मुख्य समाचार
पुनरागमन प्रदर्शनका बाबजुद हारेको नेपाल
पुनरागमन प्रदर्शनका बाबजुद हारेको नेपाल

। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो ।

मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो ।




टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ओडीआईमा १८.८३ औसतमा रन बनाएका छन् । सन् २०१७ मा केन्याविरुद्ध डेब्यू गरेका उनी २०२३ मे मा एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध बेन्चमै थिए ।

तर दीपेन्द्रलाई समेत बेञ्चमा राखेका प्रशिक्षक देशाईले अर्जुन साउद र आरिफ शेखलाई ओपनिङ, अनि शीर्षक्रमका ब्याटर अनिल साहलाई फिनिसरको जिम्मेवारी दिए ।




ओमानका प्रमुख बलर बिलाल खान र अलराउण्डर जिशान मकसुद चोटका कारण उपलब्ध नहुनु नेपाललाई अतिरिक्त फाइदा थियो ।

मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङ थालेको नेपाली ब्याटरमा पहिलो हारको दबाब ब्याटमा स्पष्ट देखिन्थ्यो ।

कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा अर्जुन साउद ५ रनमा सेकेन्ड स्लिपमा फयाज बटबाट समातिन पुगे । अफस्टप भन्दा थोरै बाहिरको बल अर्जुन रोक्न चाहन्थे, तर एज लागेर क्याच भएपछि लामो समयपछि पाएको मौका सदुपयोग गर्न सकेनन् । १० ओभरमा नेपाल १९–१ को अवस्थामा थियो ।

मिडियम पेसर सोयब खानको अफ साइडको बल डीप प्वाइन्टमा खेल्ने धुनमा आसिफ शेख कश्याप प्रजापतिको उत्कृष्ट क्याचको शिकार भए । २८ बलको सामना गरेका उनी २ चौकासहित ११ रनमा पभेलियन फर्किए । भीम सार्की ३२ बलमा १ चौकासहित ११ रनमा क्याच आउट भएपछि नेपाल १३.१ ओभरमा ३१–३ को अवस्थामा थियो ।

दबाबमा खेलेको नेपालको सुरुवात सुस्त थियो । तीन विकेट गुमेपछि आरिफ शेख र रोहित पौडेल रन भन्दा पनि विकेट बचाउनतर्फ लागे । १३.१ देखि २५ ओभरसम्म नेपालले एक चौका र एक छक्का मात्रै बाउन्ड्रीको रुपमा हान्यो ।

नेपाल २५ ओभरमा ६२–३ को संघर्षपूर्ण अवस्थामा थियो ।

रोहितले २६ औं ओभरको पाँचौं बलमा अकिब इलियासलाई लङअफमा छक्का र २८ ओभरमा एक चौका हाने ।

कलिमुल्लाहको ३२ औं ओभरको अन्तिम लेग साइडको खराब बललाई रोहितले डीप स्क्वायर लेगमा छक्का हान्दै नेपालको १०० रन कटाए ।

ओडीआईका भरपर्दा ब्याटर आरिफ र रोहितको साझेदारीले विस्तारै नेपाल खेलमा फर्किदै थियो । तर ३७ औं ओभरको तेस्रो बलमा सकिल अहमदको बलमा एज लागेर आसिफ ८८ बलमा १ चौकासहित ३५ रनमा क्याच आउट भए । उनी आफ्नो ओडीआई करिअरको हजार रन पूरा गर्न १ रनले चुके । तर दबावपूर्ण अवस्थामा जुन धैर्यताका साथ खेले, उनी ओडीआईमा बेन्चमा बस्ने खेलाडी होइन भन्ने देखाए ।

आरिफ र रोहितले चौथो विकेटका लागि १४१ बलमा ८३ रनको साझेदारी थियो । उनी आउट हुँदा नेपाल ३६.३ ओभरमा नेपाल ११४–४ को अवस्थामा थियो ।

बल केही सुस्त देखिएपनि राम्रो अन्त्य गर्न सकेको खण्डमा २०० रनको योगफलमा पुग्ने बलियो जग तयार भएको थियो ।

