मुख्य समाचार
सिटीबाट १०० गोल गरेका हालान्डले अझै बनाउन सक्छन् यी कीर्तिमान
सिटीबाट १०० गोल गरेका हालान्डले अझै बनाउन सक्छन् यी कीर्तिमान

। आइतबार राति प्रिमियर लिगमा आर्सनलविरुद्धको खेलमा गोल गर्दै म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले १०० औं गोल पूरा गरे ।

नर्वेजियन स्ट्राइकरले सिटीका लागि १०५ औं खेल खेल्दै १०० गोल पूरा गरेका हुन् । हालान्डले सिटी पुगेको दुई वर्षमै यो उपलब्धी हासिल गरेका हुन् ।




घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलको नवौँ मिनेटमै हालान्डले साभिन्होको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

यस सिजन हालान्ड गज्जबको लयमा देखिएका छन् । उनले लिगको सुरुवाती ५ खेलमै १० गोल गरिसकेका छन् । सन् १९३० मा एस्टन भिल्लाका पोङ्गो वारिङ पछि इंग्लिस शीर्ष डिभिजनमा यो नै उत्कृष्ट सुरुवात हो ।




२४ वर्षका हालान्डले मोल्डे, रेडबुल साल्जवर्ग, बोरुसिया डर्टमण्ड र सिटीका लागि क्लब करियरमा २३५ गोल गरिसकेका छन् । उनले नर्वेको राष्ट्रिय टिमका लागि ३२ गोल गरेका छन् ।

उनले युरोपको शीर्ष पाँच लिगमा सबैभन्दा कम खेलमा १०० गोल पूरा गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान पनि बराबरी गरेका छन् । रोनाल्डोले रियल मड्रिडमा खेल्दा १०५ खेलमै १०० गोल गरेका थिए ।

हालान्डको १०० गोलको तथ्याङ्क

हालाण्ड सन् २०२२ मा ५१ मिलियन पाउण्डमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटीमा अनुबन्ध भएका थिए । सिटी जानुअघि उनले डर्टमण्डमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । जहाँ उनले ८९ खेलमा ८६ गोल गरेका थिए ।

हालान्डले सिटीका लागि खेल्दा ११ फरक क्लब विरुद्ध चार भन्दा बढी गोल गरेका छन् । वल्भ्सविरुद्धको ४ खेलमा उनले ८ गोल गरेका थिए ।यस्तै उनले वेष्टह्याम विरुद्ध ७, म्यानचेष्टर युनाइटेड, आरबी लाइपजिग र लुटोन विरुद्ध ६/६ गोल गरेका छन् ।

डर्टमण्डका लागि गरेको गोल समेत गणना गर्दा उनले लाइपजिगविरुद्ध ८ खेलमा १२ गोल गरेका छन् ।

हालान्डले सिटीका लागि प्रिमियर लिगमा ७१ खेलमा ७३ गोल गरेका छन् । यस्तै च्याम्पियन्स लिगमा २१ खेलमा १८ गोल गरेका छन् ।

एफए कपमा ७ खेलमा ८ तथा लिग कपमा २ खेलमा १ गोल गरेका छन् ।

हालान्डले १०० गोलमध्ये ७३ गोल बायाँ खुट्टाले गरेका छन् भने १४ गोल दायाँ खुट्टाले, १२ गोल हेडमार्फत र एक गोल ब्याक साइडबाट गरेका छन् ।

उनले २० पटक पेनाल्टी प्रहार गर्दा १८ गोल गरेका छन् ।

हालान्डको गोल तुलना

हालान्ड २४ वर्ष ६३ दिनका भए । उनले शीर्ष डिभिजनमा २७१ खेलमा २३५ गोल गरेका छन् ।

यो उमेरमा क्रिस्टियानो रोनाल्डोले स्पोर्टिङ र म्यानचेष्टर युनाइटेडका लागि खेल्दा ३१३ खेलमा ११७ गोल गरेका थिए । लिओनल मेसीले बार्सिलोनाका लागि २७४ खेल खेल्दै १८४ गोल गरेका थिए ।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा सिटीका लागि १०० गोल गर्ने हालान्ड चौथो खेलाडी हुन् । यसअघि ग्वार्डिओलाको प्रशिक्षणमा खेलेका मेसीले २११, सर्जियो अग्युरोले १२४ र रहिम स्टर्लिङले १२० गोल गरेका थिए ।

