मुख्य समाचार
जो रुटको अटुट लयले संकटमा सचिनका कीर्तिमान
जो रुटको अटुट लयले संकटमा सचिनका कीर्तिमान

। सन् २०१४ देखि विराट कोहली, स्टिभ स्मिथ, केन विलियम्सन र जो रुटलाई फ्याब फोर खेलाडी मानिन्छ । फ्याब फोर अर्थात वर्तमान क्रिकेटका तीनै शैलीका सबैभन्दा उत्कृष्ट ब्याटर ।

फ्याब फोरमा अन्य तीनलाई जो रुटले टेस्टमा पछि पार्दै धेरै अघि बढेका छन् । फ्याब फोरमध्ये टेस्टमा सर्वाधिक रन, खेल र शतकमा रुट सबैभन्दा अघि छन् । ३३ वर्षीय रुटले टेस्टमा सन् २०१२ मा भारतविरुद्ध नागपुरमा डेब्यू गरेका थिए ।




त्यसको दुई वर्षपछि २०१४ मा उनी फ्याब फोरमा परे । सन् २०१२ देखि २०२० सम्म उनले टेस्टमा १७ शतक प्रहार गरेका थिए ।

सन् २०२० यता उनले ५६ टेस्ट खेल खेल्दा १७ शतक, १९ अर्धशतकसहित ५ हजार १८ रन बनाएका छन् । सन् २०२१ यता टेस्टमा रुट सर्वाधिक रन र शतक बनाउने खेलाडी हुन् ।



रुटपछि पछिल्लो चार वर्षमा केन विलियम्सनले ११ शतक र अष्ट्रेलिया मार्नस लाबुसेनले २९२९ रन बनाएका छन् । समग्र टेस्ट करिअरमा रुटले १४५ खेलमा ३४ शतकसहित १२ हजार ३७७ रन जोडेका छन् ।

सचिनको कीर्तिमान तोड्ने पथमा रुट

रुटले यही लयलाई निरन्तरता दिए टेस्टमा सचिनको सर्वाधिक रन १५ हजार ९२१ तोड्ने लगभग देखिन्छ । उनले अझै सक्रिय रुपमा कम्तीमा पनि तीन चार वर्ष टेस्ट खेल्नेछन् । उनको फिटनेस र लयलाई हेर्दा त्यो भन्दा बढी खेल्ने सम्भावना त्यति नै छ । अब तीन हजार ५४४ रन बनाए उनी टेस्ट इतिहासमा सर्वाधिक रन बनाउने ब्याटर बन्नेछन् ।

उनलाई सचिनकै सर्वाधिक ५१ शतकको कीर्तिमान तोड्न अब १७ शतक बनाउनुपर्ने हुन्छ । पछिल्लो चार वर्षकै गतिमा अघि बढे यो पनि असम्भव देखिदैन ।



फ्याब फोरमा रुटपछि पछिल्लो चार वर्षमा केन विलियम्सनको प्रदर्शन उत्कृष्ट छ । सन् २०२० यता विलियम्सनले २२ टेस्टमा ११ शतक र ३ अर्धशतकसहित २३६४ रन बनाएका छन् । समग्रमा विलियम्सनले १ सय टेस्ट खेलमा ३२ शतकसहित ८ हजार ७४३ रन बनाएका छन् ।

स्टिभ स्मिथ फ्याब फोरमा सबैभन्दा उत्कृष्ट ब्याटर मानिन्थे । सन् २०१० देखि २०२० सम्म स्मिथले टेस्टमा २६ शतक हानेका थिए । सन् २०२० यता स्मिथले ३७ टेस्ट खेलमा ६ शतक र १३ अर्धशतकसहित २ हजार ५२१ रन बनाएका छन् । समग्रमा स्मिथले १०९ टेस्टमा ३२ शतकसहित ९ हजार ६८५ रन जोडेका छन् ।

भारतीय क्रिकेटर विराट कोहली २०२० सम्म फ्याब फोरमा सर्वाधिक २७ शतक हान्ने खेलाडी थिए । केही वर्षअघिसम्म सचिनको कीर्तिमान तोड्नेमा विराट सबैभन्दा बलिया दाबेदार देखिन्थे ।

तर २०२० यता उनले २९ टेस्ट खेलमा मात्रै २ शतक हान्दै १ हजार ६४६ रन बनाएपछि कीतिमानको सम्भावना धेरै कठिन बनेको हो । उनको स्थानमा फ्याब फोरमा पाकिस्तानका बाबर आजमलाई समेट्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।

