। २०८० जेठ २८ गते बिहान प्युठानका रामप्रसाद खड्काको मोबाइलमा साउदीबाट तारन्तार फोन आइरह्यो । फोन गर्ने उनकै छोरा हिक्मत खड्काका साथीहरु थिए ।
साथीले सुरुमै घटनाबारे बताउन सकेनन् । धेरैबेरको संवादपछि मात्र हिक्मत मृत्युको खबर बाबुलाई सुनाए । साथीहरुले परिवारलाई बताए अनुसार उनी आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए । ‘त्यसदिन उ काममा नगएर कोठामै बसेको रहेछ । साथीहरु कामबाट फर्कंदा उसको मृत्यु भइसक्या रै’छ ।’
बाबुका अनुसार घटनाको तीन महिनासम्म उनी परिवारसँग नियमित सम्पर्कमा थिएनन् । बाबुका अनुसार पछिल्लो समय छोरा–बुहारीको सम्बन्ध सुमधुर थिएन । ‘कहिलेकाहीं मात्र फोन गर्थ्यो, धेरै कुरा गर्दैनथ्यो’ उनी भन्छन्, ‘हामीले घर आऊ, सबै ठिक हुन्छ भनेका थियौं । उसले पनि छिट्टै घर आउँछु भन्थ्यो तर अर्को बाटो रोज्यो ।’
***
२०७८ फागुनमा मलेसियामा कैलालीका जीतबहादुर कुँवर कार्यस्थलमा लडिरहेको अवस्थामा फेला परे । रातमा सेक्युरिटी गार्डको ड्युटी गरिरहेका उनी बिहान मृत भेटिएका थिए । उनको शव छेउमा विषको बोत्तल भेटिएको थियो ।
उनका दाजु शिवबहादुर कुँवरका अनुसार उनले एक जना साथीसँग मिलेर होटलमा लगानी गरेका थिए । परदेशमा कमाएको पैसा र ऋणधन गरेर साथीकै विश्वासमै १० लाख लगानी लगाए । तर ६ महिना पनि राम्रोसँग चल्न नपाउँदै रेस्टुरेन्ट बन्द भयो । पछि साथी पनि सम्पर्कविहीन भए ।
‘पैसा डुबेपछि ऋण बढेको बढ्यै भयो’ दाइ भरतबहादुर कुँवरले भने, ‘काममा पनि दुःख मात्रै छ, पैसा छैन भन्थ्यो । ऋण बढ्दै गएपछि तिर्न नसक्ने अवस्थामा उ पुग्यो ।’ घटना हुनु केही महिनाअघि फोनमा कुरा गर्दा भाइ तनावपूर्ण अवस्थामा देखिए पनि आफैंलाई हानि गर्ला भन्ने नसोचेको उनी सुनाउँछन् ।
रोजगारीमा खोजीमा विदेश गएका नेपाली श्रमिकले आफ्नै ज्यान लिएका यी प्रतिनिधि घटना हुन् । प्रत्येक वर्ष वैदेशिक रोजगारीमा पुगेका श्रमिकहरुले आत्महत्याबाट जीवन गुमाइरहेका छन् । वैदेशिक रोजगारमा जानेहरुको संख्या बढेसँगै आत्महत्या गर्ने श्रमिकको संख्या बढिरहेको तथ्यांकले देखाउँछ ।
वैदेशिक रोजगार बोर्डका अनुसार प्रत्येक वर्ष वैदेशिक रोजगारीमा पुगेर ज्यान गुमाउने श्रमिकमध्ये १५ प्रतिशत आत्महत्या छ । यो क्रम हरेक वर्ष बढ्दो छ । प्राकृतिक मृत्यु, हृदयघात, सडक दुर्घटना जस्ता मृत्युका कारण छन् ।
बोर्डका अनुसार वितेको तीन वर्षमा ४ हजार २०० श्रमिकको परदेशमा ज्यान गुमाए । जसमा ४३३ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा १०५ जना श्रमिकले आत्महत्या गरे भने आर्थिक वर्ष २०७९/८० मा १४४ जनाले आत्महत्या गरे । आर्थिक वर्ष २०८०/८१ मा भने यो संख्या १८४ पुगेको बोर्डको तथ्यांक छ ।
भविष्यको खोजीमा पुगेका नेपाली श्रमिक ज्यान गुमाउने क्रम बढिरहेको बताउँछन्, बोर्डका निर्देशक टीकाराम ढकाल । ‘अवस्था कस्तो छ भने श्रमिकले आफ्नो जीवन आफैं सिध्याइरहेका छन्’ उनले भने, ‘सुखी जीवन बिताउने रंगीन सपना बोकेर हिंडेका उनीहरु बन्द बाकसमा फर्कन्छन् ।’
मलेसियामा धेरै
वैदेशिक रोजगारीमा गएर आत्महत्या गर्नेमा सबैभन्दा धेरै मलेसियामा छन् । त्यसपछि खाडी मुलुकमा छन् । पछिल्लो तीन वर्षमा मलेसियामा मात्र १४० जना श्रमिकले आत्महत्या गरेका छन् । त्यस्तै दोस्रोमा साउदी छ । साउदीमा ११३ जनाले आत्महत्या गरेका छन् ।
त्यस्तै यूएईमा ८०, कतारमा ७६ र कुवेतमा ७६ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । नेपाली श्रमिकको संख्या धेरै भएकाले पनि यही देशमा आत्महत्या गर्ने श्रमिकको संख्या धेरै भएको सरकारी अधिकारीहरु बताउँछन् ।
कारणः एक्लोपना र डिप्रेसन
वैदेशिक रोजगारीमा गएका श्रमिकको आत्महत्याको कारण एक्लोपन र डिप्रेसन भएको विभिन्न अध्ययनले देखाएका छन् । सम्झौता भन्दा न्यून ज्याला, श्रम शोषण, कठोर श्रम लगायत कारण श्रमिकमा मानसिक तनाव देखिने सरोकारवाला बताउँछन् ।
‘परदेशमा भनेजस्तो पारिश्रमिक पाउँदैनन्’ वैदेशिक रोजगारीको क्षेत्रमा मनोपरामर्शकर्ताको काम गरिरहेकी सुशीला आचार्य भन्छिन्, ‘श्रम पनि कठोरपूर्ण हुन्छ । त्यसैमा रोजगारदाताको गाली र धाकधम्की सहनुपर्छ । श्रम शोषणमा परे पनि आफ्ना कुरा राख्न सक्दैनन् ।’ उनका अनुसार यस्तोमा पर्याप्त आराम पनि पाउँदैनन् । जसले उनीहरुमा मानसिक समस्या देखिन थाल्छ ।
अर्काे ठूलो कारण पारिवारिक विश्रृंखलता भएको उनी बताउँछिन् । ‘परदेश पुगेका कतिपय श्रमिकको परिवारसँग सम्बन्ध बिग्रन थाल्छ, मनमुटाव बढ्छ’ उनले भनिन्, ‘यसले उनीहरुमा मानसिक रूपमा समस्या बल्झाउँछ र डिप्रेसनको अवस्थासम्म पुर्याउँछ ।’
आचार्यका अनुसार श्रमिकहरुले आफूले झेलिरहेका समस्याबारे कतै खुल्न सक्दैनन् । यस्तोमा उनीहरु एक्लोपनबाट गुज्रन्छन् । फलतः एक्लोपना र डिप्रेसन आत्महत्याको कारण बन्न पुग्छ ।
वैदेशिक रोजगार मामिलाका विज्ञहरु भने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउनुपर्ने जोड दिन्छन् । त्यसमा श्रमिकलाई तनाव व्यवस्थापन र आइपर्न सक्ने मानसिक समस्यासँग जुध्न चाहिने कुराहरु सिकाएर पठाउनुपर्ने उनीहरु बताउँछन् । भन्छन्, ‘विदेश जानुपूर्व श्रमिकलाई आर्थिक, पारिवारिक र स्वास्थ्यका कारण निम्तिन सक्ने समस्यासँग फेस गर्ने कुराहरु पहिले नै सिकाएर पठाउनुपर्छ ।’