मुख्य समाचार
इजरायल–लेबनान तनाव : ८५० नेपाली शान्ति सैनिक बंकरमा
इजरायल–लेबनान तनाव : ८५० नेपाली शान्ति सैनिक बंकरमा

। इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएपछि राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिक बंकरमा सरेका छन् ।

संयुक्त राष्ट्रसंघले ‘सेक्युरिटी लेभल ३’ लागू गराएपछि यूएन प्रोटोकल अनुसार सोमबारदेखि नेपाली शान्ति सैनिक बंकरमा सरेको नेपाली सेना उच्च स्रोतले अनलाइनखबरलाई बतायो । यद्यपि, यो प्रोटोकल कति लामो समयसम्म रहन्छ भन्ने खुलाइएको छैन ।




जंगीअड्डाका अनुसार, लेबनानमा ८७७ नेपाली सैनिक रहे पनि २७ जना हेडक्वार्टरमा विभिन्न तहमा कार्यरत छन् ।

‘बाहिरको अवस्था अनुसार, यूएन हेडक्वार्टरले सुरक्षा प्रोटोकल १, २ र ३ मा छुट्याउँछ, त्यसमा के गर्न पाइने, नपाइने भन्ने मापदण्ड नै बनेका छन्’ एक सैन्य अधिकारीले भने, ‘त्यसअनुसार ३ नम्बरमा हुँदा फौजले बाहिर निस्किन पाउँदैन, २ मा हुँदा तोकिएअनुसार निश्चित अवधिका लागि बाहिर हिंड्न मात्र पाइन्छ ।’ दुवै अवस्थामा अपरेशनल गतिविधि भने ठप्प रहने छ ।




इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको इस्लामिक विद्रोही संगठन हिजबुल्लाहलाई समाप्त पार्न भन्दै १५ असोजबाट स्थल कारबाही समेत थालेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आइतबार संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हटाउन समेत चेतावनी दिए । तर राष्ट्रसंघले शान्ति स्थापनाका लागि खटिएको सैनिक फिर्ता नहुने जवाफ दिएको छ ।

यसले तनाव बढेको छ । शुक्रबार हवाई आक्रमणका क्रममा श्रीलंकाका दुई जना शान्ति सैनिक घाइते भएका छन् । नेपाली सैनिक अधिकृतहरुले भने शान्ति सेनालाई लक्षित गरेर कारबाही नगरिए पनि आसपासमा फायरिङ हुँदा त्यसको केही प्रभाव शान्ति सैनिक खटिएको इलाकामा पनि परेको विश्लेषण गरेका छन् ।

‘स्थल कारबाही हुँदा युद्धरत दुवै पक्षले शान्ति सैनिक रहेको वरिपरिको इलाका प्रयोग गर्न खोज्छन्, त्यस्तोमा दुई पक्षबीच तनाव हुँदा शान्ति सैनिकले प्रयोग गर्ने पोष्ट अथवा बाहिर बस्ने टोलीलाई प्रभाव पर्न सक्छ’ एक उच्च सैनिक अधिकारीले भने, ‘नियतवश शान्ति सैनिकलाई नै लक्षित गर्ने काम हुँदैन भन्ने बुझाइ हो ।’

लेबनानको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (यूनिफिल) ले शनिबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय विकसित घटनाक्रममा पाँच जना शान्ति सैनिक घाइते भएको पुष्टि गरेको छ । त्यसैले संयुक्त राष्ट्रसंघले सोमबारदेखि शान्ति सैनिक खटिएको क्षेत्रमा ‘लेभल थ्री’को सुरक्षा प्रोटोकल लागू गर्ने निर्णय छ ।

यो प्रोटोकल लामो समय रहँदैन : सैनिक प्रवक्ता

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले पनि नेपाली सैनिक बंकरमा बसेको पुष्टि गरेका छन् । तर त्यो लामो समयसम्म नजाने केसीले बताएका छन् ।

‘सुरक्षा परिस्थिति अनुसार यूएनले सेक्युरिटी स्ट्याण्डर्ड तय गर्छ, त्यसअनुसार कहिले २, कहिले ३ भइरहन्छ’, उनले अनलाइनखबरसँग भने, ‘कहिलेकाहीं लेभल थ्री २०/२१ घन्टासम्म गएको अवस्था छ । तर, बंकरमा खानेपानी रासनको व्यवस्थापनका लागि पनि यो अवस्था लामो समयसम्म जाँदैन ।’

