: वालिङ नगरपालिका काठमाडौंमा जारी एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै वालिङ शीर्ष पाँचमा रहन सफल हुँदै दोस्रो चरण प्रवेश गरेको हो।
वालिङको जितमा सुक्रिया मियाले खेलको छैटौ मिनेट र ज्याक्लिन नासालीले ३६ औं मिनेटमा गोल गरेकी थिइन्। चन्द्रपुरका लागि एक मात्र गोल सुनिता सुनारले ५० औं मिनेटमा गरेकी थिइन्।
जितसँगै वालिङ ९ खेलमा १५ अंकका साथ चौथो स्थानमा कायमै छ। चन्द्रपुर समान खेलमा ८ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ।
यसअघि नै विभागीय टोलीहरु एपीएफ, आर्मी र नेपाल पुलिस दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा शीर्ष ५ मा रहने टोली दोस्रो चरणका लागि छनोट हुनेछन्।