मुख्य समाचार
चाडबाडको मुखमा पनि आयातमा छैन उत्साह, निर्यात झनै कमजोर
चाडबाडको मुखमा पनि आयातमा छैन उत्साह, निर्यात झनै कमजोर

। चाडबाडको मुखमा पनि आयात उल्लेख्य नबढेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चाडबाडको मुखमा पनि आयातमा उत्साह देखिएको छैन ।

विभागका अनुसार भदौ २०८१ मा १ खर्ब ३४ अर्ब रुपैयाँको आयात भएको छ । साउनमा १ खर्ब २८ अर्बको आयात भएको थियो । दुई महिनामा कुल आयात २ खर्ब ६२ अर्ब बराबर पुगेको छ । तिज, दशैं, तिहार र छठ लक्षित धेरै सामान आयात भदौ र असोजमा हुने गर्छ ।

भदौमा औसतमात्र आयात हुँदा चाडबाड लक्षित आयात उल्लेख्य बढेको छैन । तर, गत आर्थिक वर्षको तुलनामा भने आयात केही बढेको छ ।

भदौ २०८० मा १ खर्ब ३० अर्ब ५१ करोड ९ लाख २७ हजार रुपैयाँको वस्तु आयात भएकोमा यस वर्ष केही बढी सामान भित्रिएको छ । समग्र आयात समेत यस वर्ष १.०८ प्रतिशतले सुधार भएको देखिन्छ ।


विभागका अनुसार अघिल्लो भदौसम्म २ खर्ब ५९ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको थियो । व्यापारीका अनुसार अहिले निर्माण सामग्रीको तुलनामा उपभोग्य वस्तु आयातमा सुधार भएको छ । खासगरी चीनबाट सहज रूपमा वस्तु आयात हुन थालेसँगै लत्ताकपडा, फलफूल लगायत वस्तु आयात क्रमशः बढ्न थालेको छ ।



यस्तो छ भदौसम्मको आयात

आव २०८०/८१ : २ खर्ब ५९ अर्ब

आव २०८१/८२ : २ खर्ब ६२ अर्ब

परिवर्तन : १.०८ प्रतिशत

निर्यात झनै कमजोर

भदौसम्म वस्तु निर्यात व्यापार झनै खस्किएको छ । भन्सार विभागका अनुसार भदौसम्म २५ अर्ब ९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । यो गत आव यसै अवधिको तुलनामा ५.१२ प्रतिशत कम हो । गत वर्ष भदौसम्म २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

भदौसम्म निर्यात व्यापार

आव २०८०/८१ : २६ अर्ब ४४ करोड

आव २०८१/८२ : २५ अर्ब ९ करोड

समग्र आयातमा भएको सामान्य वृद्धिले कुल वैदेशिक व्यापारको आकार समेत केही बढेको छ । विभागका अनुसार भदौसम्म कुल वैदेशिक व्यापार २ खर्ब ८७ अर्ब ६३ करोड रुपैयाँ बराबर भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ०.५० प्रतिशत बढी हो ।

गत आव यसै अवधिसम्म कुल वैदेशिक व्यापार २ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ बराबर थियो । दुई महिनामा व्यापार घाटा २ खर्ब ३७ अर्ब बराबर भएको छ ।

गत वर्ष यसै अवधिमा २ खर्ब ३३ अर्ब व्यापार घाटा थियो । निर्यातको घट्दो गतिले कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा खस्किएको छ । अहिले आयात हिस्सा ९१.२८ प्रतिशत र निर्यात हिस्सा ८.७२ प्रतिशत छ ।



सामान्य घट्यो पेट्रोलियम पदार्थ आयात

मुलुकमा बढ्दो विद्युतीय सवारीसाधन (ईभी) आयात प्रभाव दुई महिनामा इन्धन आयातमा देखिएको छ । यस वर्ष भदौसम्म ४३ अर्ब २५ करोड रुपैयाँ बराबर इन्धन आयात भएको छ । जसबाट सरकारले १६ अर्ब ६५ करोड राजस्व संकलन गर्न सकेको छ ।

गत आव भदौसम्म ४४ अर्ब ६५ करोड बराबर पेट्रोलियम पदार्थ आयात भएको थियो । गत वर्ष यस अवधिमा इन्धनबाट १६ अर्ब रुपैयाँ राजस्व उठेको थियो । यस वर्ष भदौसम्म स्टिल तथा आइरन आयात २१ अर्ब ५४ करोड बराबरको भएको छ ।

गत वर्ष यस्तो वस्तु आयात भदौसम्म २४ अर्ब ६५ करोडको आयात भएको थियो । यसले फलाम सहित निर्माण सामग्री आयात खस्किएको देखिन्छ । भदौसम्म मेसिन, उपकरण र पार्टपुर्जा आयात १९ अर्ब ३९ करोड बराबरको भएको छ ।

विद्युतीय उपकरण र पार्टपुर्जा आयात १८ अर्ब ६७ करोड बराबर भएको छ । सवारीसाधन आयात १६ अर्ब ७४ करोड बराबर भएको देखिन्छ ।

मुलुकगत हेर्दा नेपालले यस महिनासम्म सबैभन्दा धेरै भारतसँग वैदेशिक व्यापार गरेको छ । भारतसँग १ खर्ब ६० अर्ब रुपैयाँको आयात व्यापार भएको छ । निर्यात व्यापार १५ अर्ब ९८ करोड बराबरको भएको छ ।

चीनसँगको व्यापार दोस्रो स्थानमा छ । चीनबाट ५२ अर्ब १० करोड रुपैयाँको आयात भएको छ । चीनमा नेपालबाट भने २९ करोड ७४ लाख रुपैयाँ बराबर सामान निर्यात भएको छ । तेस्रो स्थानमा युक्रेन छ । त्यहाँबाट नेपालमा ४ अर्ब ७१ करोड रुपैयाँ बराबर वस्तु भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल आयल निगमले भाेलिदेखि आधा सिलिन्डर ग्यास बेच्ने भएकाे छ । उपभाेक्ताले अनावश्यक रुपमा ग्यास भन्डारण गर्न थालेको भन्दै निगमले अनावश्यक भन्डारण रोक्न आधा सिलिन्डर मात्रै बिक्री गर्न लागेको हाे । निगमले शुक्रबारदेखि लागू हुने गरी ७.१ केजी एलपीजी ग्यास बजारमा पठाउन लागेको हाे । प्रति सिलिन्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने ...
— जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुध्द एयरले कल साईन ९एन–एजेओ रहेको एटीआर–७२ जहाजलाई औपचारिक रुपमा विदाइ गरेको छ । एटीआर–७२ जहाजको अधिक्तम उडान क्षमता ७२,००० साईकल हो । ‘साईकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ । यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा ...
। नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन जारी गरेको छ । निगम प्रवक्ता मनोज ठाकुरले निगम र ग्यास उद्योगीहरूबीच भएको छलफलमा उद्योगीले आपूर्तिमा कुनै समस्या नभए पनि वितरण प्रणालीमा सुधार आवश्यक रहेको ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हाले इथानोलबारे २० वर्षदेखि पटकपटक अध्ययन र छलफल भइरहेकाले आफू आइसकेपछि निर्णय लिन सहज भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको 'नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनका रणनीतिहरु' कार्यक्रममा उद्योग मन्त्री सिन्हाले यस्तो बताएका हुन् । 'वर्षौंदेखि छलफल भइरहेको रहेछ । ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताएका हुन् । यसले नेपालबाट वार्षिक करिब ६ ...