मुख्य समाचार
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने कि नहुने भन्ने अन्योल
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने कि नहुने भन्ने अन्योल

: कर्णाली प्रदेशमा तय भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने कि नहुने भन्ने अन्योलता बढेको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुदको १०औं संस्करणको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएपछि पूर्वनिर्धारित समयमा हुने कि नहुने भन्ने अन्योलता झन् बढेको हो।




खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। संघले राष्ट्रिय खेलकुदका विषयमा खेलाडी र खेलकर्मीलाई प्रष्ट जानकारी दिन सरकारलाई आग्रह गरेको हो।

स्थानीय आयोजकको रुपमा रहेको कर्णाली प्रदेश खेलकुद परिषद्ले काउन्ट डाउन सुरु गरिसके पनि संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले पूर्वनिर्धारित मिति २०८१ मंसिर २ देखि ९ सम्म हुने नहुने भन्ने विषयमा प्रष्ट नपार्दा खेलाडीमा अन्योलता सिर्जना भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। ‘छिटोभन्दा छिटो १०औं राष्ट्रिय खेलकुदका विषयमा प्रष्ट जानकारी देशभरका खेलाडी र खेलकर्मीलाई दिन आग्रह गर्दछौं’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हरेक दुई वर्षमा आयोजना हुने लक्ष्यका साथ सुरु भएको राष्ट्रिय खेलकुद विगतमा वषौंसम्म आयोजना हुन नसकेको तीतो यथार्थ हामी सामु छ। जसले गर्दा त्यतिबेलाका प्रतिभाले आफ्नो खेल कौशललाई प्रदर्शन गर्न पाएनन्। यसर्थ भविष्यमा यस्तो परिस्थिति फेरि कहिल्यै नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं।’


देशको सबैभन्दा ठूलो खेल मेलाका रुपमा रहेको राष्ट्रिय खेलकुदको १०औं संस्करणको आयोजना कर्णाली प्रदेशमा हुने गरी नवौं राष्ट्रिय खेलकुदको समापनका क्रममा घोषणा गरिएको थियो।

मन्त्री र सदस्यसचिवको जुहारी

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री चौधरीले पूर्वनिर्धारित मितिमा नै राष्ट्रिय खेलकुदको १०औं संस्करण आयोजना गर्न सम्भव नभएको प्रतिक्रिया दिएका छन्। उनले प्रतियोगिताका लागि आवश्यक तयारी भइनसकेको र बाँकी रहेको समय पनि तयारीका लागि पर्याप्त नभएको भन्दै पूर्वनिर्धारित समयभन्दा केही पर सर्ने जानकारी दिएका हुन्। मन्त्री चौधरीले आवश्यक तयारी पूरा गरेर १०औंलाई चाँडै आयोजना गर्ने गरी खेलकुद मन्त्रालयले पहल सुरु गर्ने बताएका थिए।

ध्यानाकर्षण पत्र बुझ्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले भने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नै आयोजना गर्न लागिपरेको बताएका थिए। उनले प्रतियोगिता समयमै आयोजना गर्न आफूले दुई पटकसम्म परिषद्को बोर्ड बैठकका लागि प्रस्ताव गरेको बताउँदै युवा तथा खेलकुदमन्त्रीसँग पनि निरन्तर छलफल भइरहेको जानकारी दिएका थिए।

उनले प्रतियोगिता आयोजना स्थल कर्णालीमा निर्माण भइरहेका खेल पूर्वाधारको युवा तथा खेलकुदमन्त्रीसहितको टोलीले अध्ययन गरेको बताएका थिए। ‘प्रतियोगिता निर्धारित समयमै आयोजनाका लागि पूर्वाधारको सुनिश्चित गर्न परिषद्ले प्राविधिक टोली खटाएको छ। खेलाडीहरूको चासोले प्रतियोगिता आयोजनालाई थप बल पुग्नेछ’, सदस्यसचिव घिसिङले भनेका थिए।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रंगशाला निर्माणको काम भइरहेको छ। पूर्वनिर्धारित समयमै प्रतियोगिता आयोजना लागि भौतिक पूर्वाधारको काम तीव्र गतिमा भइरहे पनि त्यो समयमै पूरा नहुने भएपछि १०औं राष्ट्रिय खेलकुद अन्योलमा परेको हो। कर्णालीमा खेलकुदका भौतिक पूर्वाधारको अभावकै कारण अहिलेसम्म राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन सकेको छैन।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा जम्मा २४ वटा खेल सञ्चालन गर्ने प्रस्ताव कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद परिषद्लाई गरेको छ। कर्णालीमा उपलब्ध भौतिक संरचना र क्षमताका आधारमा २४ वटा खेलको मात्र प्रतियोगिता गराउन सम्भव हुने भन्दै यो प्रस्ताव गरेको हो। गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा भने विभिन्न ३६ वटा खेल सञ्चालन भएका थिए। तर, कर्णालीमा सबै खेल खेलाउन सम्भव नभएकाले २४ वटा खेलमा मात्र प्रतियोगिता गर्न प्रस्ताव गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...