मुख्य समाचार
पलेसाको सम्मानमा आज नगर परिक्रमा
पलेसाको सम्मानमा आज नगर परिक्रमा

: पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनको सम्मानमा आज नगर परिक्रमा गराइने भएको छ । फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जितेकी थिइन् ।

यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो । ऐतिहासिक पदक विजेता पलोसा आज बिहान काठमाडौं आउँदै छिन् । उनीसहित नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगर परिक्रमासहित स्वागत गर्न लागेको हो ।

राखेपका अनुसार बुधबार बिहान ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली सुरु हुनेछ । र्‍याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि बुधबार स्वदेश फर्किंदै छन् ।


पेरिस पारालिम्पिकअन्तर्गत रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । उनले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा पलेसाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एकपक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । क्वार्टरफाइनलमा अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन् । क्वार्टरफाइनलमा पराजित भएपछि पलेसाले रिपेचज खेल्ने अवसर पाएकी थिइन् ।

लगातार दोस्रो पारालिम्पिक खेलेकी पलेसाले टोकियो पारालिम्पिकको सोही तौलसमूहको रिपेचेजमा पनि मरिजालाई नै हराउँदै कांस्य पदक भिडन्त पक्का गरेकी थिइन् । कांस्य पदकका लागि भएको भिडन्तमा भने उनी चीनकी लि युजीसँग १२–९ ले चुकेकी थिइन् । पलेसाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन् । नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको हो ।

गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य पदक जितेको इतिहास छ । सन् १९८८ मा दक्षिण कोरियामा भएको २४औं संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धी हासिल गरेका थिए । प्रदर्शनी खेल भएकाले पदक तालिकामा भने उक्त पदकको गणना गरिएको थिएन ।

१० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेसा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध भएकी थिइन् । सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेसाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यो प्रतियोगितामा उनले पाँचौं स्थान हासिल गरेकी थिइन् ।

२१ वर्षीया पलेसाले पेरिस पारालिम्पिकसहित ६ अन्तर्राष्ट्रिय पदक जितेकी छन् । त्यसमा तीन स्वर्ण र तीन कांस्य छ । पलेसाले नेपालमा भएको दोस्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोयिगता, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स र चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोटमा स्वर्ण जितेकी थिइन् । ताइयानकै प्रतियोगितामा हासिल गरेको सफलतामा पलेसाले पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । पारालिम्पिकमा छनोट चरण पार गरेर खेल्ने पलेसा एक्लो नेपाली खेलाडी हुन् । टोकियो पारालिम्पिकमा भने उनी वाइल्ड कार्डमार्फत सहभागी भएकी थिइन् ।

यसैगरी सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी थिइन् । एसियाली पारा खेलकुदमा पलेसाले जितेको कांस्य नेपालले पाएको अहिलेसम्मकै एक मात्र पदक हो ।

पलेसासँग लन्डन र टर्कीमा भएको दुई विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित