। एक महिना अगाडिसम्म अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनाव इतिहासकै सबैभन्दा ज्येष्ठ उम्मेदवारहरूको प्रतिस्पर्धा जस्तो थियो । अनि, पहिलो टेलिभिजन बहसपछि डेमोक्र्याटहरूलाई असाध्यै डर लागिरहेको थियो, वर्तमान राष्ट्रपति जो बाइडेनको बुढ्यौलीकै कारण डोनाल्ड ट्रम्प फेरि सत्तामा आउने त होइनन् ?
अमेरिकी इतिहासमा ट्रम्प एकमात्र पूर्वराष्ट्रपति हुन्, जसले एउटा चुनावमा पराजयपछि पनि फेरि फर्किन प्रयास गरेका छन् । आपराधिक मामिलामा दोषी ठहर हुनुपूर्व नै चुनावी दौडमा होमिएका उनले केही उपलब्धि हात पनि पारिसकेका थिए ।
तर २१ जुलाइमा अमेरिकी राष्ट्रपति चुनावमा नयाँ ट्वीस्ट आयो, जब राष्ट्रपति बाइडेनले डेमोक्रेटिक पार्टीको उम्मेदवारको दौड त्याग्दै उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारे । ह्यारिसले टिम वल्जलाई आफ्नो उपराष्ट्रपतिका उम्मेदवार चुनेपछि अमेरिकी चुनावमा अर्को ट्वीस्ट आयो ।
राष्ट्रपति–उपराष्ट्रपति उम्मेदवारलाई औपचारिकता दिन बोलाइएको राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा ह्यारिस–वल्जले डेमोक्रेटिक पार्टीमा ऊर्जा भरेको छ, आश जगाएको छ ।
बाइडेन बाहिरिएपछि …
उपराष्ट्रपति ह्यारिस यो पटक राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा नै थिइनन् । सन् २०२० मा पहिलो पटक राष्ट्रपति बनेका बाइडेन यसपटक निर्विकल्प जस्तै देखिएका थिए ।
डेमोक्रेटिक पार्टीका बहुसंख्यक डेलिगेट्सले बाइडेनलाई समर्थन गरेका कारण पार्टीको प्राइमरी चुनावमा उनको खासै प्रतिस्पर्धी नै देखिएनन् । तर चुनाव नजिकिंदै जाँदा उमेरको बहस सुरु भयो ।
२८ जुनमा भएको पहिलो चुनावी बहसपछि त उनलाई फेरि उम्मेदवार नबन्न दबाब बढ्यो । किनकी डोनाल्ड ट्रम्प चर्को सुनिएको त्यो बहसमा बाइडेन भने निकै अकमकाएका थिए । वाइडेनका प्रवक्ताले लामो विमान यात्राका कारण यस्तो भएको स्पष्टीकरण दिए भने वाइडेनले चर्को स्वरमा चुनाव लड्ने दोहोर्याए ।
जुलाई दोस्रो साता भएको नेटो सम्मेलनमा युक्रेनको राष्ट्रपतिलाई मञ्चमा बोलाउने क्रममा पुटिनको नाम लिएपछि भने उनीमाथि चुनावी दौड त्याग्न चर्कै दबाब पर्यो । यद्यपि उनले स्वास्थ्यले साथ नदिएको अवस्थामा मात्र चुनाव नलड्ने बताइरहे ।
संयोग ! १७ जुलाइमा उनलाई कारोना संक्रमण भयो, घरमै आराम गरेर चुनावी अभियान स्थगित गरे भने चार दिनपछि राष्ट्रपतिको दौडबाट अलग भए । उनले राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति ह्यारिसलाई अगाडि सारे ।
अमेरिकी राष्ट्रपति चुनावमा यो अर्को एउटा ट्वीस्ट थियो । उत्साहित ट्रम्प दबाबमा परे भने डेमोक्रेटिक पार्टीको चुनावी अभियानले नयाँ ऊर्जा पायो । यसको बलियो संकेत हो, बाइडेनले ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारेको ३६ घण्टामा १०० मिलियन डलर आर्थिक सहयोग (डोनेसन) संकलन ।
समाचारहरूमा जनाइएअनुसार यसरी आर्थिक सहयोग गर्नेमध्ये ६१ प्रतिशत यो चुनावी अभियानमा पहिलोपटक सहभागी भएका थिए । राष्ट्रपतिका सम्भावित उम्मेदवारका साथै सेलिब्रेटीहरूको समर्थनले ह्यारिसको पक्षमा लहर नै आयो ।
कमलाको लहर
चुनावी अभियानमा रक्षात्मक बनेको डेमोक्रेटिक पार्टी एकाएक जुर्मुराउनुको एउटा कारण उमेर हो । केही पहिलासम्म ८१ वर्षीय बाइडेन डेमोक्रेटिक पार्टीका उम्मेदवार रहँदा रिपब्लिकनहरूले उनको उमेरलाई नै चुनावी मुद्दा बनाएका थिए ।
तर ह्यारिस ५९ वर्षकी छन् । उनी चुनावी प्रतिस्पर्धामा आउनासाथ ७८ वर्षका डोनाल्ड ट्रम्प एकाएक बुढा भए । बाइडेनको उमेरलाई सर्वाधिक चर्को आवाजमा चुनावी मुद्दा बनाएका ट्रम्पलाई अब आफ्नै बोली गलपासो बन्यो ।
ह्यारिसले युवा मतदाताहरूको साथ पाएकी छन् । पप स्टार चार्ली एक्ससीएक्सको समर्थन त्यसको एउटा संकेत हो । अर्को संकेत केलाई पनि मान्न सकिन्छ भने उनी उम्मेदवार बनेको ४८ घण्टामा ३८ हजार ५०० नयाँ मतदाता दर्ता भए, जसमा ८० प्रतिशतभन्दा बढी १८ देखि ३४ वर्ष उमेर समूहका छन् ।
उसो त ट्रम्पको चुनावी अभियान पनि युवा मतदाता केन्द्रित छ । उनका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्स, ह्यारिसभन्दा कम उमेरका हुन् । तर हिजो बाइडेन उम्मेदवार हुँदा जसरी उमेरलाई मुद्दा बनाएका थिए, ह्यारिस आएसँगै त्यो रोकियो ।
अमेरिकाको चुनावमा जुनसुकै उम्मेदवारका लागि महिला मतदाता महत्वपूर्ण पक्ष हो । खासगरी स्वीङ राज्यहरूमा । त्यसमा पनि सब–अर्बन, श्वेत र शिक्षित महिला मतदाता निर्णायक हुन्छन् । यो ह्यारिसका लागि अर्को सबल पक्ष हो ।
ट्रम्प अभियान कति अठ्यारोमा छ भन्ने अमेरिकामा नभएका मानिसहरूले महसुस गर्न पाएका छैनन् – सिमोन रोजेनबर्ग, डेमोक्रेट रणनीतिकार ।
यसो भन्दै गर्दा ट्रम्पले २०१६ मा राष्ट्रपति बन्ने क्रममा महिला उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेको बिर्सन हुन्न । त्यसबेला प्रशस्तै महिलाहरूको समर्थन ट्रम्पलाई थियो । तर अहिले परिस्थितिमा केही बदलाब आएको छ । ट्रम्प यौन हिंसाको आरोपमा दोषी ठहर भएका छन् ।
अनि, यो पटक प्रजनन अधिकार प्रमुख मुद्दा बनेको छ । मत सर्वेक्षणहरूले खासगरी महिला मतदाताले गर्भपतनको मुद्दाप्रति निकै चासो बढाएको देखाएको छ ।
