सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो ।

विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । गत साता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायीरूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।




सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईका प्रमुख कोषनाथ अधिकारीले प्रत्येक दिन छ सयका लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पहिलो दिनको मध्यान्हमै दुई हजार पाँच सयले धरहरा चढिसकेको जानकारी दिए ।

‘अहिले एकैपटकमा करिब एक हजारले अवलोकन गरिरहनुभएको छ,’ उनले भने, ‘लाइन लामो छ, दैनिक जम्मा छ सयका लागि खुलाउने भनेका थियौँ । भीड बाक्लो भयो । तसर्थ तोकिए भन्दा बढीले धरहरा चढिसकेका छन् । अब ३:३० बजेसम्म भित्र छिर्न दिइन्छ, ४:३० बजे बन्द हुन्छ ।’




उनले तत्कालका लागि धरहरा चढ्न निःशुल्क व्यवस्था मिलाइएको र यो अस्थायी व्यवस्था मात्रै रहेको बताए । शुल्कको विषय टुङ्गो लाग्न बाँकी रहेको र छिट्टै टुङ्गो लाग्ने उनको भनाइ छ ।

सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘मेरो धरहरा, मै बनाउछु’ भन्ने अभियान सुरु गरिएको थियो ।

विसं २०७५ असोज १४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु गरिएको थियो । विसं २०७८ वैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए ।

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओभी डट एनपी’ नामक वेबसाइट सञ्चालन गरेको छ । इकाइका अनुसार वेबसाइटमार्फत पनि बुकिङ गर्न सकिनेछ ।

धरहराको इतिहास

विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विसं १९१३ मा धरहरा चट्याङ्ग परी भत्कियो । विसं १९२३ मा धरहराको जिर्णोद्वार गरिएको थियो ।

विसं १९९० माघ २ मा महाभुकम्पमा परी धरहरा पुनःभत्किएको थियो । विसं १९९२ मा तत्कालिन राणा प्रधानमन्त्री जुद्धशम्सेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तल्लाबाट नौ तल्लामा सीमित भएको थियो ।

फेरि विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । हाल पुनःनिर्माण गरी धरहरा सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संसदीय छानबिन समिति गठनको माग गर्दा कांग्रेसले गरेको आशंका समितिले पुष्टि गरेको बताएका हुन् । आफूहरुले गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी ...
। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी आज बिहान साढे १० बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका ...
। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित मस्यौदा समितिले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । सरकार सञ्चालनका लागि सत्तारुढ दलहरुले न्यूनतम साझा कार्यक्रम तयार पार्न केही दिन अगाडि मस्यौदा कार्यदल गठन गरेको थियो । कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत र एमालेबाट उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदलले ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको बताएका छन् । उनले दुई तिहाइ बहुमतको सरकार भनिए पनि प्रधानमन्त्री र मन्त्रीहरुको व्यवहार त्यस्तो नदेखिएको बताए । ‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरुमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने ...
। संसदीय सुनुवाइ समितिले १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन गरेको छ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समिति सभापति ईश्वरी न्यौपानेका अनुसार, श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो । ‘कागजात मगाउन निर्देशन दिएका छौं, आएपछि अनुमोदन हुन्छ’ निर्णय सुनाउँदै सभापति न्यौपानेले बताइन् ...