधै छनोट हुन नसकेको दुई टेस्ट टोलीसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स, नेपाल, यूएई, अमेरिका र ओमान त्यसका दाबेदार मान्न सकिन्छ ।
टेष्ट मान्यताका लागि शर्तैशर्त
त्यसपछि टेष्ट नेशनको मान्यता पाउने नेपालको लक्ष्य छ । यो असम्भव होइन, तर सहज पनि छैन । यसका लागि घरेलु संरचना बलियो बनाउनुपर्छ, पुरुष मात्र होइन, महिला र यू-१९ टोलीको पनि उत्तिकै विकास भएको हुनुपर्छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को शर्त त्यही छ ।
आईसीसीको परिमार्जित नियमअनुसार टेस्ट मान्यता पाउन पछिल्लो ८ वर्षमा टी-२० वा एकदिवसीयमा गरी तीन विश्वकप खेलेको हुनु पर्छ । विश्वकप वा छनोटमा आईसीसी र्याङकिङको शीर्ष १० टोलीमध्ये कुनै एकलाई हराएको हुनुपर्छ, ८ वर्षमा चार फरक टेस्ट टोलीलाई हराउनुपर्छ, सिरिजमा शीर्ष १० मा रहेका देशलाई दुई पटक हराएको हुनुपर्ने लगायतका नियम छन् ।
महिला टोली ओडीआई वरियतामा समावेश हुनुपर्छ । पछिल्लो चार वर्षमा टी-२० विश्वकप कम्तिमा एक पटक खेलेको हुनुपर्छ, अनि पछिल्लो ८ वर्षमा २ पटक यु-१९ विश्वकप खेलेको जस्ता योग्यता चाहिन्छ ।
घरेलु संरचनाका लागि पनि आईसीसीका आफ्नै शर्त छन् । ५० ओभरको राष्ट्रिय प्रतियोगिता, तीन लिष्ट ए टोली, टी-२० राष्ट्रिय प्रतियोगिता र तीन टी-२० एस मान्यता भएको टोली हुनुपर्छ ।
जुनियर, यु-१९ पुरुष र महिला टोली हुनुपर्छ । सुविधा सम्पन्न क्रिकेट मैदानहरु तयार भएको हुनुपर्छ । पछिल्लो ८ वर्षमा घरेलु क्रिकेटमा उल्लेखनीय सुधार हुनुपर्छ । अनि क्रिकेट संघको आर्थिक पारदर्शिता, प्रशिक्षण तथा विकास कार्यक्रम पनि त्यति नै महत्वपूर्ण हुन्छ ।
नेपालका पूर्वस्पिनर शक्ति गौचन भन्छन्, ‘अबको हाम्रो लक्ष्य टेष्ट नै हो । तर भनेर मात्रै हुँदैन, घरेलु मैदान, प्रतियोेगिता र संरचना बढाउनुपर्छ ।’ उनका अनुसार पछिल्लो समय सिनियर खेलाडीलाई क्यानले एकदमै राम्रो गरेको छ । अब जुनियर, यु-१९ का साथै ग्रास रुट क्रिकेटमा फोकस गर्न सकियो भने १०-१५ वर्षमा टेस्ट मान्यता पाउन सकिने उनको विश्लेषण छ ।
घरेलु संरचना नै चुनौती
नेपालको घरेलु प्रतियोगितामा अहिले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता हुँदै आएको छ । तीन विभागीय र सात प्रदेशका टोलीमा १५/१५ जना गरी कुल १५० खेलाडी सहभागी हुन्छन् ।
२०१६ देखि २०२२ सम्म एभरेष्ट, पोखरा प्रिमियर, धनगढी प्रिमियर लिग गरी तीन टी-२० फ्रेन्चाइज लिग भएका थिए ।
६ टोली भएका यस्ता प्रतियोगिताले एक हदसम्म घरेलु खेलाडीहरुलाई इन्गेज गरेको थियो । तर २०२३ जनवरीमा नेपाल टी-२० लिग विवादै विवादमा फसेपछि फ्रेन्चाइज लिग भएका छैनन् ।
तर नियमित प्रतियोगिता नभएका कारण राष्ट्रिय टिममा नपरेका खेलाडीहरुको अवस्था भयावह छ ।
क्रिकेट संघका अनुसार सेन्ट्रल कन्ट्र्याकमा पुरुषतर्फ २४ जना खेलाडी छन् भने महिलातर्फ ११ खेलाडी छन् । उनीहरुले २० हजारदेखि १ लाखसम्म मासिक तलब पाउँछन् । प्रतियोगिताहरु भएको बेला म्याच फि समेत आउने भएकाले सेन्ट्रल कन्ट्र्याकमा परेका खेलाडीहरुको खाइजिविका चलेको छ । तर बाँकी खेलाडीहरुको अवस्था भयावह छ । क्षमता र सम्भावना हुँदाहुँदै पनि क्रिकेटमा टिक्न सक्ने अवस्था छैन ।
राष्ट्रिय टिमका कप्तान पौडेल पनि घरेलु प्रतियोगिताहरु खेलेर पनि बाँच्ने आधार हुनुपर्ने बताउँछन् । ‘पछिल्लो दुई वर्षदेखि १५/२० जनाले मात्रै खेलेका छौं । उहाँहरुलाई हटाउने हो भने ब्याकअप बेन्च स्ट्रेन्थ त्यति बलियो छैन । यसमा ध्यान दिन एकदमै आवश्यक छ,’ उनले अनलाइनखबरसँग भने ।
टेस्टका लागि चाहिने रातो बल र सेतो जर्सीको क्रिकेट खेल्नै सुरु गरेको छैन । अर्थात डे क्रिकेट नै नेपालमा छैन । नेपालले पछिल्लो पटक डे क्रिकेट मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग २०१९ मा एक मात्रै प्रथम श्रेणी खेल खेलेको थियो । त्यसले पनि निरन्तरता पाएन ।
यू-१६ को राष्ट्रिय प्रतियोगिता नभएको दशक भन्दा बढी भयो । क्यान निलम्बनमा रहँदा २०१९ मा मनमोहन मेमोरियलले यू-१६ लिग गरेको थियो, जसले गत वर्ष पनि निरन्तरता पाएको छ । यू-१९ टोलीका लागि जिल्ला र प्रदेशमा ट्यालेन्ट हन्ट गर्ने गरिएको छ । स्कुल क्रिकेट छैन भने एकेडेमी क्रिकेट पनि फस्टाउन सकेको छैन ।
खेलाडी मात्र होइन, भौतिक पूर्वाधारमा पनि ठूलो लगानी गर्नुपर्नेछ । नेपालमा दुई ओडीआई मैदान छन् । त्रिवि क्रिकेट मैदानले सन् २०२० र मूलपानीले सन् २०२३ मा ओडीआई मान्यता पाएका थिए । दुबै मैदान कामचलाउ मात्रै हुन् ।
कीर्तिपुर क्रिकेट मैदानमा खेलाडी बस्ने राम्रो पेभेलिएन, डग आउट, मिडिया बक्स, भिआईपी एरिया, समर्थकका लागि शौचालय, फुड स्टल जस्ता ठाउँ छैन । खेलाडीहरुको अभ्यासका लागि नेट, इन्डोर, जिम, बलिङ मेसिनहरुमा पनि पर्याप्त लगानी चाहिएको छ । फ्लडलाइट जडानको काम प्रक्रियामा छ । डिजिटल स्कोर बोर्डको भवन निर्माण बल्ल सकिएको छ ।
मूलपानीको त झनै भद्रगोल छ । खेलाडी बस्ने पेभेलिएन र डग आउट स्थानीय लिगको जस्तो छ । खेलपछि अभ्यास गर्ने नेट र इन्डोर छैन । अभ्यास पनि मैदानमा गर्नुपर्ने हुन्छ । भीआइपी कक्ष छैन, मिडिया बक्स छैन, सार्वजनिक शौचालय छैन । तल्लो मूलपानी क्रिकेट मैदान निर्माणाधीन छ ।
चितवनको भरतपुरमा गौतमबुद्ध, रुपन्देहीमा सिद्धार्थ, कास्कीको पोखरा, दाङ देउखुरीको लमही, धनगढीमा फाप्ला, वीरगञ्जको नारायणी, बाँकेको कोहलपुर, मोरङको बैजनाथपुर, कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान छन् । अरु पनि बन्ने क्रममा छन्, तर कुनै पनि मैदान राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य छैनन् । सिद्धार्थ काठमाडौं बाहिरको सबैभन्दा राम्रो मैदान मानिन्छ, तर गत वर्ष प्रधानमन्त्री कप क्रिकेटका केही खेलहरु हुँदा प्रश्नैप्रश्न उठेका थिए ।
त्यसैले अब नेपाली क्रिकेटले आफ्नो अबको बाटो कोर्ने र त्यसअनुसार लगानी गर्ने बेला भयो ।
प्राथमिकतामा टी-२० कि एकदिवसीय ?
पछिल्लो समय नेपालले टी-२० क्रिकेटलाई प्राथमिकता दियो । एकदवसीय विश्वकपमा छनोट हुन नसकेको र १० वर्षपछि टी-२० क्रिकेट खेल्न लागेकाले त्यो स्वभाविक पनि थियो ।
अब नेपालसामू २०२६ को टी-२० विश्वकप र २०२७ को एकदिवसीय दुबैमा पुग्ने सम्भावना छ ।
तर कसलाई प्राथमिकता दिने भन्ने प्रश्न छ ? नेपाल क्रिकेट संघले आगामी नोभेम्बर-डिसेम्बरमा नेपाल प्रिमियर लिग आयोजना गर्दैछ । आज सोमबार साँझ टी-२० फ्रेन्चाइज लिगको लोगो अनावरण कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा बोलाइएको छ । यसले नेपाल प्रिमियर लिगलाई क्यानले कति प्राथमिकता दिएको भन्ने प्रष्ट हुन्छ ।
टी-२० लाई प्राथमिकता दिँदा नेपाल फेरि विश्वकप पुग्नसक्छ, तर टेष्टको लक्ष्य भेट्टाउन सकिन्न । ‘टी-२० भनेको विश्वकपमा पुग्ने छोटो बाटो हो, टेष्ट नेशन हुने हो भने एकदिवसीयलाई प्राथमिकतामा राख्नुपर्छ । त्यसअनुसार महिला टिममा पनि लगानी गर्नुपर्छ,’ पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘हाम्रो प्राथमिकताबारे हामी प्रष्ट हुन ढिला गर्न हुन्न ।’