ट्रम्प र भान्स गर्भपतनको विपक्षमा छन् भने ह्यारिस आफ्नो शरीरको सम्पूर्ण अधिकार महिलामा हुने मत राख्छिन् । चुनावी अभियानका क्रममा पनि उनले स्पष्ट शब्दमा आफ्नो शरीरबारे निर्णय गर्ने अधिकार महिलाको हुने वकालत गरेकी छन् ।
कमला ह्यारिसका आमाबुबा दुवै आप्रवासी हुन् । उनकी आमा भारत र बुबा जमैकाका हुन् । उनको पृष्ठभूमिले मतदातामा कस्तो प्रभाव पार्छ, भन्न कठिन छ ।
श्वेत वर्णका मतदाताले ह्यारिसलाई समर्थन गरेका छन् । त्यसको बलियो प्रमाण श्वेत महिलाहरूले ह्यारिसको समर्थनमा आयोजना गरेको एउटा भिडियो कन्फरेन्स हो, जहाँ ९० हजार मानिस सहभागी हुन चाहेका थिए र त्यहाँबाट केवल तीन घण्टामा १.५ मिलियन डलर आर्थिक सहयोग (चन्दा) संकलन भएको थियो ।
श्वेत मतदाताहरूको समर्थनले मात्र डेमोक्रेट उम्मेदवारले चुनाव जित्न सम्भव त हुँदैन, तर उनीहरूको समर्थन भएन भने चुनाव हार्ने चाहिं पक्का हो ।
त्यसलाई बुझेर एक अन्तर्वार्ताका क्रममा ट्रम्पले ह्यारिसको पहिचानमा प्रश्न गरे । ह्यारिसले पहिल्यै भारतीय सम्पदाको मात्र प्रवर्द्धन गरेको भन्दै उनले भनेका छन्, ‘मलाई थाहा छैन उनी भारतीय हुन् वा श्वेत ?’
ह्यारिसले मारेको अर्को बाजी
राष्ट्रपति चुनावको दौडका क्रममा कमलाले उपराष्ट्रपतिको उम्मेदवार चयनमा पनि बाजी मारिन् ।
रिपब्लिकन उम्मेदवार ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपति उम्मेदवारका रूपमा अगाडि सारिसकेका थिए । उनको प्रोजेक्ट २०२५ र महिलाबारे गरेको टिप्पणीका कारण ट्रम्पले आलोचना खेप्नुपरेको छ । ठीक विपरीत उपराष्ट्रपतिको उम्मेदवारमा वल्जलाई चयन गर्ने निर्णयले ह्यारिसलाई भने थप बल दिएको छ ।
डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवारका रूपमा पेन्सिलभेनियाका गर्भनर जोस सापिरो र एरिजोनाका सिनेटर मार्क केली सहितका आधा दर्जन डेमोक्रेटलाई हेरिएको थियो । तर ह्यारिसले मिनिसोटाका गभर्नर वल्जलाई चयन गरिन् ।
डेमोक्रेटिक रणनीतिकारका अनुसार वल्जको छनोट राष्ट्रपति पदको प्रतिस्पर्धामा अगाडि हुने प्रयास हो । किनकि उनको अभिभावकीय व्यक्तित्व, प्रगतिशील सोच र मिडवेष्टर्नको मध्यमवर्गीय पृष्ठभूमि डेमोक्रेटहरूले खोजेजस्तै उम्मेदवारीय गुण हुन् ।
स्वीङ स्टेटमा फेरिएको समीकरण
अमेरिकाका ५१ वटै राज्यको तोकिएको इलेक्ट्रोरल कलेज भोट छ र, राष्ट्रपतिको चुनाव जित्न इलेक्ट्रोरल भोट २७० चाहिन्छ ।
राष्ट्रपति ट्रम्पले चुनाव जित्न सक्छन्, उनको नीति अमेरिकाका लागि राम्रो छ । डोनाल्ड ट्रम्प उत्तेजक, सोम्यान भए भने चुनाव नजित्न पनि सक्छन्- लिन्डसे ग्रहकम, सिनेटर
