: लगातारको वर्षासँगै रोशी र सुनकोशी नदीमा आएको बाढीले वितण्डा मच्चाउँदा जिल्लाकै सुन्दर पर्यटकीय क्षेत्र मुलकोट र खुर्कोट बगरमा परिणत भएको छ।
मुलकोट र खुर्कोट बजार पूर्णरूपमा डुबानमा पर्दा दर्जनौं घरहरू खण्डहर भएका हुन्। सुन्दर बस्तीहरू बगरमा परिणत भएका छन्।
आइतबार नदीमा आएको बाढीको बहाब कम हुँदै गएको छ। नदी आफ्नै लयमा फर्किदै गए पनि डुबान र कटानका कारण बजार तथा बस्तीहरू बगरजस्तै बनेका छन्।
सुनकोसी नदीमा आएको बाढीका कारण सुनकोशी गाउँपालिका-५ स्थित मुलकोट बजार, सित्खा, खैरनी, रातमाटा र गोलन्जोर गाउँपालिका-७ को खुर्कोट बाजर पूरै डुबानपछि अहिले बगरमा परिणत भएको हो। बिहीबारदेखि लगातार परेको वर्षाका कारण सुनकोसी गाउँपालिका-५ मुलकोटमा पशुपति आधारभूत विद्यालयसँगै दर्जनौं होटल तथा रिसोर्ट र बस्तीहरु डुबानमा परेको स्थानीय मनोज श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार शुक्रबार मध्यराति सुनकोसी नदी बस्तीमा पसेको थियो। बस्तीमा नदी पस्ने भएका कारण रातभर जाग्राम बसेका स्थानीयले भागेर ज्यान जोगाउन सफल भए पनि होटल, पसल तथा घरका कुनै पनि सामान झिक्न पाएका छैनन्।
बाढीका कारण करोडौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका होटल तथा रिसोर्टमा क्षति पुगेको छ। होटलमा बसेकाहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको भए पनि होटल तथा पसलहरूमा भएका सरसामान केही निकाल्न नपाएको उनीहरूको भनाइ छ। मूलकोटमा मात्र ६० बढी घरहरू डुबानमा परेका छन्।
क्वालिटीबीच रिसोर्ट, पौवा होटल तथा रिसोर्ट लगायत पूर्णरूपमा डुबानमा परेका थिए। सुन्दर सफल मुलकोट अहिले हिलो, लेदो र बगरमा परिणत भएको छ। यसलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन निक्कै कठिन हुने बताइएको छ।
त्यस्तै सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट बसपार्क बजार सुनकोसी नदीको डुबानमा पर्दा अहिले बगरजस्तै भएको छ। सय बढी होटल तथा पसलहरू नष्ट भएका छन्। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन क्याम्पमा पनि क्षति पुगेको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले बताए। ‘बाढीका कारण सयौं नागरिकहरू विस्थापित बन्नु परेको छ। बाढीका कारण दुई सयबढी घर, होटल तथा रिसोर्टलगायत सार्वजनिक भवनहरू जोखिममा परेका छन्,’ उनले थपे।