अधिकारीहरुका अनुसार, सेनाले बंकरमा निश्चित समयका लागि रासन, पानी लगायतको व्यवस्थापन सधैं गरिरहेको हुन्छ । तर, लामो समयसम्म पूर्णतः मूभमेन्ट बन्द हुँदा कठिनाइ देखा पर्छ ।

त्यसैले परिस्थिति केही सहज हुने वित्तिकै सुरक्षा लेभल परिवर्तन हुने सैनिक प्रवक्ता केसीले बताए ।

यद्यपि सेक्यूरिटी लेभल २ मा भएको बेला हुने शान्ति सैनिकको निश्चित गतिविधिबारे पनि तनावमा रहेका दुवै पक्षका सेनालाई जानकारी दिएर गरिन्छ । केसीको भनाइमा हालसम्म नेपाली फौज लेबनानमा सुरक्षित अवस्थामा छन् ।

‘परिस्थिति जटिल बन्दैछ, तनाव थप बढ्यो भने समस्या हुनसक्छ । यद्यपि, हामीले यूएनको पोजिसनलाई हेर्ने हो’ केसीले भने, ‘यो विषय अन्तर्राष्ट्रियकरण पनि भइसकेकाले परिस्थितिलाई मूल्यांकन गरिरहेका छौं र शान्ति सेनालाई लक्षित गरेर गतिविधि नहुने बुझेका छौं ।’

लेबनानमा शान्ति मिसनमा खटिएका नेपालसहित ३३ मुलुकले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै इजरायली सेनाले गरेको आक्रमणको भर्त्सना पनि गरेका छन् । विज्ञप्तिमा हस्ताक्षर गरेका मुलुकहरुले संघर्षरत पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानूनको पालना गर्न र शान्ति सुव्यवस्था कायम राख्न पनि आह्वान गरेका छन् ।

युरोपियन युनियन (ईयू) ले पनि इजरायली कदमप्रति विरोध जनाएको छ भने आफ्ना सैनिक घाइते भएपछि श्रीलंकाले शान्ति स्थापनार्थ खटिएका सैनिक रहेको क्षेत्रमा सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ । संयुक्त राष्ट्रसंघको निर्देशन अनुसार, लेबनानको सीमा क्षेत्रमा शान्ति स्थापनार्थ नेपाली सेना सन् १९७८ देखि खटिंदै आएको छ ।

निरन्तर सम्पर्कमा छ शान्ति निर्देशनालय

पछिल्लो समय इजरायल–लेबनान सीमा क्षेत्रमा उत्पन्न तनावबारे जंगीअड्डामा सहायक रथी प्रेमबहादुर पुनको नेतृत्वमा रहेको शान्ति सेना निर्देशनालयले निरन्तर ब्रिफिङ लिइरहेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत खटिए पनि नेपाललाई समेत आफ्नो सैनिकलाई फिर्ता बोलाउने अधिकार छ ।

तर अहिले परिस्थिति त्यो तहसम्म पुगिनसकेको एक सैनिक उच्च अधिकारीले अनलाइनखबरलाई बताए ।



‘अहिले भनेको नेपाली सेनाले संयुक्त राष्ट्रसंघकै अगाडिको मुभलाई हेरिरहेको छ, संयुक्त राष्ट्रसंघको हेडक्वार्टरसँग पनि निरन्तर संवाद भइरहेको छ’, ती अधिकारीले भने । स्रोतका अनुसार, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको हेडक्वार्टरमा पनि मंगलबार शान्ति सैनिकको सुरक्षाबारे छलफल हुँदैछ ।

छलफलमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापाले गरिरहेका छन् । नियोगबाट नेपाली सेनाबाट महासेनानी तहको अधिकारीको उपस्थिति छ । ‘यूएनको हेडक्वार्टरबाट पनि भोलि (बुधबार) सम्ममा कुनै निर्णय आउन सक्छ’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘छलफलमा नेपालसँगै लेबनानमा शान्ति सैनिकका रुपमा खटिएका अन्य देशका प्रतिनिधिहरुको सहभागी हुनेछन् ।’

प्रधानसेनापति अशोकराज सिग्देलले जंगीअड्डाका उच्च अधिकृतहरुलाई समेत राखेर शान्ति सैनिकको अवस्थाबारे केहिअघि लेबनानमा खटिएका सैन्य अधिकारीहरुसँग भर्चुअल संवाद गरेका थिए ।

छलफलमा इजरायल–सिरिया सीमा क्षेत्रमा खटिएको युनाइटेड नेशन डिसइङ्गेजमेन्ट अब्जर्बर फोर्स (अनडोफ) का फोर्स कमाण्डर रथी निर्मलकुमार थापा, लेबनानस्थित युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर उपरथी चोकबहादुर ढकाल सहित नेपालका वरिष्ठ सैन्य अधिकारीहरु सहभागी थिए ।

छलफलमा अधिकारीहरुले पछिल्लो समय उत्पन्न परिस्थिति र विकसित घटनाक्रमबारे प्रधानसेनापति सिग्देललाई जानकारी गराएका थिए । ब्रिफिङ लिएपछि सिग्देलले मध्यपूर्वी देशको सीमा क्षेत्रमा शान्ति स्थापनार्थ खटिएका बेला आउनसक्ने सम्भावित सुरक्षा चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।

त्यसक्रममा प्रधानसेनापति सिग्देलले प्रतिकूल अवस्थामा पनि नेपाली शान्ति सैनिकहरुले अनुशासन र कर्तव्यपरायण देखाएको भन्दै प्रशंसा गरेको सैनिक प्रवक्ता केसी बताउँछन् ।

नेपाल १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेयता शान्ति मिसनमा नेपाली फौज पनि खटिंदै आएको छ । पछिल्लो समय नेपाली सेना विश्वमै सबैभन्दा बढी शान्ति सैनिक पठाउने संगठनमा पर्छ । हाल नेपाली सेनाका ५ हजार ९१८ सैनिक विश्वका ११ विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले बुधबार ‘लिजियन–१’ क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसमा संयुक्त अरब इमिरेट्सको एक उपग्रहसहित ९ वटा उपग्रहहरू थिए । ‘लिजियन–१’ चीनको हल्का तौलको व्यावसायिक रकेट हो, जसलाई सानो र मध्यम आकारका उपग्रहहरूलाई पृथ्वीको अन्य कक्षमा पठाउन डिजाइन गरिएको हो । यो बहु–उपग्रह प्रक्षेपण क्षमतासहित छोटो समयमै उपग्रहहरूलाई योजनाबद्ध कक्षामा पुर्‍याउन सक्षम छ र प्रायः जियुक्वान स्याटेलाइट ...
। कम्बोडियासँग चलिरहेको सीमा झडपमा ९ जना थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताएका छन् । उनका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिकहरूलाई विस्थापित गरे पछि उनीहरुले हाल शरणार्थी शिविरहरूमा शरण लिएका छन् । पत्रकारहरुको साक्षातकारमा सुरासान्टले शरण लिएकै अवस्थामा तीन शरणार्थीको मृत्यु भएको रिपोर्ट ...
। ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ (जीसीआरपीपीबी) ले दशकौँदेखि जेलमा राखिएका सबै भुटानी राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न भुटान सरकारलाई आग्रह गरेको छ । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा संगठनले भुटानमा अझै पनि थुनामा रहेका सबै राजबन्दीहरूको सुरक्षित र निसर्त रिहाइ सुनिश्चित गर्न दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई पनि अपिल गरेको ...
। भेनेजुएलाकी विपक्षी नेता मारिया कोरीना मचाडो नोबेल शान्ति पुरस्कार वितरण समारोहमा उपस्थित हुन सकिनन्। मारियाको सट्टामा उनकी छोरी एना कोरिना सोसाले नर्वेको ओस्लोमा यो पुरस्कार ग्रहण गरिन्। एनाले समारोहमा आफ्नी आमाले लेखेको भाषण पनि पढेर सुनाइन्। आफ्नो लिखित सन्देशमा मचाडोले लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्नका लागि सङ्घर्ष आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले यो ...
— यूएईले संयुक्त राष्ट्र संघको २०२६ का लागि तयार पारिएको 'ग्लोबल ह्युमानिटेरियन ओभरभ्यू'लाई सहयोग गर्न ५५० मिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। यो निर्णय यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनअनुसार गरिएको हो। यस आर्थिक सहयोगको प्रतिबद्धताले दीर्घकालीन मानवीय सेवाप्रति समर्पणलाई झल्काएको यूएईले जनाएको छ । यसले द्वन्द्व, प्राकृतिक प्रकोप तथा विभिन्न ...