मुख्य समाचार
स्पेनमा नेपाली ओइरिँदा कोठा र काम पाउनै सास्ती
स्पेनमा नेपाली ओइरिँदा कोठा र काम पाउनै सास्ती

बार्सिलोना । काठमाडौं मूल घर भएका ३१ वर्षीय किरण (नाम परिवर्तन) अगष्ट दोस्रो साता स्पेनको बार्सिलोना आइपुगेका हुन् । रोजगारीका लागि रोमानिया आएका उनी त्यहाँ ८ महिना बसे । तर त्यहाँ कामको ठेगान नभएपछि उनी रेसिडेन्सी कार्ड बनाउने चक्करमा स्पेन छिरेका हुन् ।

सन् २०२३ डिसेम्बर पहिलो साता धन कमाउने सपना बोकेर रोमानिया त आए । तर सोचेजस्तो भएन । उनी आएको कम्पनीमार्फत एउटा होटेलमा काम गर्ने उनको कन्ट्राक्ट थियो । ‘साठी वर्ष पुरानो होटल रहेछ । त्यहाँको पुलिस आएर के कारणले हो होटल नै बन्द गरिदियो’ किरणले भने, ‘दुई/तीन महिनासम्म काम विहीन नै भयौं । फेरि मार्चदेखि खुलेको थियो । फेरि बन्द हुन पुग्यो ।’




७ लाख रुपैयाँ साहुसँग ऋण लिएर रोमानिया आएको बताउने किरणको मन बेचैन छ । नेपालमा चर्को ब्याजदरमा लिएको ऋणका कारण उनको मन रोमानियामा नै अडिरहन सकेन । किरणले त्यहाँ आफ्नो भविष्य देखेनन् । त्यहाँको वैधानिक कागजातको म्याद छँदै बरु स्पेन जाने निर्णय लिए । हवाई टिकट लिएर उनी रोमानिया छोडेर स्पेन आइपुगेका हुन् ।

उनी स्पेन त आए तर न बस्ने कोठा छ, न चिनेजानेका मान्छे नै । बार्सिलोनाको साग्रदा प्यामिलिया नजिकै एक होस्टलमा उनले १० दिन बिताए । होस्टेलमा बसेको मात्रै उनले दैनिक ३० युरो बुझाए । बिहान/बेलुका खाँदा दैनिक झन्डै ५० युरोसम्म खर्च भएको उनी सुनाउँछन् ।




होस्टेलमा नै हंगेरीदेखि आएका ४ जना नेपालीलाई पनि उनले त्यहीँ भेटे । ‘अहिले युरोपको अन्तिम गन्तव्य नै स्पेन बनिरहेको छ । पोर्चुगलमा सजिलै कार्ड बन्ने प्रक्रिया बन्द भएपछि सबै नेपाली स्पेनमा छिरेका छन्,’ किरण भन्छन्, ‘तर काम त परको कुरा बस्ने कोठा पाए पनि ठूलो भाग्य भन्ने भइरहेको छ ।’

****

तनहुँ मूल घर भएका २९ वर्षीय रमेश (नाम परिवर्तन) क्रोएसियाबाट स्पेनको बार्सिलोना आएको भर्खर दुई हप्ता भयो । २ वर्षदेखिको क्रोएसियाको बसाइँ टुंग्याएर स्पेन छिरेदेखि नै उनी तनावमा छन् । ‘स्पेनमा कार्ड बन्न तीन वर्षसम्म लाग्ने रहेछ । नगरपालिका (अजेन्तामेन्तो) मा गएर आफू कुनै घरमा बस्दै आएको भनेर ठेगाना दर्ता (एमपात्रोनामेन्तो) गर्नुपर्ने रहेछ,’ उनले भने, ‘बल्लबल्ल कोठा त पाएँ तर म स्पेनमा बस्न सुरु गरेँ भनेर अझै दर्ता गर्न पाएको छैन । अहिले बसिरहेको घरबाट दर्ता गर्न मिलेन । अब यो नभएसम्म म यहाँ बसेको भनेर दिनगन्ती नै सुरु हुने रहेन छ ।’

‘पहिला ३ सय ५० युरोमा डबल रुम पाइन्थ्यो रे । अहिले ५ सय युरोसम्म पुगेको छ । तीन–चार जनाले एउटै कोठा सेयर गरेर बस्दा पनि प्रतिव्यक्ति २८० देखि ३ सय युरोसम्म भाडा खर्च छ,’ उनले भने, ‘होस्टलमा बस्दा झनै खर्च छ । त्योभन्दा महँगोमा भएपनि कोठा लिएर बस्नै पर्यो ।’