अहिलेसम्म धेरै राज्य रिपब्लिकनको पक्षमा गएको छ । जसलाई रेड स्टेट भनेर पनि चिनिन्छ । केही डेमोक्रेटतिर छ, जसलाई ब्लू स्टेट भनेर चिनिन्छ ।
तर केही राज्य यस्ता छन्, जसको मत कहिले डेमोक्रेटतिर जान्छ त कहिले रिपब्लिकनतिर ।
यो चुनावमा ७ वटा राज्यलाई स्वीङ स्टेटका रूपमा मानिएको छ– एरिजोना, जर्जिया, मिसिगन, नेभाडा, नर्थ क्यारोलिना, पेल्सिलभेनिया र विसकनसिन ।
अमेरिकी सञ्चारमाध्यमहरूले स्वीङ स्टेटको मत सर्वेक्षणहरू पटकपटक सार्वजनिक गरेका छन् । जतिबेला बाइडेन राष्ट्रपतिको दौडमा थिए, सबै राज्यमा ट्रम्प अगाडि थिए र, समग्रमा उनी राष्ट्रपति बन्ने सम्भावना बलियो देखिएको थियो ।
तर ह्यारिस आएपछि अवस्था फेरिएको छ । फक्स न्यूजले नै सार्वजनिक गरेको मत सर्वेक्षणमा पनि त्यो प्रष्ट देखिन्छ । बाइडेन चुनावी दौडमा रहँदासम्म ट्रम्पले लिड गरेको स्वीङ स्टेटहरूमा अहिले कि ह्यारिस अगाडि छिन्, कि बराबरीमा ।
२० अगष्टमा फक्स न्यूजमा प्रकाशित समाचार अनुसार कमलाको बढ्दो गतिको जवाफ दिन ट्रम्प विफल भएकाले बहुमत ल्याउने सम्भावनाको चिन्ता रिपब्लिकन रणनीतिकारहरूमा देखिएको छ ।
समाचार अनुसार ‘ह्यारिसले ओहायो र फ्लोरिडा जस्ता रिपब्लिकन झुकाव भएका राज्यमा तीव्रगतिमा ट्रम्पसँग दूरी कम गरेकी छन्, रिपब्लिकनले सिनेटर जित्ने सम्भावना भएको एरिजोना, मिसिगन, पेन्सिलभेनिया र विस्कन्सिन जस्ता राज्यमा ट्रम्प भन्दा अगाडि देखिएकी छन् ।’
समाचारहरूमा जनाएअनुसार जर्जिया र नर्थ क्यारोलिनामा स्वेत र हिस्पानिक (स्पेन वा स्पेनिस भाषा बोलिने देशसँग जोडिएका) मानिसको उल्लेख्य उपस्थिति छ । दुवैले बाइडेनलाई भन्दा ह्यारिसलाई साथ दिएको देखिन्छ ।
न्यूयोर्क टाइममा प्रकाशित मत सर्वेक्षणअनुसार स्वीङ स्टेटमध्ये नाभादा र जर्जिया मात्र गुमाउँदै कमलाले राष्ट्रपतिको चुनाव जित्नेछन् । तर हामीले के बिर्सिनु हुन्न भने यस्तो सर्वेक्षणमा त्रुटिको अंश (मार्जिन अफ इरर) पनि हुन्छ । आजको मितिमा यति चाहिँ भन्न सकिन्छ, एकपक्षीय जस्तो देखिएको अमेरिकी चुनावमा कमला ह्यारिसले ट्रम्पलाई कडा टक्कर दिएकी छन् ।
बदलिएको अवस्थामा डेमोक्रेटिक पार्टी निकै एकताबद्ध र आशावादी भएको रणनीतिकार सिमोन रोजेनबर्ग बताउँछन् । ‘डेमोक्रेटिक पार्टी यति एकताबद्ध कहिल्यै थिएन । यस्तो आर्थिक सहयोग कहिल्यै आएको थिएन । त्यसैले हामी एकताबद्ध र आशावादी छौं’, उनले अल जजिरासँग भनेका छन्, ‘ट्रम्प अभियान कति अठ्यारोमा छ भन्ने अमेरिकामा नभएका मानिसहरूले महसुस गर्न पाएका छैनन् ।’
