मुख्य समाचार
राजनीतिले गाँज्दैछ १०औं राष्ट्रिय खेलकुदलाई
राजनीतिले गाँज्दैछ १०औं राष्ट्रिय खेलकुदलाई

। नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता आउन ६२ दिनजति मात्रै बाँकी छ, तर एकातिर कांग्रेस-एमाले, अर्कातिर माओवादी केन्द्रबीचको राजनीतिक तालमेल नमिल्दा खेलकुद क्षेत्रले त्यसको मूल्य चुकाउने प्रष्टै संकेत देखिएको छ ।

नेपालका लागि यो दुर्भाग्य पहिलो त हुँदै होइन, तर अरु बेला खेलाडीलाई पुरस्कार र सम्मान बाँड्न आतुर हुने राजनीतिक पार्टी र सरकारहरु नयाँ खेलाडीलाई प्रभावकारी खेलकुद मन्च दिन भने पछि हटेका छन् ।


यसको प्रत्यक्ष असर कर्णाली २ मंसिरमा सुरु हुने भनिएको १०औं राष्ट्रिय खेलकुद तयारीले भोग्न थालिसकेको छ, जहाँ केन्द्रमा सरकार बनाउने कांग्रेस र एमाले, अनि प्रदेशको खेलकुद सत्ता सम्हाल्ने माओवादी निकटका पदाधिकारीबीच भित्रभित्र द्वन्द्व कारक छ ।

शुक्रबार दिउँसो खेलकुद मन्त्रालयमा त्यसैको झल्को देखियो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई कार्यकक्षमा डाकेर भने, ‘१५ दिनअगाडि पनि हामीले यसैबारे कुरा गरेका थियौं । तर किन काम अघि बढ्न सकेको छैन ?’



घिसिङले आफू केही प्राविधिक विषय मिलाइरहेको भन्दै अब १०औं खेलकुद लगायतका काम अघि बढाउन अप्ठेरो नरहेको प्रष्टीकरण दिए। उनले १०औं खेलकुदका लागि चाहिने पूर्वाधार लगायतको बजेटका लागि अझै माथिबाट काम नभएको भन्दै उल्टै गुनासो सुनाए। मन्त्रीले उनीसँग चित्त बुझाएनन् ।

‘अब मलाई काम नै चाहियो, कुराले भएन भन्दिएको छु’ चौधरीले भने, ‘खेल समयमा हुनुपर्‍यो। त्यसको तयारीका लागि चाहिने काम समयमा सकिएन भने म एक्सन लिन्छु ।’



भन्नलाई १०औं राष्ट्रिय खेलकुदको कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको भनिएको छ । अन्तिम मस्यौदा तयार भएपछि १० औं राष्ट्रिय खेलकुदको सचिवालयले उक्त मस्यौदा जाँच गरी मन्त्रालय पठाउँछ ।

खेलकुद नियमावलीको आधारमा मन्त्रालयले बोर्ड बैठकमा मस्यौदा पारित गरेपछि मात्रै अर्थ मन्त्रालय पठाउन मिल्छ । तर दलगत किचलोले बोर्ड बैठक नै बस्न सकेको छैन ।

मुखले राष्ट्रिय खेलकुद समयमा नै गर्छौ भन्ने गरे पनि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र सदस्य सचिव टंकलाल घिसिङबीच मतभेदका कारण बोर्ड बैठक बस्न समस्या भइरहेको राखेप उच्च स्रोतले दाबी गर्‍यो ।

स्रोतले भन्यो, ‘बोर्ड बैठक नबसी अर्थ मन्त्रालय जाने भनेको मन्त्रीले बोर्डका सदस्यलाई मस्यौदामा सहमत गराउन सकेको अवस्थामा हो तर अहिले मन्त्री र सदस्य सचिव फरक राजनीतिक पृष्ठभूमिको हुँदा धेरै कुरामा तालमेल मिलेको छैन ।’

मन्त्री चौधरीले राखेपले माग गरेको स्रोतका विषयमा अर्थमन्त्रालयलाई सोमबारसम्म चिठी पठाइसक्ने जानकारी पनि दिए । त्यही गतिमा राखेपबाट काम हुनुपर्ने उनको अपेक्षा पूरा हुने सम्भावना भने कम छ ।