त्यसपछि गुलसन झा र रोहितले ओमानको स्पिन बलिङविरुद्ध आक्रामण गर्न थाले । ३८ औं ओभरको तेस्रो बलमा जय ओडेरालाई चौका हान्दै रोहितले ६४ बलमा अर्धशतक पूरा गरे । यसै ओभरको अन्तिम बलमा रोहितले छक्का हानेका थिए ।

तर रोहित अकिब इलियासको ४२औं ओभरको पहिलो बलमा स्लग स्वीप खेल्ने धुनमा लिडिङ एज लागेर ६० रनमा विकेटकिपर अथभलेबाट समातिन पुगे । उनले ७२ बलमा २ चौका र ४ छक्का हाने । सेट भएर आक्रामक खेल्ने क्रममा उनी आउट हुनु नेपाललाई केही ठूलो धक्का थियो ।

तर गुल्सनले ४६ औं ओभरमा लेफ्टी हुनुको फाइदा उठाए । लेफ्टीलाई लेग स्पिन बलर खेल्न निकै सहज हुन्छ । त्यसैले अकिब इलियासको ४६ औं ओभरमा ओभरमा दुई चौका र छक्कासहित २३ रन जोडेपछि नेपाल १९०–६ को अवस्थामा पुग्यो ।

तर अर्को ओभरमा उनी फयाज बटमा क्याच आउट भए । ३५ बलको सामना गरेका उनले ३ चौका र ५ छक्कासहित ५३ रन जोडेका गिए ।

सोमपाल कामीले अन्त्यमा दुई छक्का हानेपछि नेपाल २२०–९ को योगफल तयार पार्‍यो ।

नेपाली ब्याटरले संघर्ष गरेपनि रन बनाउन त्यो विकेटमा त्यति गाह्रो थिएन । अनि ओमानको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोर थियो । त्यसैले ओमानलाई सुरुदेखि दबावमा राख्न पावर प्लेमा नेपाललाई दुई विकेट लिन आवश्यक थियो ।



तर पावर प्लेमा प्रमुख दुई बलर सोमपाल र करण पावरप्लेमा विकेट लिन चुके । चार बलर प्रयोग गरेको नेपालले विकेट लिएन, ५० रन खर्चियो ।

जतिन्दर सिंह र कश्याप प्रजापतिले १६ ओभरमा ७५ रन जोड्दै सुरुवातमै नेपालबाट जित टाढा लगे । सन्दीपले १७ औं ओभरको पहिलो बलमा जतिन्दरलाई ४१ रनमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाए ।

आरिफले २० औं ओभरको दोस्रो बलमा मिड विकेटमा भाइ आसिफबाट कश्यापलाई ३६ रनमा क्याच गराएपछि थोरै आशा फर्काए ।

गुलसनको अफ साइटको बलमा अकिब मिडअफमा करण केसीबाट २९ रनमा हुँदा ओमान २४.३ ओभरमा ११३–३ को मजबुत स्थितिमा थियो । तर मध्यक्रम र तल्लोक्रममा भरपर्दा ब्याटर थिएनन् ।

आयन खानलाई गुलसनले नै ९ रनमा आउट गरे । करणको ३४ औं ओभरको पहिलो बलमा विकेटकिपर अर्जुन साउदले एज लागेको भन्दै प्रतिकलाई आउटको अपिल गरे । प्रतिक अथभले आउट हुँदा ओमान १५९–५ को स्थितिमा थियो ।

४८ औं ओभरको पहिलो बलमा जय ओडेरलाई ५ रनमा क्याच गराउँदै गुलसनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक ५ विकेट पूरा गरे । साथै नेपालबाट ओडीआईमा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने पहिलो खेलाडी पनि बने ।

ओडेरा आउट हुँदा ओमानलाई जितका लागि १७ बलमा १० रन चाहिएको थियो र, हातमा १ विकेट मात्र थियो । त्यो ओभरको बाँकी बलमा गुल्सनले रन दिएनन् भने ४९औं ओभरमा करणले मात्र २ रन दिएपछि ओमानलाई अन्तिम ६ बलमा ८ रन चाहिएको थियो ।

सोमपाल कामीको अन्तिम ओभरको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुल्दै सकिललाई स्ट्राइक दिए । तर दोस्रो बल टप एज लागेर विकेटकिपर नजिकैबाट चौका गएपछि नजिक आइसकेको जित फेरि नेपालबाट टाढियो ।

