मुख्य समाचार
तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?
तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने परम्परा छ । भोलिपल्ट तीजको दिन केही पनि नखाई व्रत बस्ने भएकाले शरीरलाई चाहिने पोषक तत्वको कमी नहोस् भनेर अघिल्लो राति दर खाने चलन चलेको हो ।

अहिले दरखाने परम्परागत तरिकामा परिवर्तन आउन थालेको छ । तीजको अघिल्लो दिन खाइने दर अहिले काम गर्ने ठाउँ, साथी, नातागोता वा संघसंस्था सबै ठाउँमा सम्मानपूर्वक दर खुवाइने गरिएको छ । तर पनि दर खाने भनेको तीजको व्रत बस्ने पहिलो दिन नै हो ।


दरमा के खाने, के नखाने ?

दर व्रतको एक दिनअघि खाइने भएकाले त्यो खानेकुरा भोलिपल्ट व्रत बस्न सजिलो हुने खालको हुनुपर्छ । पाचन प्रकियामा असर नगर्ने हुनुपर्छ । त्यसैले दरमा क्यालोरी, चिल्लो र मसला कम भएको खानेकुरा समावेश गर्नुपर्छ । साथै फाइबर र प्रोटिनयुक्त खानेकुरा जस्तो तरकारी, फलफूल, सम्पूर्ण अन्न हुनुपर्छ ।



दर खाने दिन बढी चिल्लो, पिरो खाना खाने र भोलिपल्ट केही नखाई व्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर व्रतको दिन स्वास्थ्य समस्या नै निम्तिन सक्छ । दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । दरको दिन परिकार तयार गर्ने क्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकार तयार बनाएर खाँदा राम्रो हुन्छ । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले बढी चिल्लो, पिरो र तारेका खानेकुरा खानु हुँदैन ।

धार्मिक रुपमा दर खाने दिनमा माछामासु नखाने चलन छ । तर यो स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हो । माछामासु पच्न धेरै समय लाग्छ, त्यसैले व्रत बस्ने अघिल्लो दिन माछामासु नखानु नै राम्रो हो ।

एकैपटक धेरै खानेकुरा र राति अबेरसम्म खाने बानी राम्रो होइन

दरका नाममा अघिल्लो दिन अत्यधिक खाने र भोलिपल्ट पानी समेत नखाई व्रत खस्दा स्वास्थ्यमा झनै असर पर्न सक्छ । भोलिपल्ट व्रत बस्ने भएकाले अघिल्लो दिन चिल्लो ढकनी, गुलियो मिठाई, मासु लगायत खानेकुरा एकैचोटि खाने र राति अबेर १२ बजेसम्म खाने गरेको पनि पाइन्छ ।

हामीले खाएको खानेकुरा पच्न नै तीन-चार घण्टा लाग्छ । राति अबेरसम्म खानेकुरा खाएर सुत्दा खानेकुरा राम्ररी पच्न पाउँदैन र पाचन सम्बन्धी समस्या निम्तिन सक्छ ।

दीर्घरोग भएकाहरुले ध्यान दिनुपर्ने कुरा

पछिल्लो समय महिलामा मधुमेह, उच्च रक्तचाप, थाइराइड लगायत समस्या पनि देखिएकाले तीजको दरका नाममा जथाभावी रुपमा अत्यधिक खानेकुरा खानु हुँदैन ।

दर खानु भन्दा पहिला आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत हुनुपर्छ । एक दिन व्रत लिंदा शरीरलाई असर त गर्दैन तर अघिल्लो दिन खाने दर जथाभावी रुपमा खाँदा चाहिं असर पर्न सक्छ । मधुमेहमा कसैले इन्सुलिन प्रयोग गरिरहेका छन् भने व्रत नबस्नु नै राम्रो हुन्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिले व्रत बस्ने हो भने पानी, फलफूल, ड्राइफ्रुट लगायत खानेकुरा खाएर बस्नुपर्छ ।

मधुमेह भएका व्यक्ति व्रत बस्दा रिङ्गटा लाग्ने, आँखा धमिलो हुने, शरीर गलेको जस्तो हुने र टाउको दुख्ने जस्ता लक्षण देखिन्छन् भने शरीरमा सुगर लेबल कम भएको हुन्छ । यस्तोमा ग्लुकोज पानी खानुपर्छ र त्यसपछि ठोस खानेकुरा खानुपर्छ ।

व्रत बस्नु स्वास्थ्यका लागि राम्रो तर तरिका जान्नुपर्छ

समय-समयमा व्रत बस्नाले पाचन प्रणालीमा सकारात्मक प्रभाव पर्ने हुँदा खाना पच्न सहज हुन्छ । केही दिनको अन्तरालमा पेट खाली राख्दा पेट र आन्द्रामा भार कम हुन्छ । पेट खाली राख्दा पेट र आन्द्रामा आवश्यक पर्ने ऊर्जा शरीरका अन्य अंगमा खर्च गर्न सक्छ ।

कुनै पनि स्वास्थ्य समस्या नभएको व्यक्तिले दर खाने दिनमा आठ बजेभित्र खाना खाने र भोलिपल्ट पूरै व्रत बसेर पर्सिपल्ट मात्र खाना खाँदा ३६ घण्टा व्रत बस्दा शरीर ‘अटोफेगी’ हुन्छ । अटोफेजी भनेको रिसाइकल गर्ने प्रक्रिया हो, जुन शरीरभित्र हुन्छ । यस अन्तर्गत पुराना कोषिकाहरु नष्ट हुन्छन् र आवश्यक भागले ऊर्जा उत्पादन गर्छन् वा नयाँ कोषिकाहरु सिर्जना गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीलाई ओपीडी सेवामा वार्षिक २५ हजारसम्मको सुविधा उपलब्ध गराइने ...
। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा ...
— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण ...
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...