मुख्य समाचार
६१५ नेपाली साउदी जेलमा
६१५ नेपाली साउदी जेलमा

: वैदेशिक रोजगारीका लागि साउदी अरब आकर्षक मानिन्छ । तर, यहाँको कानुनविपरीतका गतिविधि र साथीभाइको प्रलोभनमा पर्दा ६ सय १५ जना नेपाली जेल परेका छन् । अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका हुन् । साउदीमा रक्सी सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय हो ।




साउदीस्थित नेपाली दूतावासका श्रमसहचारी देवेन्द्र कार्कीका अनुसार ६ सय १५ जना नेपाली विभिन्न जेलमा सजाय भोगिरहेका छन् ।
उनका अनुसार ३ सय ८८ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा जेल परेका हुन । यस्तै, १ सय २२ जना लागु‍औषध ओसारपसार र ५३ जना चोरी मुद्दामा जेल परेका हुन् । यस्तै, उच्छृंखल भिडियो बनाउने, महिलालाई जिस्काउने तथा अन्य कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा ५२ जना जेल परेका हुन् ।


साउदीमा हाल ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ । रोजगारीका लागि यहाँ आउने नेपालीको संख्या बर्सेनि बढ्दो छ । तर, पछिल्लो समय कार्यरतसम्बन्धी कम्पनी छोडेर अरू नै कम्पनीमा काम गर्नका लागि भाग्नेको संख्या पनि बढ्दो छ । श्रम सम्झौताभन्दा बढी पैसाको लोभ गर्ने र जसरी पनि पैसा कमाउन कानुनविपरीत काम गर्नेहरू समस्यामा परेपछि कम्पनी छोडेर भाग्ने गरेका छन् । दूतावासले साउदीमा कार्यरत कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १५ हजार बढी रहेको अनुमान गरेको छ ।

धेरै कमाउने प्रलोभनले जेलमा

डोल्पाका प्रकाश (थर गोप्य राखिएको) ३ वर्ष पहिला साउदीको एक राम्रो रेस्टुराँन्टमा काम गर्थे । तर, छोटो समयमा धेरै कमाई हुने साथीभाइको गफ सुनेर उनले उक्त कम्पनी छोडे । त्यसपछि मदिरा(रक्सी) बनाउने र बेच्ने गर्न थाले । त्यस्तो अवैध कारोबार गरिरहेका बेला प्रहरीको फन्दामा परे ।

त्यसपछि उनका दुःखका दिन सुरु भए । ‘धेरै कमाई हुने आशामा साथीभाइका कुरा सुनेर मदिरा (रक्सी) बनाउने र बेच्ने काममा लागेँ,’ उनले दुःखेसो पोखे, ‘अब त जेलको बास छ । अब नेपाल सरकारले उद्धार गरेर स्वदेश फिर्ता गरिदिए हुन्थ्यो ।’ आफूसँगै काम गर्ने अरू ३३ जना नेपाली पनि मदिरा बनाउने र बेच्ने गरेको आरोपमा जेलमा सँगै रहेको उनले बताए ।

मुगुका हरि (थर गोप्य) पनि रक्सी सेवनको अभियोगमा जेलमा छन् । ‘साथीको कोठामा १२/१५ जना जम्मा भएका लोकल रक्सी पिउँदै रमाइलो गरिरहेका थियौं,’ हरिले भने, ‘त्यस क्रममा साथीभाइबीच झगडा पर्‍यो । रुम नजिकै बस्ने पाकिस्तानीले प्रहरीलाई खबर गरेछ । प्रहरी आएर सबैलाई समातेर लग्यो । जेलमा परेको २० महिना भइसक्यो ।’

आफू लगायतका साथीहरू जेल परेको खबर कम्पनीलाई दिएपछि उल्टै कम्पनीले चोरीको आरोप लगाएको उनको भनाइ छ । ‘कम्पनीले त सामान चोरी गरेको भनेर जरिवाना स्वरूप १ लाख रियालसहित मलाई मुद्दा हाल्यो,’ उनले भने,
‘अदालतले पनि दोषी करार दिँदै जेल चलान गर्‍यो ।’ उद्धारको पर्खाइमा रहेको उनले बताए ।

बागलुङका होम(थर गोप्य) २२ महिना पहिले साउदीको अल हबिद कम्पनीमा ड्राइभर भिसामा आएका थिए । तर, साथीभाइको कुरा सुनेर बीचमै कम्पनी छोडे । साथीहरूले उनी कार्यरत कम्पनीभन्दा दुई गुणा बढी पैसा कमाई हुने लोभ देखाएका थिए ।