तेस्रो बल डट भयो चौथो बलमा ओमानले एक रन बटुल्यो । अन्तिम दुई बलमा दुई रन चाहिँदा सोमपालको लो फुलटस बललाई डीप मिडविकेटमा कहिमुल्लाहले चौका हान्दै ओमानलाई रोमान्चक जित दिलाए ।

गुल्सनको दिन

ब्याटिङ र बलिङ दुबैमा नेपालको सुरुवात राम्रो रहेन । तर पूनरागमन उत्कृष्ट थियो । गुलसन झाको दिन थियो ।

उनले गत जुनमा आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम दुई बलमा दुई रन जोड्न नसक्दा ब्यहोरेको १ रनको हारको पीडामा राहत दिनभरपूर्ण प्रयास गरे । तथापि नेपाल १ विकेटले हार्न पुग्यो ।

सुरुवाती ३० ओभरसम्म विकेट गुम्ने दबाबमा बढी डट खेल्नु, पावर प्लेमा विकेटविहीन हुनु र प्रमुख बलर सोमपाल र सन्दीपले अपेक्षा अनुसार प्रदर्शन नगर्नुका साथै कमजोर फिल्डिङ नेपालका हारका कारण हुन् ।

सन्दीपले १० ओभरमा ४४ रन खर्चिदा १ विकेट लिए । सोमपाल कामीले ७.५ ओभरमा ६० रन खर्चिदा विकेट लिन सकेनन् ।

करणले ओमानविरुद्ध १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए । १० ओभरमा २ मेडनसहित ४७ रन खर्चिएर ५ लिनुको साथै अर्धशतक बनाएका गुलशन हारका बाबजुद प्लेयर अफ द म्याच चुनिए ।



हारपछि नेपालका कप्तान रोहित पौडेलले ब्याटिङमा अझै राम्रो गरेर २४०/५० को योगफल खडा गर्न सकेको भए राम्रो हुने बताए । ‘गुलसननको ब्याटिङ अविश्वसनीय थियो । तर हामीले ब्याटिङमा अझै राम्रो गर्दै २४०/५० सम्म पुग्न सक्थ्यौं, उनले भने, ‘तथापि २२० यो विकेटमा धेरै चुनौतीपूर्ण हो ।’

बलिङ युनिटले पनि यो भन्दा राम्रो गर्न सक्थ्यो भन्ने उनलाई लाग्छ । ‘आज बलिङ युनिटमा करण र गुलसनले साँच्चिकै धेरै राम्रो गरे, रोहितले भने, ‘यो कडा प्रतिस्पर्धात्मक खेल थियो । हामीले अर्को खेलमा राम्रो पूनरागमन गर्ने छौं । यो विकेटमा हामीले आफ्नो क्षमता देखाउन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण विराटनगर किङ्सबाटै खेल्ने भएका छन् । विराटनगरले शनिबार सामाजिक सञ्जालमा पोस्ट राख्दै सन्दीपलाई मार्की खेलाडीकै रूपमा रिटेन गरिएको जनाएको छ । उनी पहिलो सिजन विराटनगरको कप्तान पनि थिए । विराटनगरको प्रदर्शन भने राम्रो भएको थिएन । विराटनगरले ७ खेलमा २ जित मात्र निकालेर ...
। ब्राजिलियन क्लब फ्लुमिनेस फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा साउदी क्लब अल हिलाललाई २–१ ले पराजित गर्दै फ्लुमिनेस अगाडि बढेको हो । अमेरिकाको अर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलियन क्लब फ्लुमिनेसले सशक्त प्रदर्शन गर्दै जित हात पारेको हो। खेलको ४०औं मिनेटमा म्याथियस मार्टिनेलीले पेनाल्टी बक्सबाहिरबाट शानदार लेफ्ट फुटेड शट ...
। इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विहान भएको क्वाटरफाइनल खेलमा ब्राजिलको पाल्मेइरासलाई २-१ गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम ४ मा स्थान बनाएको हो । चेल्सीको जितमा कोल पाल्मरले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । पाल्मेइरासका एस्तिभाओले गरेको गोल सान्त्वना बन्यो । खेलको १६औं मिनेटमा पाल्मरले गोल ...
: एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ। समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ। ...
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...