हालान्डको नाममा रहेका कीर्तिमान

हालान्डले प्रिमियर लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाइसकेका छन् । उनले सन् २०२२-२३ को पहिलो सिजनमै सिटीका लागि ३६ गोल गर्दै उक्त कीर्तिमान बनाएका हुन् ।

उनले प्रिमियर लिगमा ४८ खेलमै ५० गोल पूरा गरे । एन्डी कोलको भन्दा १७ खेल कममै हालान्डले उक्त प्रिमियर लिगमा यो उपलब्धी हासिल गरेका हुन् ।

यस्तै प्रिमियर लिग इतिहासमा हालान्डको गोल औसत सबैभन्दा छिटो छ । उनले हरेक ७९ मिनेटमा गोल गर्दै आएका छन् ।

यो सिजनको लिगको सुरुवाती ५ खेलमै १० गोल गरिसकेका छन् । जुन अर्को कीर्तिमान हो ।

हालान्डले सन् २०२२-२३ सिजनमा लिगको सुरुवाती ५ खेलमा ९ गोल गरेका थिए भने गत सिजन ७ गोल गरेका थिए ।

यस्तै हालान्डले च्याम्पियन्स लिगमा पनि उस्तै कीर्तिमान बनाएका छन् । उनले ३५ खेलमै ४० गोल गरेका थिए । यसअघि कीर्तिमान बनाएर रुड भान निस्टोरलयको भन्दा १० खेल कममै हालान्डले उक्त कीर्तिमान बनाएका हुन् ।

हालान्डले ब्रेक गर्न सक्ने कीर्तिमान

हालान्डले हाल पछ्याइरहेको अर्को कीर्तिमान नर्वेका लागि सर्वाधिक गोलकर्ताको हो । उनले राष्ट्रिय टिमका लागि ३२ गोल गरिसकेका छन् ।

उनी सर्वाधिक गोल गर्ने योर्गेन गुज भन्दा १ गोलले मात्र पछि छन् । जुभले १९२८ देखि १९३७ सम्म खेल्दै ३३ गोल गरेका थिए ।

म्यानचेष्टर सिटीका लागि सर्जियो अग्युरोले सर्वाधिक २६० गोल गरेका छन् ।

अहिलेकै शैलीमा हालान्डले गोल गर्दै गएका सिटीमा छैटौं सिजन खेल्दा हालान्डले उक्त कीर्तिमान ब्रेक गर्न सक्छन् ।

यस्तै प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान एलान सियररको नाममा छ । हालान्डले त्यो कीर्तिमान पनि तोड्न सक्छन् ।

हालान्डले प्रिमियर लिगमा दुई सिजन खेल्दा दुवै सिजन सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए । पहिलो सिजनमै कीर्तिमानी ३६ गोल गरेका उनले गत सिजन २७ गोल गरेका थिए । यस सिजन ५ खेलमै १० गोल गरिसकेका छन् ।

हालान्डले यही अनुपातमा गोल गर्दै गएमा सन् २०२९-३० सम्म एलान सियररको कीर्तिमान पनि ब्रेक गर्न सक्छन् ।

सन् १९९२ अघिको शीर्ष डिभिजनको फुटबल समेत गणना गर्ने हो भने जिम्मी ग्रिभ्सले ३५७ गोल गरेका छन् । यसलाई पछि पार्न हालान्डले अन्य केही वर्ष समेत सिटीबाट खेल्नुपर्नेछ ।

हालान्डको लागि शीर्ष श्रेणीको फुटबलमा एकै सिजन ६० गोल गर्ने डिक्सी डिनको कीर्तिमान भने तोड्न कठिन हुन सक्छ । सन् १९२७-२८ सिजन डिनले एभरटनका लागि शीर्ष डिभिजनमा ६० गोल गरेका थिए ।

हालान्डको अबको नजर प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोल गर्नु हुनेछ । उनी सामु ५२ खेलमा २७ गोल गरेर छिटो १०० गोल गर्ने कीर्तिमान बनाउने अवसर पनि छ ।

यस्तै युरोपियन च्याम्पियन्स लिगमा हाल क्रिस्टियानो रोनाल्डोले सर्वाधिक १४० गोल गरेका छन् । हालान्डले पाँच सिजनमा ३९ खेलमा ४१ च्याम्पियन्स लिग गोल गरिसकेका छन् ।

यही च्याम्पियन्स लिगमा हरेक सिजन ८ गोल गर्दै गएमा हालान्डका लागि रोनाल्डोको कीर्तिमान ब्रेक गर्न १२ सिजन लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम