कोभिड महामारी विश्वका अरू देशमा फैलिँदा नेपालले खास वास्ता गरेन। पूर्वतयारी र प्रतिकार्यको चाँजोपाँजो भएन। नेपालीलाई त्यस्ता रोगले छुन सक्दैन शैलीका हावादारी हल्ला धेरै फिजियो। सरकार पनि मस्तराम बन्यो।
कोभिडकै बेला पर्यटनमन्त्री अस्ट्रेलिया भ्रमणमा गएर नेपाल सुरक्षित छ भन्ने हास्यास्पद कार्यक्रम गरे। त्यसबाट विश्व मञ्चमा नेपाल लज्जाको विषय बन्यो। अनि कोभिड— १९ ले घेरिहाल्यो। लकडाउन (बन्दाबन्दी) नै गर्नुपर्यो। अनि १० हजारभन्दा बढी नेपालीले कोभिड— १९ मा ज्यान गुमाए। अहिले विश्व स्वास्थ्य संगठनले मंकिपक्स भन्ने रोगको महामारी फैलिएको भन्दै आपत्काल घोषणा गरिसकेको छ। तर, नेपाल भने यसबारे केही सोचेजस्तो र जोखिम नियन्त्रण र प्रतिकार्यका लागि तयारीमा देखिन्न। जबकि अफ्रिकी मुलुकहरूमा यो रोगले कैयौंको ज्यान लिइसकेको छ। र, छिमेकी पाकिस्तानसम्म यो रोग देखा परिसक्यो। अब भारतसँग खुला सीमा भएको नेपाल भित्रिन बेर नलाग्न सक्छ।
कोभिडभन्दा मंकिपक्स खतरनाक छ। सासकै माध्यमबाट यो एकअर्कामा सर्छ। एउटै ओच्छ्यान प्रयोग गर्दा पनि सर्छ। झन् छुँदा र म्वाइँ खाँदा सर्ने भइहाल्यो। ज्वरो नै मंकिपक्सको पहिलो लक्षण हो। ज्वरोपछि छाला, अनुहार, हत्केला र पैतालाहरूमा बिबिरा (डाबर)हरू देखा पर्छन्। मांसपेशीहरू दुख्ने र संक्रमण जटिल बन्दै र बढ्दै जाँदा दृष्टि गुम्न सक्छ, निमोनिया हुन्छ, मस्तिष्कमा असर पु¥याउँछ र अन्तमा ज्यानै पनि जान्छ। पोहोरै विदेशबाट आएकी एकजनामा यो रोग नेपाल देखा परिसकेको हो। ती महिला पछि निको भइन् र रोग फैलन पनि पाएन। यसपछि भने विश्व स्वास्थ्य संगठनले विश्वभर यसको आतंक फैलन सक्ने भन्दै चेतावनी दिइसकेको सन्दर्भ यहाँ मननीय छ।
कुनै पनि संक्रमणबाट जोगिने भनेको आफैं हो। सरकारले सबै नागरिकलाई कुनै पनि खालको सुरक्षा दिने होइन। उसले नीति बनाउँछ। पालना गर्ने नागरिकको धर्म हो। तर, सरकारले बनाउने नीति र नियम अटेर गर्ने प्रवृत्ति हुँदा आफैं महामारीको सिकारमात्रै भइन्न, अरूलाई पनि सर्छ। धेरैले दुःख पाउँछन्। एउटाले बिराउने र शाखा पिराउने हुन जान्छ। तसर्थ सरसफाइमा ध्यान दिने, सामाजिक दूरी कायम गर्ने, भिडभाड नगर्ने र रोगबाट जोगिनेतर्फ सबै नागरिक सतर्क हुनुपर्छ।
सरकारले पनि नीति, नियमसँगै स्वास्थ्य सेवा चुस्त दुरुस्त पार्ने, सकेसम्म रोग भित्रिन नदिने र भित्रिइहाले नागरिकको स्वास्थ्योपचार गर्ने आवश्यक तयारी अहिलेदेखि नै गर्न जरुरी छ।