स्पेनमा रेसिडेन्सी कार्ड बन्न तीन वर्ष लाग्ने र त्यो अवधिमा वैधानिक तवरले काम गर्न नपाइने भन्ने थाहा पाएपछि उनी निकै तनावमा छन् । ‘कार्ड नबनेसम्म वैधानिक तवरले काम पाइँदैन भन्छन् । यति महँगो भाडा तिरेर तीन वर्ष कसरी काट्ने ?’ रमेशले प्रश्न गरे । तीन वर्ष पुगेर कामको कन्ट्राक्ट खोज्दा मोटो रकम खर्च गरेर कार्ड बनाउँछन् भनेको सुन्दा उनी झनै आत्तिएका छन् ।

पोर्चुगलले जुन ३, २०२४ मा आप्रवासी नीति कडाइ गरेपछि रोमानिया, क्रोएसिया, माल्टा, बुल्गेरिया, हंगेरी लगायतका युरोपेली मुलुकबाट हजारौंको संख्यामा नेपाली स्पेन भित्रिएको अनुमान छ ।
****

पोखरा महानगरपालिका–३० लेखनाथ मूल घर भएकी २४ वर्षीया सोबिता सापकोटा स्पेन आएको तीन महिना पुग्यो । उनको अझै कामको अत्तोपत्तो छैन । २०८१ वैशाखमा सिजनल भिसामा उनी अष्ट्रिया आएकी थिइन् । नेपालदेखि नै सोबिता पोर्चुगलमा छिरेर कार्ड बनाउने योजना सहित अष्ट्रिया छिरेकी थिइन् । ‘दुर्भाग्य हामी अष्ट्रिया छिरेपछि पोर्चुगल बन्द भयो । अन्तिम विकल्प नै स्पेन देखेपछि यता आएकी हुँ । तर यहाँ जे सोचेर आएकी थिएँ त्यस्तो रहेनछ,’ उनले भनिन् ।

उनले अष्ट्रियामा तीन महिना स्ट्रबेरी टिप्ने काम गरिन् । ‘कमाइ त त्यहाँ राम्रै हुन्थ्यो । आफूले जति गर्न सक्यो उति नै राम्रो थियो । महिनामा १७–१८ सय युरोसम्म कमाउन सकिन्थ्यो,’ सोबिताले भनिन्, ‘त्यहीँ बसेर काम गर्न त मन थियो तर पोर्चुगल जस्तै स्पेन पनि बन्द हुन्छ कि भन्ने डरले तीन महिना भिसा बाँकी छँदै यता आएँ ।’

स्पेनको बार्सिलोना शहरमा उनी तीन महिनादेखि बेरोजगार छिन् । सोबितालाई अहिले भिसा छँदै अष्ट्रिया छोडेकोमा ठूलो पछुतो छ । ‘बाँकी तीन महिना पनि काम गर्न पाएको भए लागेको ऋण केही भए पनि घट्थ्यो । अहिले पछुतो मानेर के गर्ने ?’ उनले भनिन् ।

अष्ट्रियासम्म आउँदा उनले १३–१४ लाख रुपैयाँ खर्च गरेको सुनाइन् । आफूसँगै अष्ट्रियामा आएका १२ जना नेपालीमध्ये १० जना कार्ड बनाउन भन्दै आफूजस्तै स्पेन छिरेको उनले बताइन् । ‘स्पेनमा आफ्नो मान्छे कोही पनि हुनुहुन्थेन । एउटा रुममा चारजनासम्म बस्यौं । हामी चार जनाले एउटा रुमको भाडा ९ सय युरोसम्म तिर्यौं,’ दुखेसो पोख्दै सबिताले सुनाइन्, ‘त्यतिबेला निकै गर्मी पनि थियो । सजिलोसँग बस्न सक्ने अवस्था थिएन । पछि अर्को रुम खोजेर त्यहाँबाट सर्यौं ।’

नेपालमा गरिएको कल्पना जस्तो ‘युरोप’ यथार्थमा फरक रहेको सोबिताको भोगाइ छ । ‘एक त काम पाउन गाह्रो । काम पाइहाले पनि भाषाको समस्या हुँदोरहेछ,’ उनी अरुलाई सुझाव दिँदै भन्छिन्, ‘युरोपका अन्य देशमा तपाईं जे काम गरिरहनु भएको छ । अहिले त्यही कामलाई नै निरन्तरता दिनुहोस् । कार्ड बनाउने चक्करमा त्यसै हामफालेर स्पेन नआउनुहोस् ।’

सोबिता स्पेन आएको तीन महिना पुगिसकेको भए पनि नगरपालिकामा उनको ठेगाना दर्ता (एमपात्रोनामेन्तो) अझै भएको छैन । आफू बसिरहेको घरको ठेगाना दिन नमिल्ने भएपछि उनले रेडक्रस मार्फत एमपात्रोनामेन्तो गर्ने प्रक्रियामा नै छन् ।

‘युरोप छिरेपछि दुःख गरेर पनि कमाइ त हालिन्छ भन्ने सोच नेपालदेखि बनाइएको हुन्छ तर त्यो गलत रहेछ । दुःख गर्छु भने पनि, गर्ने ठाउँ त पाउनुपर्यो नि,’ उनी भन्छिन्, ‘बरु तपाईं अहिलेको अवस्थामा यदि स्पेन आउँदै हुनुहुन्छ भने कम्तिमा ५/६ महिनाका लागि चल्ने खर्च बोकेर आउनुहोला भन्ने म सुझाव दिन चाहन्छु ।’

****

म्याग्दी मूल घर भएकी बिमला (नाम परिवर्तन) पनि स्पेन आएको एक महिना पुगिसकेको छ । उनी यतिबेला पर्यटकीय शहर बार्सिलोनामा बस्छिन् ।

६ महिना पहिले सर्बिया आएकी बिमला त्यहाँबाट ग्रिस पुगिन् । रेसिडेन्सी कार्डको सपना बुनेर उनी बिभिन्न दुःख झेल्दै स्पेन आइपुगेकी हुन् । स्पेन आइपुग्दासम्म १५ लाखभन्दा बढी खर्च भइसकेको बिमला बताउँछिन् ।

उनीसँग अहिले नेपाली राहदानी समेत छैन । ‘आफ्नो डकुमेन्ट पनि नहुँदा यहाँ नगरपालिकामा गएर आफ्नो ठेगाना दर्ता गर्न पनि पाएकी छैन,’ बिमलाले भनिन्, ‘पासपोर्ट बनाउने प्रक्रिया म्याड्रिड दूतावासबाट अघि बढिसकेको छ । अब कहिले बनेर आउँछ अनिमात्र मेरो प्रक्रिया अघि बढ्ने भयो ।’

बिना डकुमेन्ट स्पेन छिर्दा ६ महिनाको समय त्यसै खेर जाने उनले सुनाइन् । स्पेनमा चिनेजानेका एक जना आफन्त भए पनि अहिले आफ्नो सम्पर्कमा नआएको भन्दै उनले गुनासो पोखिन् । एउटै अपार्टमेन्टमा १२–१३ जना नेपाली सँगै बस्दै आएको बिमलाले बताइन् । ‘हामी सबै भर्खर छिरेका नयाँ नेपालीहरु एकै ठाउँमा बस्छौं । लगभग सबैको पीडा उस्तै छ,’ उनले दुःख पोखिन् ।

स्पेनमा नेपाली ओइरिनुको कारण ‘पोर्चुगल’

पहिले–पहिले नेपालीहरु विना सोचविचार आँखा चिम्लेर पोर्चुगललाई नै रोज्थे । त्यहाँ आप्रवासी नीति अत्यन्तै खुकुलो पनि थियो । एक/दुई वर्षमा नै टिआरसी कार्ड बनाउँथे । ५–७ वर्षमा त पोर्चुगलको पासपोर्ट नै पाउँथे । त्यसपछि युरोपियन पासपोर्ट बोकेर उनीहरु बढी कमाइ हुने मुलुकमा बसाइँ सर्थे ।

तर जुन ३, २०२४ देखि पोर्चुगलले आप्रवासन नीतिमा कडाइ गरेपछि पहिलेजस्तो सहज छैन ।

यसअघि युरोपेली संघ बाहिरका मानिसहरूले पोर्चुगलमा एक वर्षसम्म ‘सामाजिक सुरक्षा’ कर तिरेपछि त्यहाँको आवास अनुमति प्राप्त गर्न निवेदन दिन पाउँथे ।

पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले ‘एक्सन प्यान फर माइग्रेन्ट’ नाम दिइएको नयाँ योजना ल्याएर लागु गरे । आप्रवासन नीति सम्बन्धी यो योजना अनुसार रेसिडेन्सी कार्डका लागि आवेदन दिने प्रक्रिया ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ लाई खारेज गरिदिए ।

पोर्चुगलमा ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ बन्द भएपछि हजारौं नेपाली प्रभावित बनेका हुन् । पोर्चुगलमा सजिलै कार्ड बन्ने नदेखेपछि नेपालीहरु स्पेनमा ओइरिएका छन् ।

स्पेनमा रेसिडेन्सी कार्ड बन्ने प्रक्रिया के हो ?

स्पेनमा रेसिडेन्सी कार्ड बनाउन पहिलेजस्तो सजिलो नियम छैन । जुन ३ अघिसम्म पोर्चुगलमा ‘सामाजिक सुरक्षा’ कर तिरेर वैधानिक रुपमा नै काम गर्न कुनै रोकतोक थिएन । तर स्पेनमा भने रेसिडेन्सी कार्ड नबनेसम्म वैधानिक रुपमा काम गर्न पाइँदैन ।


स्पेनमा बसोबास गर्दै आएका नेपाली । फाइल फोटो
सन् २००० जनवरी ११ मा जारी ‘ले अर्गानिका 4/2000’ मार्फत अनियमित अवस्थामा रहेका आप्रवासी नियमित बनाउने पछिल्लो प्रक्रिया हो । जसले अवैध अवस्थामा रहेका आप्रवासी वैध बनाउन सहज बनाएको छ । यो सुबिधा युरोपियन युनियनभन्दा बाहिर मुलुकका मानिसहरुलाई मात्र छ ।

स्पेनमा रेसिडेन्सी कार्ड बनाउने थुप्रै उपायहरु छन् । जस्तो ‘अराइगो फ्यामिलियार’, अराइगो लाभाराल’, ‘अराइगो प्रोफेसोनाल’ लगायतका प्रक्रियाहरु छन् । तर नेपालीहरु माझ सबैभन्दा लोकप्रिय ‘अराइगो सोसियाल’ नै हो ।

‘अराइगो सोसियाल’ मार्फत कार्ड बनाउन तीन वर्ष स्पेनमा बस्दै आएको प्रमाण चाहिन्छ । त्यसपछि पछिल्लो पाँच वर्षको पुलिस रिपोर्ट, साथमा कामको कन्ट्राक्ट पनि अति महत्वपूर्ण पक्षहरु हुन् ।

आफू बस्दै आएका प्रदेश अनुसार भाषा कक्षा पढेको प्रमाणपत्र पनि पेश गर्नुपर्ने हुनसक्छ । अराइगोको प्रमाणपत्र लिन अन्तर्वार्तासम्म दिनुपर्ने पनि हुनसक्छ ।

यो नियम स्पेनको क्याटालोनिया प्रदेशमा निकै लोकप्रिय छ । स्पेन बस्दै आएको तीन वर्षपछि यी सबै प्रक्रिया मार्फत रेसिडेन्सी कार्ड पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ। सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए। प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक ...
: प्रवासमा रहे पनि यहाँका नेपालीले मौलिकताको पर्व दसैं हर्षोल्लासपूर्ण ढंगले मनाएका छन्। अमेरिकाको विस्कान्सनमा सयौंको सख्यामा नेपाली भेला भएर टीकाजमरा लगाएका हुन्। विस्कान्सनमा तीन सय नेपाली एकैठाउँ भेला भएर टीका ग्रहण गरेका छन्। एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीसँग टीका लगाउन अमेरिकाको विभिन्न राज्यबाट नेपालीहरू विस्कान्सन पुगेका हुन्। सुवेदी निवासमा भेला भएका नेपालीहरूले ...
: नेपालीसहित ६ जना आप्रवासीलाई ग्वाटेमालामा गोली हानी हत्या गरिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिन सेनाले नेपालीसहित ६ जना आप्रवासीको गोली हानी हत्या गरेका हुन्। ट्रकमा रहेका नेपाली, भारतीय, पाकिस्तानी र इजिप्ट र क्युबाका नागरिक रहेको भारतीय मिडिया द हिन्दीले उल्लेख गरेको छ। ट्रकमा रहेका उनीहरूलाई ग्वाटेमालाको सीमानामा दुई जना मेक्सिन सेनाले अन्धाधुन्ध गोली प्रहार ...
। ओकको हरियाली वन छिचोल्दै बाल्टिमोरदेखि उत्तरपूर्व हानिएपछि केही माइलको दूरीमा आइपुग्छ ग्लेन आर्म । चारैतिर हरिया रुख र घाँसले ढाकिएको चिटिक्कको यो बतासे थुम्को कुनैबेला फ्रान्सेली शासक नेपोलियन बोनापार्टको पुर्ख्यौली सम्पत्ति थियो । यतिबेला यो थुम्को नेपाली समुदायको स्वामित्वमा छ । ग्लेन आर्म डाँडाको एक हजार ९७१ रोपनीमा फैलिएको वन क्षेत्र जति मनोहर छ, उत्तिकै ...
। ग्वाटेमाला सिमानामा मेक्सिकन सैनिकले चलाएको गाेली लागेर ६ जना आप्रवासी मारिएका छन् । ग्वाटेमाला सिमाना हुँदै अमेरिका गइरहेका नेपाल, भारत र पाकिस्तानका आप्रवासी चढेको ट्रकबाट मारिएका ती आप्रवासी को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्युजसमेतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले बिहीबार समाचार छापेको छ, जहाँ मेक्सिको सरकारको रक्षा विभाग स्रोतलाई ...