मुख्य समाचार
खेल फेरियो, तर नेपालको ब्याटिङ शैली फेरिएन
खेल फेरियो, तर नेपालको ब्याटिङ शैली फेरिएन

। तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा सोमबार राति क्यानडाविरुद्धको खेलमा नेपाल १०३ रनले पराजित भयो । नेपालको पराजयको कारण यस पटक पनि खराब ब्याटिङ नै रह्यो ।

नेपालले गत जुनमा भएको आईसीसी टी–२० विश्वकप मा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्डससँगको खेल पनि खराब ब्याटिङकै कारण गुमाएको थियो ।




सोमबार क्यानडाविरुद्धको खेलमा नेपालको ब्याटिङ र खेलाडीको खेल कौशलमा कुनै सुधार देखिएन । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो ।

एक समय २५.१ ओभरमा ८०–७ को दयनीय अवस्थामा पुगेको नेपाल तल्लो क्रममा ब्याटिङमा आएका बलरहरुले रन जोडेपछि लज्जास्पद हारतबाट जोगिएको थियो ।



किंग सिटीमा टस हारेर ब्याङिमा आएका क्यानडाका ओपनर आरोन जोनसन र नवनीत धालिवालले तीव्र गतिका बलरलाई सहयोगी पिच र नयाँ बलमा जोखिम उठाएनन् ।

स्पिनर ललित राजवंशीले सातौं ओभरको पहिलो बलमा जोनसन १० रनमा कट एण्ड बोल्ड हुन पुगे । तर जोनसन उक्त क्याच भन्दा पहिला बल जमिनमा ड्रप भएको भन्दै पभेलियन फर्किन मानेका थिएनन् । थर्डअम्पायर नहुँदा अम्पायरको निर्णय मान्नुको विकल्प थिएन ।

क्यानडाका ब्याटरले सुरुवातमा रन भन्दा पनि विकेट नदिने सोचमा खेले । १७ औं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेले परगत सिंहलाई १७ रनमा एलबीडब्लू आउट गर्दा क्यानडा ५५–२ को अवस्थामा थियो ।

धालिवाल र हर्ष थाकेरले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । धालिवाल ९० बलमा ४ चौकासहित ४८ र हर्ष ६१ बलमा १ चौकासहित २७ रनमा आउट हुँदा क्यानडा ३५.३ ओभरमा १२६–४ को अवस्थामा थियो । त्यतिबेलासम्म खेल पुरै नेपालको नियन्त्रणमा थियो ।

डेथ ओभरमा चुटिएको नेपाल

४० ओभरमा क्यानडा १४९–५ को अवस्थामा हुँदा नेपालले २०० रनको आसपासमा रोक्न सक्थ्यो । तर क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनायो ।

४० ओभरअघि २२ बलमा २१ रन बनाएर खेलेका कप्तान निकोलस किर्तोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । पाँच विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका हेलिगरले २७ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे ।

सदाबहार नेपालको कमजोर डेथ ओभर बलिङको भरपुर फाइदा उठाउँदै क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोडेको थियो । दुई बायाँ हाते ब्याटर किर्तोन र साद विन जाफर हुँदा अफ स्पिन गर्ने रणनीतिमा नेपालका कप्तान रोहित पौडेलले ४६ औं ओभरमा १९ रन र दीपेन्द्र सिंह ऐरीले ४७ औं ओभरमा १७ रन खर्चेका थिए । डेथ ओभरमा तीन स्पिनरले ७ ओभरमा कुल ७१ रन दिए ।

नेपालको हारको एउटा मुख्य कारण यही थियो । खेलपछि कप्तान रोहित पौडेलले पनि डेथ ओभर हारको एउटा कारण रहेको प्रतिक्रिया दिए ।

‘हामीले राम्रो बलिङ गरेनौं । नयाँ बल र २५/३० ओभरमा हामीले अनुशासित बलिङ गरेका थियौं । त्यसपछि राम्रो भएन’, रोहितले भने ।

क्यानडाका दुई तीव्र गतिका बलर हेलिगरले ५ र अखिल कुमारले २ गरी ७ विकेट लिए । तर नेपालका तीन तीव्र गतिका बलरले तीन मात्रै विकेट लिन सके । करण केसी ६ ओभरमा २४ रन खर्चेर विकेट विहीन रहे, सोमपाल कामीले ८ ओभरमा ४० रन खर्चेर २ विकेट तथा गुलसन झाले ५ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।



कुशल भुर्तेल, भीम सार्की र विकेटकिपर आसिफ शेख बाहेक अन्य सबै ८ बलरले बलिङ गरेका थिए ।

उही ब्याटर, उस्तै ब्याटिङ

ओपनर कुशल भुर्तेलले निरन्तर खराब लयका बाबजुद मौका पाइरहेका छन् । तर टिमको विश्वासमा कुशलले फेरि न्याय गर्न सकेनन् ।

हेलिगरको गुड लेन्थ बल खेल्न नसक्दा चौथो ओभरको पाँचौं बलमा उनी १० बल खेलेर १ रनमा एलबीडब्लू आउट हुन पुगे ।

आसिफ शेख २० रन तथा रोहित डीप प्वाइन्ट परगत सिंहबाट ५ रनमा क्याच आउट हुँदा नेपाल ४३–३ को अवस्थामा पुग्यो ।

त्यसपछि भीम सार्की र दीपेन्द्रबीच राम्रो साझेदारी भएको खण्डमा मात्रै नेपाल जितसम्म पुग्नसक्थ्यो । किनभने त्यसपछि सबै हिटर वा बलर मात्रै थिए ।

तीव्र गतिका बलर अखिल कुमारको बलमा भीम १८ रनमा एलबीडब्लू र आईपीएल अनुभवी स्पिनर अंश पटेलको बलमा स्वीप खेल्नेक्रममा दीपेन्द्र ८ रनमा विकेटकिपर श्रेयस मोभ्भाबाट क्याच हुँदा नेपाल १७.२ ओभरमा ६२–५ को नाजुक अवस्थामा पुग्यो । थोरै आशा कुशल मल्ल र गुलसन झामा थियो । एउटा राम्रो साझेदारी हुन सकेमा सोमपाल र करणले अन्त्य गर्नसक्थे ।

ओडीआईका भरपर्दा आरिफ शेखलाई बाहिर राख्नु नेपालको आश्चर्यजनक निर्णय थियो । करण केसी र गुलसन झा दुबैलाई निरन्तरता दिँदा आरिफले स्थान बनाउन सकेका थिएनन् ।

कुशल मल्ल ४१ बलमा १२ रनमा क्याच र सोमपाल कामी २५ बलमा ६ रनमा आउट भएपछि नेपाल २५.१ ओभरमा ८०–७ को दयनीय अवस्थामा पुगेको थियो । त्यसपछि सन्दीप लामिछानेले २२, गुलसनले १५ र करण केसीले २७ रन जोड्दै नेपालको फराकिलो हारको अन्तर घटाए ।

टी–२० विश्वकपमा टिममा नरहेका भीम सार्कीबाहेक अन्य सबै नेपालको प्लेइङ–११ मा थिए ।

टी–२० विश्वकपको अन्तिम खेलमा बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याउनेक्रममा ८५ रनमा अल आउट हुँदाको खेलमा भन्दा यसपटक नेपालले तीन परिवर्तन गरेको थियो ।

अनिल साहको स्थानमा भीम सार्की, सन्दीप जोराको स्थानमा करण केसी, अभिनाश बोहराको स्थानमा ललित राजवंशी खेलेका थिए ।

क्रिजमा धैर्यता देखाउन नसक्नु, खराब सट छनोट र जिम्मेवारीको कमी नेपाली ब्याटरले रन बनाउन नसक्नुका कारण थिए ।

पहिलो इनिङमा क्यानडाका शीर्ष चार ब्याटरले २०२ बल खेल्दै किर्तोन र हेलिगरलाई राम्रो अन्त्य गर्ने वातावरण बनाएका थिए । आफूहरुले खराब ब्याटिङ गरेको रोहित बताउँछन् ।



‘केही चुनौती भएपनि विकेट राम्रो थियो । बल ब्याटमा आइराखेको थियो । ओडीआईमा क्रिजमा समय बिताउन सक्नुपर्छ । अनि मात्रै बल मिडिल ब्याटमा आउँछ । तर हामीले त्यो अप्लाई गर्न सकेनौं । खराब ब्याटिङको कारण पनि त्यही हो’, रोहितले भने ।

पहिलो खेलमा हारपछि नेपालले बुधबार ओमानविरुद्ध टोलीमा केही परिवर्तन गर्ने सम्भावना छ । कप्तान रोहित पनि यो कुरा स्वीकार गर्छन् ।

‘हामीले टोलीमा भएका विकल्पहरु हेर्ने छौं । तीन खेल बाँकी छन्, हामी राम्रो पुनरागमन गर्न चाहन्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...