अबका दिन अझ निर्णायक
कामला ह्यारिसको काम कारबाहीबारे मिश्रित धारणा छ । अझ उपराष्ट्रपतिका रूपमा उनले सम्हालेको जिम्मेवारीलाई लिएर पनि प्रश्न उठ्ने गरेको छ । खासगरी अवैध रूपमा आप्रवासीहरूको प्रवेशको मुद्दा उनको अनुकूल छैन ।
बाइडेन–ह्यारिस कार्यकालमा मेक्सिकोबाट सबभन्दा धेरै अवैध आप्रवासीहरू अमेरिका प्रवेश गरेका छन् । र, बाइडेन प्रशासनमा यसलाई रोक्ने मुख्य जिम्मेवारी ह्यारिसलाई नै दिइएको थियो । त्यसमा उनी असफल भएको रिपब्लिकनहरूले दाबी छ । ह्यारिस कुनै मुद्दामा कमजोर छिन् भने त्यो यही हो ।
आर्थिक मुद्दामा अहिले पनि अमेरिकी नागरिकले कमलालाई भन्दा ट्रम्पलाई नै बढी विश्वास गरेको देखिन्छ । स्वीङ स्टेटहरूमा गरिएको सर्वेक्षण अनुसार १० प्रतिशत बढीले अर्थतन्त्रका मामिलामा ट्रम्पलाई विश्वास गरेका छन् ।
चीनसँगको सम्बन्धको प्रश्नसँगै युक्रेनलाई सहयोग मात्र होइन, इजरायल–गाजा युद्धमा कहाँ उभिने भन्ने पनि प्रश्न छ । किनकि प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको इजरायललाई साथ दिएको भनेर बाइडेनले विद्यार्थीहरूको विरोध खेप्नुपरेको थियो । अबका दिनमा यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने ठाउँमा ह्यारिस आइपुगेकी छन् ।
यदि बाइडेन प्रशासनको कामकारबाही बारे जवाफ नदिई मतदान भएमा ह्यारिसका लागि सहज होला । तर रिपब्लिकनहरूले उनलाई त्यस्तो अनुकूल वातावरण छाड्ने सम्भावना छैन ।
ट्रम्पमा समर्थक सिनेटर लिन्डसे ग्रहकमले चुनावी र्यालीहरूमा आफ्नो ‘सोम्यान’ शैली कम गर्न र अर्थतन्त्र, कर र सीमा सुरक्षाका मुद्दामा केन्द्रित हुन सल्लाह दिएका छन् ।
‘राष्ट्रपति ट्रम्पले चुनाव जित्न सक्छन्, उनको नीति अमेरिकाका लागि राम्रो छ । यदि तपाईंले राष्ट्रपतिका लागि नीतिगत बहस गर्नुहुन्छ भने उनले जित्ने छन्’ एनबीसीको मिट द प्रेसमा उनले भनेका छन्, ‘डोनाल्ड ट्रम्प उत्तेजक, सोम्यान भए भने चुनाव नजित्न पनि सक्छन् ।’
त्योभन्दा महत्वपूर्ण चाहिँ के अमेरिका महिलालाई राष्ट्रपतिका रूपमा स्वीकार गर्न तयार छ भन्ने प्रश्न शक्तिशाली बनेको छ ।
मंगलबारदेखि जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले ‘सबभन्दा अग्लो र बलियो अदृश्य प्रणालीगत अवरोध तोडेर कमला ह्यारिस राष्ट्रपति बन्ने विश्वास व्यक्त गरेकी छन् । २०१६ मा आफू राष्ट्रपतिको उम्मेदवार बन्ने क्रममा ‘अग्लो र बलियो ग्लासको त्यो सिलिङ’ थुप्रै चर्काएको उल्लेख गर्दै उनले भनिन्, ‘जब एक महिलाका लागि यो अवरोध भत्किन्छ, सबै महिलाका लागि बाटो खुला हुनेछ ।’