नेपाली खेलकुदको महाकुम्भ मानिने राष्ट्रिय खेलकुद यस वर्ष कर्णाली प्रदेशमा हुने भएसँगै कर्णालीको सुर्खेतलगायत विभिन्न पहाडी जिल्लामा समेत यसका लागि चाहिने विभिन्न पूर्वाधार बनिसकेका छन् भने केही अन्तिम अवस्थामा छन् । दशैं अगाडि सम्पूर्ण पूर्वाधार तयार हुने प्रतिवेदन राष्ट्रिय खेलकुद परिषदले युवा तथा खेलकुद मन्त्रालय पठाइसकेको छ ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको टिमले हालसम्म कार्यविधि पास गर्न सकेको छैन । ठिक यहीँनेर दलहरुको राजनीतिक स्वार्थ जोडिन पुगेको छ ।
राखेप भन्छ, ‘मन्त्रालयले बजेट लगायत काम अघि बढाएन ।’ मन्त्रालय भन्छ, ‘राखेप, अनि कर्णाली प्रदेशबाट हुनुपर्ने कामका लागि तातो लागेको छैन।’ १०औं खेलकुद यिनै दुई निकायबीच टकरावको गुमराहमा पर्न गएको छ।

त्यसैले यसपल्ट कर्णाली प्रदेशमा हुने तय भएको १०औं राष्ट्रिय खेलकुदको तिथि सर्ने लगभग तय भइसकेको छ । १०औं राष्ट्रिय खेलकुदको हालसम्म कार्यविधी पनि पारित हुन सकेको छैन ।



युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको टिमले हालसम्म कार्यविधि पास गर्न सकेको छैन । ठिक यहीँनेर दलहरुको राजनीतिक स्वार्थ जोडिन पुगेको छ ।

खेलकुद प्रतियोगिताका लागि कार्यविधि पास भएर १०औं राष्ट्रियको लागि पोसाक तथा किटको टेन्डर आह्वान हुन्छ । टेन्डर आह्वान गरेको ६५ दिनमा मात्रै पास हुन्छ । टेन्डर पास भएर किट तयार हुँदा १०औं खेलकुद निर्धारित (मंसिर २ देखि ९) मितिमा हुन सम्भव देखिँदैन ।

‘राष्ट्रिय खेलकुद होस् वा अन्य कुनै खेलकुद कार्यक्रम हुन्, यी सबै तालिकामा हुने हुन्, सरकारमा जो आए पनि खेलकुद तालिका तलमाथि हुनुहुँदैन । यसले पछाडिको तालिकामा पनि असर पर्छ,’ कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सन्ज्यालले भने । सरकारको गैरजिम्मेवारपूर्ण ढिलासुस्तीले नेपाली खेलकुदको पूरै तालिका तलमाथि हुने उनले आरोप लगाए ।

यो किचलोमा संघीय सरकारमात्रै मुछिएको छैन, बरु कर्णाली प्रदेशसमेत गाँसिन आइपुगेको छ । मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिवलाई १०० दिनको काउन्टडाउन सुरु गर्न किन हतार गरेको भन्दै सोधेका थिए ।

सार्वजनिक कार्यक्रममा नै उनले उक्त वक्तव्य दिने हुँदा विवादमा पनि तानिए । भदौ १ गते भएको दशौं राष्ट्रिय खेलकुदको परामर्श बैठकमा पनि उनीहरुबीच वादप्रतिवाद भएको थियो ।

राष्ट्रिय खेलकुद अन्योलमा जाँदा युवा तथा खेलकुद मन्त्रालयले भने पर्याप्त चासो देखाउन नसकेको राखेप पक्षको आरोप छ । २ हप्ताअघि दशौं खेलकुदको सुनिश्चितता माग्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीकहाँ गएका खेलाडी संघका पदाधिकारीलाई उनले त्यो इभेन्ट सरेर चैतसम्म सर्न सक्ने बताएका थिए । तर, अनलाइनखबरसँगको कुराकानीमा चौधरीले त्यो सत्य नभएको, बरु असोजसम्ममा पूर्वाधारका सबै काम सकेर मंसिर २ मै प्रतियोगिता गराउन आफू तत्पर रहेको प्रष्टीकरण दिए ।

अब मलाई काम नै चाहियो, कुराले भएन भन्दिएको छु। खेल समयमा हुनुपर्‍यो। त्यसको तयारीका लागि चाहिने काम समयमा सकिएन भने म एक्सन लिन्छु । –युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी
हाल पूर्वाधार र आवास व्यवस्थापनलाई मुद्धा बनाइ प्रश्न उठाइरहेको युवा तथा खेलकुद मन्त्रालय सामू कर्णाली प्रदेश खेलकुद परिषदले ३ वटा एजेन्डा प्रस्तुत गरेको थियो ।

हाल कर्णालीको राजधानी वीरेन्द्रनगरमा दैनिक ३ हजारदेखि ३५सय मानिसलाई सेवा दिन सक्ने होटलहरु रहेका छन् । त्यसमा खेल तालिकालाई व्यवस्थित गर्ने हो भने १०औं राष्ट्रिय खेलकुदमा आवास समस्या नहुने कर्णाली प्रदेशका सदस्य सचिव सञ्ज्यालले अनलाईनखबरसँग बताए ।

खेल तालिका मिलाएको अवस्थामा कर्णाली प्रदेशमा आवासको पनि समस्या नहुने गरि योजना तयार गर्दा पनि संघीय सरकारले अलमलाउन खोजिरहेको सदस्यसचिव सञ्ज्यालले आरोप लगाए ।

हाल कर्णालीमा सदस्य सचिव रहेका सन्ज्याल नेकपा माओवादीबाट रहेका छन् । उनको कार्यकाल यही पुस १५ गते सकिन्छ ।

‘हाल संघीय राजनीतिले नै १०औ खेलकुद प्रभावित बनिरहेको छ । पूर्वाधार तयार भइसकेको छ,’ उनले भने, ‘आवास व्यवस्थापनमा पनि हामीले खेलको तालिका उद्घाटनभन्दा १ हप्ताअगाडी सुरु गर्ने हो भने ५० प्रतिशत खेलाडी अगाडी नै सकेर घर फर्किइसक्छन् ।’

यसरी व्यवस्थापन गर्दा होटल र भेन्यु व्यवस्थापनमा समस्या नहुने सञ्ज्यालले बताए । ३ हजार बसोबास क्षमता भएको सुर्खेतले दैनिक १५ देखि १८ सय खेलाडी राम्रोसँग धान्न सक्ने उनले बताए । आधिकारिक व्याक्ति सहित जोड्ने हो भने दैनिक २५ सय व्याक्तिलाई सुर्खेतमा बस्न समस्या नहुने सदस्य सचिव सञ्ज्यालले भने ।

यो पटक १०औं राष्ट्रिय खेलकुदमा भेन्युका कारण २४ वटा मात्रै खेल गराइने भन्ने तालिका अगाडि नै सार्वजनिक भइसकेको छ ।

राखेपले प्रस्ताव गरेको ३५ खेल मध्ये २४ खेल कर्णाली प्रदेशमै भित्रै आयोजना गर्ने गरी मिति र स्थान राखिएको छ । त्यसमा १७ खेल सुर्खेतमै र बाँकी ७ खेल कर्णाली प्रदेशको अन्य जिल्लामा खेलाउन प्रस्ताव गरिएको छ । सुर्खेतबाहिर पनि हक्की हुम्लामा गर्ने भनिएको छ।


कालुङचोक क्रिकेट मैदान ।
त्यस्तै कबड्डी दैलेखको कर्भड हल, फुलकन्ट्याक कराँते कालिकोटमा, कराते जुम्ला कर्भड हल, आइटीएफ तेक्वान्दो रुकुम पश्चिम कर्भड हल, टेबल टेनिस सल्यान कर्भड हल र बुद्धिचाल (चेस) जाजरकोटको नगरपालिका हलमा गर्ने गरि तय भएका छन् । यसले सुर्खेतमा मात्रै आवास थेग्न गाह्रो नपर्ने गरी र अन्य क्षेत्रमा पनि आवास र पूर्वाधार हुँदा कर्णाली प्रदेश खेलकुद परिषदले खेल विभाजन गरेको छ ।

१०औं राष्ट्रिय मंसिर २ देखि ९ गतेसम्म तय भए पनि केही खेलहरु भने कात्तिक २७ गतेबाट औपचारिक सुरु गर्ने प्रस्ताव गरिएको छ । कार्तिक २७ गतेदेखि गर्न प्रस्तावित खेलहरुमा महिला फुटबल, बास्केटबल महिला/पुरुष, जुडो, उसु, तेक्वान्दो र महिला/पुरुष हक्की रहेका छन् ।

त्यस्तै कात्तिक २८ गतेदेखि महिला/पुरुष ह्याण्डबल तथा २९ गतेदेखि महिला/पुरुष क्रिकेट, फेन्सिङ तथा मंसिर १ गते महिला भलिबल र फुलकन्ट्याक्ट सुरु गर्ने प्रस्ताव गरिएको हो । हरेक कुरा तय हुँदै आए पनि अन्तिम निर्णय युवा तथा खेलकुद मन्त्रालयकै हुन्छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले साउनमा यहाँका पूर्वाधार निरीक्षण गरेका थिए।

हाल पूर्वाधार दशौं अघि सक्किने भन्दै राष्ट्रिय खेलकुद परिषदको इन्जिनियरिङ टिमले भदौ २० गते अन्तिम प्रतिवेदन दिइ सकेको छ भने कर्णाली प्रदेश खेलकुद परिषदले आवास समस्या समाधानको बाटो दिँदा समेत यसमा संघिय सरकार मौन रहेको परिषद्को आरोप छ ।

कर्णाली प्रदेश भौगोलिक र खेलकुद पूर्वाधारको हिसाबले पनि अन्य प्रदेशभन्दा पछि विकास भएको प्रदेश हो । यसै पनि स्वभाविक हो कि यहाँ खेलकुद पूर्वाधार कम छन् । त्यसैमाथि पनि भौगोलिक कठिनाइ कर्णालीको अर्को चुनौती हो । खेलकुद प्रतियोगिता गराउन पूर्वाधार, आवास क्षेत्र यी सबै समस्याको वाबजुत पनि २ वर्ष अगाडि १०औं खेलकुदको जिम्मा लिएको कर्णालीमा २४ खेल मात्रै गराउन सम्भव भयो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले प्रस्ताव गरेको खेलतालिका पोखरामा नवौँमा समावेश ३६ खेल नै सूचीकृत थिए । जसमा प्याराग्लाइडिङ पनि राखिएको छ । जुन कर्णाली प्रदेशमा सम्भव भएन । तर, ३६ मा २४ बाहेकका बाँकी खेल कहाँ हुने भनेर ठाउँ उल्लेख गरिएको छैन । जसमा आर्चरी, फेन्सिङ, गल्फ, जिम्न्यास्टिक, टेनिस, सफ्ट टेनिस, स्क्वास, सुटिङ, साइक्लिङ, ट्रायथलन, सेपाकताक्रो र प्यारग्लाइडिङ खेल छन् । यी खेल कुन प्रदेशमा आयोजना गर्न वा फरक किसिमले आयोजना गर्ने भन्ने विषयमा कुनै टुंगो लागेको छैन ।

ओलम्पिकमा खाता खुल्यो, अब यसलाई संस्थागत गर्नुपर्छ' – Online Khabar

कर्णाली गराउन नसकिने खेलका पूर्वाधार सीमित प्रदेशमा मात्र छ । स्क्वास र टेनिसको पूर्वाधार ललितपुर र पोखरामा छ भने सुटिङको पूर्वाधार काठमाडौं नेपालगञ्ज र विराटनगरमा छ ।

गल्फ काठमाडौं पोखरा र धरानमा खेलाउन सकिन्छ । यस्तै आर्चरी र पाराग्लाइडिङ गण्डकी प्रदेशमा खेलाउन सकिन्छ । यस्तै ट्रायथलन पोखरामा हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...