मुख्य समाचार
नारायणी अस्पतालको आकस्मिक कक्ष भद्रगोल, करोडौं खर्च गरेर बनाइएको भवन प्रयोगमै ल्याइएन
नारायणी अस्पतालको आकस्मिक कक्ष भद्रगोल, करोडौं खर्च गरेर बनाइएको भवन प्रयोगमै ल्याइएन

: वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा २८ वटा बेड छ। आकस्मिक वार्डमा हाल बेडको संख्या अपुग भएर एउटै बेडमा २ जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता छ। तर, करोडौंको लागतमा निर्मित ५० बेडको आकस्मिक सुविधासम्पन्न भवन प्रयोगमै ल्याइएको छैन।




आकस्मिक कक्षमा कार्यरत डाक्टर दीपक चौरसिया भन्छन्,‘भनेका बेला बिरामीको बेडमा पुग्न नसक्दा कुरुवाबाट गाली सुन्नुपर्छ। कहिलेकाहीँ त हातपातमै पनि उत्रिन्छन्। गाली बेइज्जती सुनेर बिरामीको उपचार गर्न विवश छौं हामी।’

तर उपचार गर्न आउने बिरामीको संख्या दैनिक औसतमा ३ सय बढी रहेको अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले बताए। आकस्मिक कक्षमा खटिने स्वास्थ्यकर्मीको संख्या पनि बिरामीको संख्याको अनुपातमा निक्कै कम छ। जसका कारण आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीले आवश्यक उपचार समयमै नपाउँदा बिरामीका कुरुवाबाट चिकित्सकहरु दुर्व्यवहार खेप्न बाध्य रहेको डाक्टर चौरसिया बताउँछन्।


उनले भने, ‘इमर्जेन्सी वार्डमा बिरामीको चाप यति धेरै छ कि एउटै बैडमा दुई जनासम्म बिरामी सुताएर उपचार गर्नु परिरहेको छ। कतिपय बिरामी त बेड नपाएर आफैं अन्त जान्छन्। बेड नपाउँदा कुरुवाले हामीलाई तथानाम गाली सुनाउँछन्।’

आकस्मिक कक्षमा जनशक्ति थप्न अस्पताल प्रमुखलाई पटक पटक ध्यानाकर्षण गराउँदापनि कुनै सुनुवाइ नभएको उनी बताउँछन्। उनी भन्छन्,‘अहिलेका मेसु आउनु बित्तिक्कै ४७ जनालाई हटाइदिए। एक त पहिलेदेखि नै जनशक्तिको कमी थियो। त्यसमा झन् मेसुले भएकै जनशक्ति हटाइदिए। अहिले त झन बिजोग छ।’ आकस्मिक कक्षमा जनशक्ति थप्न मेसु हकलाई पटक पटक आग्रह गर्दा पनि वास्तै नगरेको गुनासो उनको छ।

निमित्त मेसु हकका अनुसार आकस्मिक कक्षमा तीन सिफ्टमा गरेर स्वास्थ्यकर्मी खटिन्छन्। बिहानी सिफ्टमा २ जना , दिउँसोको सिफ्टमा १ जना र रात्री सिफ्टमा १ जना चिकित्सक खटिन्छन्। तीन वटै सिफ्टमा २/२ जना परामेडिकल स्वास्थ्यकर्मी पनि खटिन्छन्।

यो जनशक्ति बिरामीको चापको अनुपातमा निक्कै अपुग भएको निमित्त मेसु हकपनि स्विकार्छन् भन्छन्, ‘इमर्जेन्सी वार्डमा मात्र नभई अस्पतालको हरेक विभागमा जनशक्ति अपुग छ। त्यसलाई समाधान गर्न हामीले प्रक्रिया थालिसकेका छौं।’

अस्पताल परिसरमै ९ करोड बढी रकमको लागतमा निर्माण गरिएको ५० बेडको उक्त तीन तल्ले आकस्मिक भवन तामझामसहितको कार्यक्रम गरेर उद्घाटन गरिएको ११ महिना बितिसक्दा पनि प्रयोगमा ल्याइएको छैन। २०७९ असोज १३ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उक्त भवनको उद्घाटन गरेका थिए। उक्त उद्घाटन कार्यक्रममै अस्पतालले ५० लाख रुपैयाँ बढी खर्च गरेको चर्चा पनि चलेको थियो।

हाल सञ्चालनमा रहेको आकस्मिक कक्षमा बेड नपाएर एउटै बेडमा २ जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहदाँसमेत करोडौंको लागतमा निर्मित ५० बेडको आकस्मिक भवन उद्घाटन गरिएको १ वर्ष हुनलाग्दा समेत अस्पताल प्रशासनले प्रयोगमा ल्याएको छैन।

अस्पतालका निमित्त मेसु हकले नवनिर्मित तीन तल्ले आकस्मिक भवन आकस्मिक उपचारका लागि आउने बिरामीका लागि उपयुक्त नभएको कारण प्रयोगमा नल्याइएको बताए। उनले भने,‘हस्पिटल रोड वारी र पारी गरेर दुई ठाउँमा छ। इमर्जेन्सी वार्डको बिरामीलाई अन्य वार्डमा भर्ना गर्नु पर्‍यो भने नवनिर्मित इमर्जेन्सी भवनबाट रोडपारीको भवनमा लग्नुपर्ने हुन्छ। जुन सहज हुँदैन।’ त्यही कारण नवनिर्मित आकस्मिक भवन प्रयोगमा ल्याउन नसकिएको हो।

उक्त नवनिर्मित भवनमा अब आकस्मिक कक्ष नभई सर्जिकल वार्ड सञ्चालन गर्ने तयारीमा अस्पताल प्रशासन लागेको निमित्त मेसु हकले बताए। तर आकस्मिक कक्षका पूर्व इन्चार्ज डाक्टर उदयनारायण सिंहले भने अस्पताल प्रशासनले चाहेमा नवनिर्मित आकस्मिक भवनमै आकस्मिक कक्ष सञ्चालन गर्न सक्ने बताए। उनले भने,‘बहाना त जेपनि गर्न सकिन्छ। इमर्जेन्सी वार्ड चलाउनकै लागि बनाइएको भवनमा अहिले आएर चलाउन सकिँदैन भन्नु बहाना मात्रै हो। देशका अन्य केन्द्रीय अस्पतालहरूमा यही संरचना र ढाँचा बनाइएका भवनमा इमर्जेन्सी वार्ड चलाइएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ । गत १२ भदौदेखि आंशिक रूपमा स्थगित गरिएको यो सेवा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । अस्पतालका निमित्त निर्देशक डा. घनश्याम गुरुङका अनुसार स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम ...
: स्याङ्जाका किशोरीलाई लक्षित गर्दै माघ २२ देखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। स्याङ्जाका ११ पालिकाका ९ हजार ३१९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग गरिने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको हो। एचपीभी अभियानका लागि सरकारले पहिलो पटक खोप लगाउन लागेको हो। यहाँका १० देखि १४ वर्ष ...
। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् । काठमाडौंको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताएका हुन् । ‘महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ ...
। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए । उनले सबै १७ लाख ७० हजार २० मात्रा ...
। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ । अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै ...