मुख्य समाचार
अमेरिकामा नेपोलियनको जग्गा किनेर संस्कृति प्रवर्द्धनमा नेपाली समुदाय
अमेरिकामा नेपोलियनको जग्गा किनेर संस्कृति प्रवर्द्धनमा नेपाली समुदाय

। ओकको हरियाली वन छिचोल्दै बाल्टिमोरदेखि उत्तरपूर्व हानिएपछि केही माइलको दूरीमा आइपुग्छ ग्लेन आर्म । चारैतिर हरिया रुख र घाँसले ढाकिएको चिटिक्कको यो बतासे थुम्को कुनैबेला फ्रान्सेली शासक नेपोलियन बोनापार्टको पुर्ख्यौली सम्पत्ति थियो ।

यतिबेला यो थुम्को नेपाली समुदायको स्वामित्वमा छ । ग्लेन आर्म डाँडाको एक हजार ९७१ रोपनीमा फैलिएको वन क्षेत्र जति मनोहर छ, उत्तिकै संस्कृति र ज्ञान हस्तान्तरणको माध्यम पनि ।




बोनापार्टको परिवारबाट सन् २०१७ मा जग्गा लिएपछि नेपाली समुदायले त्यहाँ यतिबेला हिन्दू-बुद्ध मन्दिर बनाएका छन् । यतिबेला यो थलो हिन्दू र बौद्ध धर्मावलम्वीको आस्थाको प्रतीक बनेको छ ।

यो जग्गाको आफ्नै ऐतिहासिक मूल्य छ । अमेरिकी राष्ट्रपति रुजभेल्टको समयमा ऊर्जामन्त्री र न्यायाधिवक्ता बनेका बोनापार्टका कजनको शेषपछि त्यो जग्गा बिक्रीमा राखियो । महँगो छ भन्ने जान्दाजान्दै नेपाली समुदायले त्यो जग्गा किने ।




हिन्दू र बौद्ध धर्मावलम्वीको आकर्षक गन्तव्य हिन्दू-बुद्ध मन्दिरमा दैनिक २०० भक्तजन पुग्छन् । स्वयम्भु र मुक्तिनाथजस्तै यो मन्दिर यी दुई धर्मावलम्वीको आस्थाको संगमस्थल हो । शनिबार, आइतबार र चाडपर्वमा यहाँ प्रार्थना हुन्छ । मन बहलाउन पनि ग्लेन आर्मको डाँडो उपयुक्त थलो हो । कतिपयका लागि सामाजिक सद्भाव आत्मसाथ गर्ने थलो पनि ।

यो थलो नेपालीको मात्र होइन बरु थाई, बर्मिज, भुटानी र भारतीयको पनि गन्तव्य बनिरहेको छ । मेरिल्याण्डमा नेपालीको संख्या बढ्न थालेपछि दैनिक पूजा, विवाह, व्रतवन्ध र श्राद्ध यहाँ हुन थालेको छ ।
जमरा राख्न पनि मुस्किल पर्ने, अपार्टमेन्ट र घरमा खुम्चिएका नेपाली समुदायले फराकिलो ढंगमा धार्मिक विधिको अभ्यास गर्न पाएका छन् ।

संस्कृति र सहिष्णुताको केन्द्र


अमेरिकामा बस्दै आएका नेपालीको पहिलो पुस्ता धर्म, संस्कृति संरक्षणमा जागरुक देखिन्छ, दोस्रो पुस्तामा नेपाली भाषा, संस्कृति र धर्मको प्रसारमा चिन्तित पनि । सन् २०१४ मा सामान्य भाषा स्कुलबाट सुरु भएको धर्म र संस्कृतिको केन्द्र बनाउने यो अभियान अहिले ग्लेन आर्मसम्म आइपुगेको हो ।

हिन्दु र बौद्ध मात्र होइन, इसाई धर्मावलम्बी पनि यो थलोमा पुग्छन् र धार्मिक सहिष्णुताको उदाहरण पेश गर्छन् । ‘यो थलो सांस्कृतिक केन्द्र बन्दैछ’ हिन्दू-बुद्ध मन्दिरका सचिव तथा पत्रकार तरुण पौडेल भन्छन्, ‘भाषा, संस्कृति र धर्मलाई जोड्नका लागि हामीले प्रयत्न गरिरहेका छौं । यो एउटा धार्मिक सहिष्णुताको थलो पनि हो । बढ्दो नेपाली जनसंख्या हेरेर पहिलो पुस्ताले संयोगवश यसको सुरुवात गरेको हो ।’

विदेशी भूमि, त्यो पनि अमेरिकामा नेपाली धर्मसंस्कार र संस्कृतिलाई जीवन्त तुल्याउनु चुनौतिपूर्ण हो । यसलाई सजीव तुल्याउन मन्दिर र हलबाट संकलन हुने मनग्य भेटी, विवाह र व्रतवन्धबाट प्राप्त हुने रकमले खर्च चलिरहेको छ । मेरिल्याण्ड राज्यले पनि बेलाबखत सहयोग पुर्‍याएकै छ ।

‘अमेरिकी कानूनअनुसार कुनै एउटा धर्मलाई राज्य र सरकारले सहयोग गर्न मिल्दैन’ पौडेल भन्छन्, ‘तर संस्कृति, भाषा, वृद्धवृद्धा र विभिन्न कार्यक्रम भनेर हामीले कनेक्सनबाट लिएका छौं । यसले आर्थिकरुपमा गतिशील तुल्याउन सजिलो भैरहेको छ ।’



अर्थ संकलनका लागि सन् २०१८ मा महायज्ञ पनि गरिएको थियो । सन् २०२४ मा गरिएको अर्को महायज्ञमा २० लाख डलर संकलन भएको थियो । अहिले राज्यबाट अनुमति लिने काम सबै सकिएको र सार्वजनिक थलो बनाउने काम तीव्ररुपमा भैरहेको पौडेल बताउँछन् ।

स्थानीय कानूनअनुसार सार्वजनिक थलो बनाएपछि पार्किङ, शौचालय, सुरक्षा संयन्त्रका पूर्वाधार, अपांगमैत्री हुनुपर्छ ।

अहिले नेपालबाटै पुजारी मगाएर पूजाआजा भैरहेको छ । स्वयंसेवकको रुपमा दुई जना बौद्ध लामा पनि छन् । लामाहरु बुद्धपूर्णिमा र बौद्ध धर्मको चाडबाडमा स्वयंसेवा गर्छन् ।

नयाँपुस्तालाई नेपाली भाषा, संस्कृति सिकाउँदै

यो ठाउँको निर्माण उद्देश्य नेपाली समुदायलाई जोड्नु रहेको पौडेल बताउँछन् । ‘नेपाली समुदायलाई केन्द्रित गरेर संरचना बनाइएको हो । बुद्ध भनेको पनि नेपाललाई जोड्ने कुरा हो । संस्कृति र भाषालाई सँगै लैजान खोजेका हौं’ पौडेल भन्छन् ।

‘जो नेपालमा १५-२० वर्ष, ४० वर्ष बसेर आएका छन्, उनीहरुलाई नेपालको धर्म, चलन सबै थाहा छ । जो यहाँ जन्मिए, जो यहाँ पढेका छन् । जो हुर्कनेवाला छन्, उनीहरुलाई कम थाहा हुन्छ भनेर यस्तो ठाउँ राखेको हो’ यो थलोको महत्वबारे पौडेलले भने ।

अहिले हिन्दू र बौद्ध परम्पराका सबै चाडपर्व मनाइन्छ मन्दिरमा । भाषा स्कुल पनि चलिराखेकै छ । ६५ जना विद्यार्थीले नेपाली भाषा सिकिरहेका छन् । नेपाली किताब पढाइ हुन्छ । उनीहरुले नेपाली भाषा सिके भने समुदायसँग सञ्चार सम्पर्क स्थापित गर्न सक्ने आशा छ ।


पछिल्लो समय बच्चा मात्र हैन, नाति-नातिनी हेर्न भन्दै अमेरिका पुग्ने प्रौढको संख्या पनि उच्च छ । ‘बाबु-आमालाई यतै बस्ने व्यवस्था मिलाएर ल्याइने गरिएको छ’ पौडेल भन्छन्, ‘हजुरबुवा हजुरआमा अंग्रेजी बोल्नुहुन्न । नाती-नातिनाले नेपाली बोल्दैनन् । उनीहरुमा पारिवारिक एकता गराउन पनि भाषा र संस्कृति सिकाउने कुरा महत्वपूर्ण रह्यो ।’

बाल्टिमोरका सामाजिक अगुवा तथा फिल्म निर्देशक गोपालचन्द्र लामिछाने पनि यस्ता सामाजिक थलोले परिवारलाई संस्कार र संस्कृतिसँग जोड्ने बताउँछन् । ‘सकेसम्म नेपालसँग नजिक बनाउने हाम्रो प्रयास हो,’ उनी भन्छन् ।

हुनसक्छ यही कारण, अहिले त्यहाँ नेपालकै शैलीमा इन्द्रजात्रा पनि मनाउन थालिएको छ । ‘फेमिली बन्डका लागि पनि यस्तो गतिविधि हुन जरुरी छ’ लामिछाने भन्छन् ।

कान्छो पुस्तालाई माटोसँग जोड्ने प्रयत्न



ग्लेन आर्मको हिन्दू-बुद्ध मन्दिर धार्मिक र संस्कृतिको केन्द्र मात्र हैन, कृषि र माटोलाई अमेरिकी डायस्पोरामा हुर्किएको पछिल्लो नेपाली पुस्तासँग जोड्ने प्रयत्न पनि हो । त्यहाँको भिरालो जमिनलाई उपयोग गर्न फलफूल रोपिएको छ । फिग र ब्लुबेरी फलाइएको छ ।

नेपालमा हुने कृषि उत्पादन लगाइएको छ । खुर्सानी, गोलभेँडा, सिमी र साग ग्लेन आर्मको भिरालो पाखोमा उमारिएको छ । ‘यो देख्यो भने परिवारभित्रको बच्चा पनि भान्सामा जान तयार हुन्छ । किचनमा गएर काम गरेको देखेपछि बुझ्न प्रेरित हुन्छ’ पौडेल भन्छन् ।

त्यहाँको भिरालो जमिनमा खेतीका लागि आकाशे पानी प्रयोग हुन्छ । यसका लागि आकाशे पानी संकलन गर्ने ट्यांकी राखिएको छ । कृषि उत्पादनमा आकाशे पानी मलिलो हुने भएकाले यस्तो पूर्वाधार बनाइएको हो ।



अमेरिकामा नेपाली समुदायको पछिल्लो पुस्ता यस्तो छ जसलाई कृषि उत्पादनको पद्दति थाहा छैन । ‘आलुको रुख कस्तो हुन्छ भन्छन् । आलु त रुखमा होइन, जरामा फल्छ भन्ने थाहा हुँदैन’ उनी भन्छन्, ‘यहाँ आलु पनि छ । पिँडालु पनि छ । यसले उनीहरुलाई कुनै न कुनै रुपमा माटो र प्रकृतिसँग जोड्छ ।’

‘माटोसँग जोडियो भने सबैकुरा त्यहाँबाट आउँछ । माटोलाई छुने र अनुभुति गर्ने कुराले उनीहरुलाई वास्तविक ज्ञानमा लैजान्छ’ उनको बुझाइ छ ।

प्रांगणकै एक घरमा म्याग्दी घर भएका एक व्यक्ति तुलसीको विरुवा बिक्री गरिरहेको अवस्थामा भेटिए । त्यहाँ उत्पादित तुलसीको बिरुवालाई उनी ५ डलरमा बिक्री गर्दै थिए ।

मेरिल्याण्ड अमेरिकामा तीव्ररुपमा फैलिएको नेपाली डायस्पोरा हो । नेपालीको जनसंख्या धेरै हुने ५ राज्यमध्ये यो पर्छ । पहिलो पुस्ता यहाँ के छ भनेर त्यसको खोजीमा निस्किएको छ भने, दोस्रो पुस्ता कसरी अमेरिकीसँग प्रतिस्पर्धी हुने भनेर अघि बढिरहेको देखिन्छ ।

– अमेरिकाबाट फर्केपछि

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरान–अमेरिका तनावका कारण मध्यपूर्वका विभिन्न देशका ट्रान्जिटमा रहेका नेपालीहरूलाई उद्धार गर्न रकम अभाव भएको छ। आपतकालीन उद्धारका लागि परराष्ट्र मन्त्रालयमा छुट्टै कोष नभएकाले तत्काल उद्धार कार्यअघि बढाउन समस्या देखिएको हो। ती देशहरूमा रहेका नेपाली नियोगहरूमा पठाउनका लागि परराष्ट्र मन्त्रालयले १०–१० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मध्यपूर्वका १२ वटा देशका ...
— अमेरिका–इजरायल र इरानबीच युद्ध चर्कंदै जाँदा पश्चिम एसियामा रहेका नेपाली श्रमिकको सुरक्षा चिन्ता बढेको छ । यूएईमा इरानले गरेको ड्रोन हमलामा परी १७ फागुनमै एक नेपालीको मृत्यु भएको थियो, त्यसयता १५ नेपाली घाइते भइसकेका छन् । अमेरिकाले इरानमाथि हमला बढाइरहँदा इरानले पनि संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन, कुवेत र ओमानमा मिसाइल र ड्रोन ...
: परराष्ट्र मन्त्रालयले इरानी आक्रमबाट युएईमा १५ जना नेपाली घाइते रहेको बताएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गरेर परराष्ट्र मन्त्रालयले उक्त जानकारी गराएको हो। मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार घाइतेमध्ये १४ जना नेपाली उपचार गरेर काममा फर्किसकेका छन्। उनीहरू ड्रोन आक्रमणमा परेर घाइते भएका थिए। सोही आक्रमणमा परेर एक जना नेपालीको निधनसमेत भएको थियो।
: झापा दमकका केशव कार्कीको शिरमाथि ड्रोन उड्न थालेको १० दिनभन्दा बढी भइसकेको छ। २० वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमामा कार्यरत कार्की नेपाल फर्कने कि नफर्कने भन्नेमा द्विविधामा छन्। दुबईमा कार्यरत नुवाकोटका श्याम पाठकको कमाइ पनि राम्रै छ। एक छोरालाई पढाएर श्रीमतीसहित दुबईमै बसिरहेका पाठकलाई अहिलेको युद्धले भने रनभुल्ल पारेको छ। ‘केही दिन ...
। मध्यपूर्वमा बढ्दो तनावकाबीच ५७ हजार बढी नेपालीले आफ्नो विवरण सरकारी संयन्त्रमा टिपाएका छन् । इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावपछि खाडी मुलुकहरूमा उत्पन्न परिस्थितिका कारण आफ्नो अवस्थाबारे जानकारी दिँदै ५७ हजार १ सय नेपालीले आफ्नो विवरण टिपाएका हुन् । पश्चिम एसियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा ...