मुख्य समाचार
अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान
अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान

। अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ ।

यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् ।




सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ ।

मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ ।




ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् ।

राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । बाइडनले भनेका छन्, ‘यो जीवन र मृत्युको सवाल हो । यो फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ । ईश्वरसँग प्रार्थना गर्दछु कि त्यस्तो चाहिँ नहोस् तर अहिलेसम्म त त्यस्तै लागिरहेको छ ।’

नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिम क्षेत्रमा छ । र, १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढेको छ ।



यो तुफान बुधबार बेलुका टाम्पा खाडी क्षेत्रको जमिनमा बज्रिने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ । यसको बाटो पर्ने क्षेत्रमा विनाश गर्ने अनुमानमा सयौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

अमेरिकी मौसमविदहरुका अनुसार मिल्टन तुफानको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने छ । त्यसैले फ्लोरिडा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । यसले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ ।

प्रभावित क्षेत्रका बासिन्दाले झ्याल बाहिरबाट काठका फल्याक ठोकेर बन्द गरेका छन् ।

यो तुफानका कारण समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठ्ने अनुमान छ । साथै १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ । यो वर्षाका कारण बाढी आउने चेतावनी जारी गरिएको छ ।

अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका तुफानविज्ञ फिल क्लोटजब्याकका अनुसार सेप्टेम्बर महिनापछि एटलान्टिक महासागरमा तीनपटक तुफान आइसकेको छ । अगष्ट र सेप्टेम्बर गरी चार पटक तुफान आइसकेको छ ।

केही दिन अघिमात्रै हेलेन तुफानले अमेरिकामा विध्वंश मच्चाएको थियो । हेलेन तुफानमा परी मृत्यु हुनेको संख्या १३० पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानमा तहरीक-ए-लब्बैकको विरोध प्रदर्शनका कारण राजधानी इस्लामाबाद जाने सडकहरू बन्द गरिएका छन्। सरकारले मोबाइल इन्टरनेट सेवा पनि बन्द गरेको छ। धार्मिक तथा राजनीतिक दल तहरीक-ए-लब्बैक (टीएलपी) ले आज इस्लामाबादमा विरोध प्रदर्शनको आह्वान गरेको हो। बीबीसी उर्दूका अनुसार टीएलपीको घोषणापछि गृहमन्त्री मोहसिन नक्वीले इस्लामाबाद र रावलपिंडीमा मोबाइल इन्टरनेट सेवा बन्द गर्ने निर्णय गरेका हुन्। ...
: नोबेल शान्ति पुरस्कारको घोषणापछि ह्वाइट हाउसले नोबेल समितिको आलोचना गरेको छ। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीवन चेउङले समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको बताएका हुन्। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै चेउङले लेखे, ʻराष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौतामा मध्यस्थता गर्ने, युद्ध अन्त्य गर्ने र जीवन बचाउने काम जारी राख्नुहुनेछ। नोबेल समितिले शान्ति होइन, राजनीति रोजेको प्रमाणित गरेको छ।ʼ उनले ...
: इजरायलले ‘गाजा युद्धविराम र बन्धक रिहाइ’ सम्बन्धी योजनालाई स्वीकृत गरेको छ। प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले एक वक्तव्यमार्फत् गाजा युद्धविराम र बन्धक रिहाइ’ सम्बन्धी योजना स्वीकृत गरेको जनाएको हो। नेतन्याहूले यसलाई महत्त्वपूर्ण घटनाक्रम भनेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका साथै अमेरिकी दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नरलाई धन्यवाद दिएका छन्। विटकफ र ...
: इजरायल र हमासबीच दुई वर्ष लामो युद्ध अन्त्य गर्दै बाँकी बन्धकहरूलाई मुक्त गर्ने ऐतिहासिक सम्झौता बिहीबारदेखि लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा तयार गरिएको यो चरणबद्ध सम्झौताले गाजामा स्थायी शान्तिको दिशा खोल्ने अपेक्षा गरिएको छ। सम्झौताको पहिलो चरणको कार्यतालिका यस्तो छ: बिहीबार - मध्यान्ह १२ बजे: गाजामा युद्धविराम औपचारिक रूपमा सुरु हुने। - साँझ ५ बजे: इजरायली ...
: २०२५ को लागि नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ। नोबेल समितिले भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न, तानाशाहीको सामना गर्दै न्यायपूर्ण र शान्तिपूर्ण तरिकाले लोकतन्त्रका लागि लडेकोमा मारियालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको जनाएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोबेल शान्ति पुरस्कारमा दाबी गर्दै आएका थिए। ट्रम्पले आफूले ...