मुख्य समाचार
मुना पाण्डे प्रकरण: आरोपी पक्राउ पर्दा लगाएको कपडामा रगत र गाडीमा हतियार भेटियो
मुना पाण्डे प्रकरण: आरोपी पक्राउ पर्दा लगाएको कपडामा रगत र गाडीमा हतियार भेटियो

। अमेरिकाको ह्युस्टनमा २१ वर्षीया नेपाली किशोरी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी सिंह शाहको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको खुलेको छ ।

अघिल्लो साता सोमबार अमेरिकी समयअनुसार बेलुकी साढे ५ बजे पाण्डेलाई उनको अपार्टमेन्टमै गोली हानी हत्या गरिएको थियो । प्रहरीले हत्यामा सर्भिलेन्स क्यामराको फुटेजका आधारमा एक जना संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना मागेको थियो ।




त्यसक्रममा प्रहरीले बबी सिंह शाह नामक व्यक्तिलाई पक्राउ गरेको छ । ह्युस्टन प्रहरी प्रवक्ताका अनुसार सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किंदै गरेको देखिएका व्यक्ति शाह नै थिए ।

प्रहरीले शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ । सीसी टीभीमा देखिएकै कपडा लगाएको अवस्थामा उनी पक्राउ परेको अदालतमा भएको सुनवाइका क्रममा अभियोजनकर्ता पक्षका वकिलहरुले जिकिर गरेका छन् ।



प्रहरीलाई उद्धृत गर्दै वकिलहरुले भनेका छन्, ‘दुई दिनपछि पक्राउ पर्दा पनि उनी रगतका छिटाहरु भएको कपडामै थिए, जुन पाण्डेको अपार्टमेन्टको सीसी टीभीमा पनि देखिएको थियो ।’

प्रहरी अधिकारीहरुले उनको कारमा पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोल पनि बरामद गरेको अभियोजक पक्षका वकिलहरुले अदालतमा बताएका छन् । ‘उनलाई तीन राउण्ड गोली हानिएको थियो, त्यसमध्ये एउटा पछाडिबाट टाउकोमा लागेको थियो’, अदालतमा भएको बहसमा वकिलहरुले भनेका छन् ।

अभियोजक पक्षका वकिलहरुले गरेको बहस सुनेपछि न्यायाधीशले बबीलाई जमानतमा छाड्न अस्वीकार गरेका थिए । बबी पक्षका वकिलहरुले भने शाह अदालतमा उच्च मनोबलका साथ उभिएको भन्दै उनी शतप्रतिशत निर्दोष रहेको दाबी गरेका थिए ।

‘उनी भारतीय मूलका हुन् र बाल्यकालमै अमेरिका आएका थिए, उनी एउटा कम्पनीमा भाइस प्रेसिडेन्ट छन्’, बबी पक्षका वकिलको जिकिर छ, ‘मलाई त्यो कम्पनीको नाम भन्ने स्वतन्त्रता त छ, उनी एकदमै स्मार्ट, शिक्षित र बहुत स्पष्ट वक्ता हुन् ।’

तर, अभियोजक पक्षका वकिलहरुले पाण्डेको घरमा रहेको सर्भिलेन्स क्यामराको फुटेज पनि देखाए । जसमा उनी जुत्ताको बक्स, सपिङ गर्ने झोला, कालो ज्याकेट र पर्स बोकेर उभिएकी छन् ।

त्यसक्रममा शाहले पटक पटक उनलाई ढोका खोल्न भनेका छन् । त्यसबेला पाण्डेले ‘ह्वाट आर यु गोइङ टु डु ? (के गर्न लागेको ?)’ भन्दै प्रश्न गरेको सुनिने भनिएको छ ।

तर, पाण्डे बाहिर निस्किनेबित्तिकै शाह उनलाई धकेल्दै भित्र प्रवेश गरेर ढोका बन्द गरेका थिए । यहीबीच मुनाकी आमा अनिता पाण्डे अमेरिका जाँदैछिन् । उनले आफ्नो छोरीको हत्यामा संलग्न शाहलाई अधिकतम सजाय हुनुपर्ने माग गरेकी छन् । अमेरिका नेपाली समुदायका व्यक्तिहरु अदालतमा बहस हुँदा भित्रै पुगेका थिए ।

‘म कल्पना मात्र गर्न सक्छु, मुनाकी आमालाई के बितिरहेको छ, त्यसैले म के चाहन्छु भने उहाँ यही आउनुहोस् र के भइरहेको छ भन्ने सबै थाहा पाउनुहोस्’, अभियोजन पक्षकी वकिल रेबेका मार्सलले सुनुवाइपछि पत्रकारहरुसँग भनेकी छन् ।

मुना सन् २०१२ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । विद्यार्थी भिसामा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।

त्यसअघि उनले काम गरेको रष्टुरेन्टमा बबी पनि नियमित जाने गर्थे । मुनाकी साथी आरुसा निरौलाले आफ्नो साथीमाथि सोच्नै नसकिने घटना भएको भन्दै न्यायको माग गरेकी छन् ।

उनले फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘मेरो प्रिय साथी, पूर्वरुममेट दुखद् रुपमा हामीबाट खोसिएकी छन्, यस्तो बीभत्स रुपमा भएको साथीको हत्या सहन सक्ने किसिमको छैन ।’

उनकी आमा अनिताका अनुसार, दुई दिनदेखि मुनाको मोबाइलमा सम्पर्क भइरहेको थिएन । मुनाको स्थायी थलो भोजपुर हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...