भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क
भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

। भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।

काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।



परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ । त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने उनले बताए ।






‘एप बनाएर टिकट काट्ने व्यवस्था गर्न लागेका थियौं, सम्भव भएन,’ उनले अगाडि भने, ‘अब तोकिएको वेबसाइटमार्फत विहान ११ बजेपछि प्रत्येक आधा घण्टामा १०० जनाका लागि टिकट बुक गर्ने गरी व्यवस्था मिलाउन लागेका छौं ।’

भोलिको हकमा वेबसाइटमार्फत सम्भव नभए धरहरा परिसरमै भौतिक रुपमा टिकट काट्ने व्यवस्था मिलाउने परियोजना प्रमुख अधिकारीले बताए ।

अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।



धरहरा चढ्नेहरुले माथि पुग्न र तल झर्न दुई वटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउने छन् । धरहरा चढेकाहरुले करिब १० मिनेट मात्रै यसको बार्दली क्षेत्रमा बिताउन पाउनेछन् । फोटो भिडियो खिच्न समेत दिइने परियोजना प्रमुख अधिकारीले बताए ।

शहरी विकास मन्त्रालयले धरहरा सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि बनाउँदै गर्दा मन्त्रिपरिषद्ले धरहरा खुला गर्ने निर्णय गरेकाले राम्रो तयारी भने हुन पाएको छैन ।

२०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो । नयाँ धराहरा बनेपछि काठमाडौं महानगरपालिकाले संघीय सरकारसँग धरहरा चलाउन ठेकेदारलाई जिम्मा दिनुको फेरि आफैंलाई यसको जिम्मा दिन माग गरेको थियो । तर, संघीय सरकार अब महानगरपालिकालाई धरहरा चलाउन र व्यवस्थापन गर्न दिने पक्षमा देखिएको छैन । २७ भदौको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरिसकेको छ ।



बाहिरबाट हेर्दा पुरानै स्वरुपको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुला रुपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ ।

धरहरामुनि तीनतले भूमिगत पार्किङ बनेको छ । यहाँ प्रशासनिक भवन र संग्रहालय तथा बगैंचा समेत बन्दैछ ।

अहिलेसम्म धरहरा निर्माणको ९५ प्रतिशत मात्रै काम सकिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा आधा काम पनि नसकिंदै धरहराको उद्घाटन गरेका थिए ।



उद्घाटनपछि पनि निर्माण चलिरहेकाले धरहरा चढ्नका लागि खुला गरिएको थिएन । फेरि प्रधानमन्त्री भएपछि ओलीले काम नसकिएपनि धरहरा चढ्न पाउने प्रबन्ध मिलाउने गरी मन्त्रिपरिषदबाट निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ ...
। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने पनि बताए । संविधान दिवसको सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।
। नेपाली कांग्रेसले ७ असोजदेखि सुरु हुने पार्टीको १०० दिने विशेष अभियानमा खटिने प्रतिनिधिको काम निश्चित गरेको छ । अभियानमा जिल्लाजिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरुलाई बुधबार केन्द्रीय कार्यालयमा अभिमुखीकरण गरिएको छ । महामन्त्री गगन थापाले अभियानमा खटिने प्रतिनिधिहरुलाई उनीहरुको जिम्मेवारीबारे जानकारी गराएका छन् । १६ पुसमा सकिने अभियान सकेर फर्किँदा प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिनिधिले सम्मेलन ...
चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा मानव आधार शिविरनिर्माण गर्ने तयारी गरेको छ । उक्त मानवीय आधार सिविरको नाम लूनर बेस वा मून बेस हुनेछ । चीनको अन्तरिक्ष एजेन्सी CNSA (चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन) ले यस विषयमा आफ्नो योजना सार्वजनिक गरिसकेको छ । जसअनुसार उक्त मून बेस दुई चरणमा निर्माण हुनेछ। पहिलो २०३० मा र दोस्रो २०३५ ...