रवि विरुद्ध सहकारी ठगी र संगठित अपराधमा पूरक अभियोग लैजाँदै प्रहरी
रवि विरुद्ध सहकारी ठगी र संगठित अपराधमा पूरक अभियोग लैजाँदै प्रहरी

। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले रवि लामिछाने विरुद्ध पूरक अभियोग लैजाने तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई कानून बमोजिम कारबाही गर्न गरेको सिफारिसका आधारमा पुरक अभियोग लैजाने तयारी थालिएको हो ।




छानबिन समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिनको प्रतिवेदन सोमबार संसद्मा बुझाएको थियो । लगत्तै सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारसमक्ष पठाउन सचिवालयलाई निर्देश गरेका थिए । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध पूरक अभियोग लैजाने तयारी गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरसँग कुरा गर्दै यसका लागि तयारी थाल्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई निर्देशन दिइसकिएको बताए ।




ती अधिकृतका अनुसार, छानबिन समितिले किटान गरेका सञ्चालक समितिका अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेलविरुद्ध पहिल्यै मुद्दा चलिसकेकाले बाँकी रहेका लामिछाने र जोशीविरुद्ध पूरक अभियोग जानेछ ।

राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ भने मलेसियामा रहेका उनलाई फर्काउन प्रहरीले प्रयास गरिरहेको छ । रम्तेल पुर्पक्षका लागि थुनामा छन् । लामिछाने हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति हुन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अनुसन्धान अधिकृतका अनुसार, २२ माघमा लामिछानेसहित १८ जनाविरुद्ध २५ जना पीडितले पूरक जाहेरी दिएका थिए । त्यही जाहेरी र संसदीय समितिको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलसमक्ष रायसहितको प्रतिवेदन पठाउने गरी गृहकार्य भइरहेको छ ।

पुरक जाहेरीमा लामिछाने, पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, ऋणी नेत्रपाणि बाँस्तोलासहित १४ संस्थालाई प्रतिवादी बनाइएको छ ।

‘त्यही जाहेरीका आधारमा समेत माननीय लामिछानेज्यूसहितका व्यक्तिहरुविरुद्ध मुद्दा जाने स्थिति थियो’, ती अधिकृतले भने, ‘छानबिन समितिको प्रतिवेदन आएपछि मुद्दा थप बलियो हुने भएको छ ।’

पोखरा प्रहरी स्रोतका अनुसार, लामिछाने, छविसहितका पदाधिकारीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउने तयारी छ ।

‘संगठित अपराधमा मुद्दा नलैजाँदा विदेशमा भएका जीबी राईलाई फिर्ता ल्याउन कठिन भएको थियो’, पोखरा प्रहरीका ती अधिकृतले भने, ‘यसपटक पूरक अभियोग लैजाँदा संगठित अपराधको पनि माग दाबी गर्दैछौं, ताकि राईको राहदानी रद्द गर्न पनि सकियोस् ।’ राहदानी ऐनको व्यवस्था अनुसार कुनै व्यक्तिविरुद्ध संगठित अपराधमा मुद्दा चले उसको राहदानी रोक्का गर्न सकिन्छ ।

पोखरा प्रहरीले काठमाडौंको शंखमूलमा रहेको पूर्वडीआईजी छविलाल जोशीको घरमा २४ माघ २०८० मा छापा मारेर जीबीले सञ्चालन गरेका सहकारीहरुका हार्डडिस्क बरामद गरेर लगेको थियो । जोशीको घरमा राईले सञ्चालन गरेको ‘नेचर हब इन्टरनेश्नल प्रा.लि.’को कार्यालय थियो । त्यहाँ फेला परेको सर्भरमा राईले सञ्चालन गरेको सहकारीहरुको सम्पूर्ण वित्तीय विवरण भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय, पोखराका अनुसन्धान अधिकृतहरुका अनुसार, सर्भरबाट प्राप्त विवरणमा सूर्यदर्शन सहकारीबाट ५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको थियो ।

‘पोखराको सूर्यदर्शनबाट गोर्खा मिडिया नेटवर्कमा गएको ५ करोड रुपैयाँ मात्र हो, त्योभन्दा बढी रकम अन्यत्रको सहकारीबाट गएको छ’, अनुसन्धानमा संलग्न ती अधिकृतले भने, ‘त्यसैले अनुसन्धान हुँदै जाँदा अन्य सहकारीको मामिलामा पनि लामिछानेविरुद्ध मुद्दा जाने अवस्था बन्छ ।’

संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार, जीबी राई सञ्चालक रहेको ७ मध्ये पाँचवटा सहकारीबाट ६५ करोड रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको देखिन्छ । गोर्खा मिडियामा रकम गएको थप एउटा सहकारीमा भने कुमार रम्तेल सचिव छन् ।

सूर्यदर्शनबाहेक बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारी संस्था, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी (कुमार रम्तेल सचिव रहेको) बाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख छ ।

थप ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोर्खा मिडिया नेटवर्कमा रकम जम्मा गरिएको भनिएको छ । ‘अहिले सबैको ध्यान पोखराको सूर्यदर्शन सहकारीमा मात्र छ, तर यहाँभन्दा बढी रकम अन्यत्रको सहकारीबाट अपचलन भएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसैले अन्यत्रका सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकमबारे पनि गम्भीर अनुसन्धान गर्न जरुरी छ ।’

विशेष छानबिन समितिको प्रतिवेदनमा सहकारीका सञ्चालकहरुले आफ्नो शक्तिको गलत उपयोग गरेर अत्यधिक रुपमा लिएको ऋण कम्पनीलाई प्रवाह गरेर सहकारीको रकम अपलचन गरेको पुष्टि हुने निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार, १४ भदौ २०७७ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुँदा गोर्खा मिडिया नेटवर्कको संस्थापक शेयरधनी गितेन्द्रबाबु (जीबी) राई र छविलाल जोशी मात्र थिए ।

तर, २०७७ सालको अन्त्यतिर न्यूज२४ टिभी छाडेर रवि लामिछाने ‘स्वेट शेयर’को रुपमा १५ प्रतिशत शेयर लिँदै सञ्चालकका रुपमा गोर्खा मिडिया नेटवर्कमा प्रवेश गरेका थिए ।

तर, छानबिन समितिले लामिछानेको स्वेट शेयरको विषयमा समेत प्रश्न उठाएको छ ।

‘… रवि लामिछानेले आफूलाई स्वेट शेयर दिएको भनी बताएता पनि प्रथमः स्वेट शेयर सम्बन्धी कानूनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरुका बीचमा एकापसमा श्वेट शेयर लिने–दिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाण समेत रहे भएको अवस्था देखिँदैन’, प्रतिवेदनमा भनिएको छ ।

पछि चुनाव लड्ने भन्दै लामिछानेले १ असार २०७० मा गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टिभी छाडेका थिए । त्यसपछि गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबीं) राई, कुमार रम्तेल र जीबी ग्रुप अफ कम्पनिज प्रा.लि. सञ्चालक छन् । पूर्वडीआईजी जोशीले रविभन्दा एक वर्षअघि २०७८ मा गोर्खा मिडिया नेटवर्क छाडेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ...
। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारीको रकम दुरुपयोग गरेको प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गल्ती ढाकछोप गर्न लागि परेको दाबी गरेका छन् । महतले लामिछानेले आफ्नो पक्षमा भिड जमा गरेर विभिन्न खालका प्रपोकाण्डा बनाउन खोजेको बताउँदै त्यो सफल नहुने बताएका हुन् । शुक्रबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...
। नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्षबीच सहमती भएको हो । भौतकमन्त्री देवेन्द्र दाहालले बोलाएको ...
: उत्तर चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाका क्षेत्रमा बिहीबारदेखि बिजुली बलेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङ र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त पहलमा नेपाल विद्युत प्राधिकरणले कोरला नाकामा विद्युत लाइन विस्तार गरेको हो। यसअघि नेपाल विद्युत प्राधिकरणले विद्युत पोल विस्तार गरेको थियो। उपल्लो मुस्ताङीलाई कोरला नाका खुला गरिएपछि त्यहाँ नेपाल विद्युत प्राधिकरणले ...
: उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेका आमा-छोराको हत्या भएको तथ्य खुलेको छ। वडा कार्यालय नजिक पसल गर्दै आएकी ३७ वर्षीया निर्मला थापा र सोही ठाउँका बोलेरो चालक ३२ वर्षीय ताराबहादुर थापाबीचको सबन्धलाई वैधानिक बनाउन खोज्दा ६ वर्षीय छोरा आरुससहित निर्मलाको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो। उनीहरूबीचको सम्बन्ध एकान-दुकान मैदान भएपछि निर्मलाले विवाह गर्न ताराबहादुरलाई दबाब दिँदै ...