सन् २०२३ मा अहमदावादमा अष्ट्रेलियाविरुद्ध १८६ र वेस्टइण्डिजविरुद्ध पोर्ट अफ स्पेनमा १२१ रनको शतकीय इनिङ कोहलीको पछिल्ला चार वर्षका दुई शतक हुन् । कोहलीले हालसम्म ११३ टेस्ट खेलमा २९ शतकसहित ८ हजार ८४८ रन बनाइसकेका छन् ।

रुटको अद्भूत लय

रुटले लर्ड्समा यसै साता श्रीलंकाविरुद्ध दोस्रो टेस्ट खेलमा १४३ र १०३ रनको शतकीय इनिङ खेले । त्योसँगै पूर्वकप्तान एलिस्टर कुकको ३३ शतकलाई पछि पारे र इंग्ल्यान्डबाट सर्वाधिक शतक हान्ने खेलाडी बने ।

शतकलगत्तै एलिस्टर कुकले उनलाई इंग्ल्यान्डको महान् खेलाडी भनेका थिए । रुटले भारतविरुद्ध सन् २०१२ डिसेम्बरमा नागपुरमा टेस्टमा डेब्यू गर्दा कुक नै इंग्ल्यान्डको कप्तान थिए ।

रुटले डेब्यू इनिङमै २२९ बलमा ४ चौकासहित ७३ रनको इनिङ खेलेका थिए । सुरुवाती केही बल खेलेपछि कुकले उनलाई त्यति बेला नै टेस्टमा १० हजार रन बनाउन सक्ने बताएका थिए ।



शान्त, शालीन, धैर्यता र क्लास (टेक्निकल) मा माहिर उनी २०१९ पछि इंग्लयाण्डको टी–२० टोलीमा छैनन् । इंग्लयाण्डले आक्रामक क्रिकेटमा बढी जोड दिएपछि राम्रो गर्दागर्दै टी–२० आईबाट बाहिर भएका थिए । इंग्ल्याण्डले राम्रो नतिजा ल्याउन नसकेपछि २०२२ मा कप्तानी पनि छाडेका थिए । टी–२० आई नखेल्नु र कप्तानी दबाब नहुनुले उनी झनै उत्कृष्ट बनेर आए ।

गत फेब्रुअरीमा भारतविरुद्ध राचीमा र जुलाइमा घरेलु मैदान नोटिंघममा वेष्टइण्डिजविरुद्ध समान १२२ रनको शतकीय इनिङ खेलेका थिए । उनी वर्तमान समयमा स्पिन उत्कृष्ट खेल्ने ब्याटरमा पर्छन् । तीव्र गतिको बलमा पनि रन जोड्नु इंग्लिस ब्याटरको खुबी हो ।

सन् २०२१ को सुरुवात रुटले श्रीलंकाविरुद्ध श्रीलंकाकै गालेमा २२८ र दोस्रो टेस्टमा १८६ रनको शतकीय इनिङ खेलेका थिए । त्यसै वर्ष फेब्रअरीमा चेन्नईमा २१८ रनको दोहोरो शतकीय इनिङ खेल्दै भारतलाई २२७ रनले हराउन नायक बनेका थिए ।

सन् २०२१ अगष्टमा भारतविरुद्ध लर्ड्समा १८० रनको अविजित र लिड्समा १२१ रनको शतकीय इनिङ खेलेका थिए । वेस्टइण्डिजविरुद्ध १५३ र न्युजिल्याण्डविरुद्ध १७६ रनको इनिङ थप उत्कृष्ट मानिन्छन् । सन् २०२३ मा न्युजिल्याण्डविरुद्ध १५३ रन अविजित र अष्ट्रेलियाविरुद्ध ११८ रनको अविजित इनिङ खेलेका थिए ।

‘म टोलीलाई केही गर्न र खेल्न मात्रै चाहन्छु । टोलीलाई धेरै रन बनाउन र हामी कहाँ पुग्छौं भनेर हेर्न चाहन्छु । यो भन्दा राम्रो भावना अरु छैन, रुटले लर्ड्समा कीर्तिमानी शतकपछि भने ।

अनि थपे, ‘शतक बनाउनु पक्कै उत्कृष्ट काम हो । तर तपाईं जित्नु हुँदैन भने शतक बनाउँदा राम्रो लाग्दैन । मुख्य कुरा फोकस हुनेछ । आशा छ, अझै यस्तै दिनहरु आउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...