‘तर, कम्पनीले उनीविरुद्ध चोरी र साथीभाइलाई भगाएको आरोपमा २५ हजार साउदी रियाल जरिवाना सहितको मुद्दा दर्ता गर्‍यो,’ उनले भने, ‘यही कारण जेलको बास भयो ।’ पुरानो कम्पनीमा काम गर्दा ९० हजार रुपैयाँ बढी घर पठाउने गरेका होम धेरै कमाईको प्रलोभनमा फँसेको बताउँछन् । ‘लोभमा परेर कम्पनी छोडेँ,’ उनले भने, ‘सुरुमा त राम्रो कमाएँ । पनि तर पछि थाहा भयो कि भागेर काम गर्दा साउदीको नियम र कानुनअनुसार अवैधानिक मानिँदो रहेछ ।’

९ महिना अगाडि साउदी आएकी सिन्धुपाल्चोकी सुन्दरीमाया तामाङ पनि जेलमा छिन् । धेरै पैसाको लोभमा पर्दा जेल परेको उनले दुःखेसो पोखिन । ‘काम गर्दा महिनाको ५० हजार नेपाली रुपैयाँ बचत हुन्थ्यो,’ उनले भनिन्, ‘तर साथीभाइको कुरामा लागेर कम्पनीबाट भागेँ । सुरुमा राम्रो कमाइ भयो र खुसी पनि थिएँ । एकदिन नचिनेको फोन आयो, २ कार्टुन लोकल रक्सीको अर्डर आयो । लोकेसन पठाएँ । ती त साउदीका सीआईडी रहेछन् । मसँगै अन्य साथीलाई समातेर लगे । अहिले मसँगै अन्य ४० जना नेपाली जेलमा छौं । अब घर फक्र्नछौं या फर्कदैनौं केही थाहा छैन ।’

२५ महिनाअघि साउदी आएका धादिङका अनुप पनि साथीहरूको लहैलहमा लागेर कार्यरत कम्पनीबाट भागे । त्यसपछि अलपत्र परे । ‘मसँग अब त खाने बस्ने र नेपाल फर्किने रकमसमेत छैन,’ उनले भने,’ निकै दुःख पाइयो । उद्दार गरेर स्वदेश फर्किन पाए उतै केही गर्थे ।’
जबकी उनी कार्यरत कम्पनीबाट प्रतिमहिना १ हजार ८ सय रियाल पाउँथे । तर, साथीभाइले मासिक २ हजार ९ सय रियालभन्दा बढी कमाइ हुने लोभ देखाएपछि उनले कम्पनी छोडेका थिए ।

कम्पनी छोडेपछि उनीविरुद्ध उक्त कम्पनीले चोरीको मुद्दा दर्ता गरेको छ । यस्तै, साउदीमा आएर अलपत्र परेका २६ जना नेपाली दूतावासको सेल्टरमा छन् । तीमध्ये ३ जना महिला पनि छन् । धेरैजसो सम्बन्धित कम्पनीबाट भागेर अवैधानिक रूपमा कार्यरत रहेकाहरू छन् । नेपालमा एजेन्टले उनीहरूलाई विभिन्न प्रलोभन देखाएर साउदीमा घरायसी कामका लागि पुर्‍याएका थिए ।

तर, यहाँ काम गरेपछि तलब, सेवा सुविधा नपाएको तथा घर मालिकबाट शारीरिक र मानसिक पीडा भोगेको भन्दै उनीहरू दूतावासको सेल्टरमा पुगेका हुन् । उनीहरूलाई स्वदेश फिर्ताका लागि दूतावासले सम्बन्धित निकायसँग छलफल गरी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रथम सचिव टीकाराम उपाध्यायले साउदीमा कार्यरत नेपाली कामदारको मृत्यु संख्या बढ्दो रहेकाले यसलाई रोक्न खानपिन र स्वास्थ्य सुरक्षामा जोड दिन आग्रहसमेत गरेका छन् भने गत साउन महिनाभित्र १६ जना नेपालीको मृत्यु भएको छ ।

१ महिनामा १६ को मृत्यु
वैदेशिक रोजगारीका लागि साउदी अरेबिया आउने नेपालीहरूको मृत्यु हुने संख्या पनि बढ्दै गएको छ । साउन महिनामा मात्रै १६ जना नेपालीको मृत्यु भएको छ । नेपाली दूतावास स्रोतका अनुसार सडक दुर्घटनामा ५ जना, कार्य दुर्घटनातर्फ १ जनाको निधन भएको हो ।
तीन जनाले आत्महत्या गरेका थिए । यस्तै, प्राकृतिक रूपमा ४ जनाको निधन भएको छ ।

३ जनाको मृत्युको कारण खुलेको छैन । साथै नेपाली कामदारको मृत्यु संख्या बढ्दो रहेकाले यसलाई रोक्न खानपिन तथा स्वास्थ्य सुरक्षामा जोड दिन आग्रह गरिएको दूतावासका प्रथम सचिव टीकाराम उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् । डिपोर्ट हुनेमध्ये ...
। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् । डिपोर्ट भएकाहरुलाई मानव ...
— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ । साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत ...
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...