। प्रंशसकलाई चक्मा दिंदै विश्वचर्चित अमेरिकी रक ब्याण्ड लिंकिन पार्कले सात वर्षपछि नयाँ लाइनअपसहित जबर्जस्त पुनरागमन गरेको छ । एमिली आर्मस्ट्रङ र कोलिन ब्रिटन क्रमशः सहभोकलिस्ट र ड्रमर-सहनिर्माताको रूपमा सामेल भएका छन् ।
पुनरागमनसँगै ब्याण्डले विश्व टुरको घोषणा गरेको छ । त्यसअघि नोभेम्बर १५ मा ब्याण्डको नयाँ एल्बम ‘फ्रम जिरो’ रिलिज तयारीमा छ । टुरअन्तर्गत चार महादेशका ६ स्थानमा ब्याण्डले कन्सर्ट गर्नेछ । टुर अर्को सातादेखि सुरु हुनेछ ।
सन् २०२५ मा विश्वव्यापी टुर गर्ने ब्याण्डको तयारी छ । ब्याण्डले बिहीबार राति अमेरिकाको लस एन्जलसस्थित वार्नर लटबाट लाइभ स्ट्रिम गरिएको प्रस्तुतिसहित ब्याण्डबारे नयाँ अपडेट दिएको हो ।
जसअनुसार सेप्टेम्बर ११ मा लस एन्जलस, सेप्टेम्बर १६ मा न्युयोर्क, सेप्टेम्बर २२ मा जर्मनीको ह्यामबर्ग, सेप्टेम्बर २४ मा लण्डन, सेप्टेम्बर २८ मा सियोल र नोभेम्बर ११ मा कोलम्बियाको बोगोटामा कन्सर्ट तय छन् ।
सन् २०१७ मा ब्याण्डका लिड भोकलिस्ट चेस्टर बेनिंगटनको मृत्युपछि पहिलोपटक ब्याण्डले प्रस्तुति दिन लागेको हो । चेस्टरको स्थानमा एमिली नयाँ भोकलिस्टको रुपमा प्रवेश गरेकी हुन् ।