मुख्य समाचार
हनीट्र्याप गिरोहसँग प्रहरीकै साँठगाँठ : छानबिनकै बीच प्रमाण मेटाउन इन्स्पेक्टरले अभियुक्तको मोबाइल गायब पारेको भेटियो
हनीट्र्याप गिरोहसँग प्रहरीकै साँठगाँठ : छानबिनकै बीच प्रमाण मेटाउन इन्स्पेक्टरले अभियुक्तको मोबाइल गायब पारेको भेटियो

। गत ६ असोजको साँझ सात बजेतिर जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख शेखर खनाललाई सूचना आयो, ‘प्रहरी प्रभाग, भैंसेपाटीमा प्रहरीकै उपस्थितिबीच पीडित र आरोपीबीच गोप्य लेनदेन गरेर चेक कटाइँदैछ ।’

भैंसेपाटी प्रहरीकी इञ्चार्ज बिनुकुमारी शाहीकै उपस्थितिमा ‘पीडित र पीडक’बीच मिलापत्र हुँदै गरेको सूचना थियो । प्रहरी निरीक्षक (इन्स्पेक्टर) शाही केहीअघि मात्र लागूऔषध नियन्त्रणमा राम्रो काम गरेको भन्दै ललितपुर प्रहरीबाट पुरस्कृत भएकी थिइन् । त्यसैले अधिकृतहरुले सुरुमा यो सूचनाको गम्भीरता नजरअन्दाज गरे ।




एसएसपी खनालले शाहीलाई फोन गरेर पीडित र पीडक दुवै पक्षलाई लिएर जावलाखेलस्थित प्रहरी परिसरमा आउन निर्देशन दिए । ललितपुर प्रहरीले आरोपी ताज मुल इस्लाम, १९ वर्षीय किशोरी सुष्मा विक लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।

जग्गा व्यवसायीसमेत रहेका पीडितलाई पनि छुट्टै राखेर बयान लिन थालियो । त्यसक्रममा कोशी प्रदेशमा भएको घटनामा प्रहरी प्रभाग, भैंसेपाटीले अनावश्यक चासो राख्दै छलफल गराएको भेटिएको ललितपुर प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन् ।




ललितपुर प्रहरी स्रोतका अनुसार, ती जग्गा व्यवसायी किशोरीसँग पूर्वका विभिन्न स्थानमा घुम्न गएका थिए । प्रहरीका अनुसार, त्यसक्रममा उनीहरुबीच ‘केही लेनदेन’ समेत भएको थियो । पछि युवती, ताज इस्लाम, दर्शन पोखरेल लगायत पूर्वबाट ललितपुरको भैंसेपाटी आएर घटनाबारे प्रहरीलाई बताएको खुलेको छ ।

‘इन्स्पेक्टर शाहीलाई भेटेपछि भैंसेपाटी प्रहरीले ती व्यवसायीलाई बोलाएको देखिन्छ, त्यसक्रममा उनलाई केही घन्टा हिरासतमा समेत राखेको भेटिएको छ’, ललितपुर प्रहरी स्रोत भन्छ, ‘त्यतिन्जेल मौखिक सूचनाबाहेक अरु कुनै किसिमको उजुरी भैंसेपाटी प्रहरीसँग थिएन ।’

प्रहरी स्रोतका अनुसार, त्यसपछि इन्स्पेक्टर शाहीले आफ्नै युनिटको प्रहरीलाई प्रयोग गरेर ठाडो निवेदन लेख्न लगाएको भेटिएको छ । त्यसपछि लेनदेन भएको खुल्ने बयान दुवै पक्षबाट आएपछि ललितपुर प्रहरीले यो विषयमा छानबिन गर्न समिति समेत बनाएको थियो ।

ललितपुर प्रहरीका डीएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समितिले जाँचपछि यस मामिलामा इन्स्पेक्टर शाहीको अनावश्यक सक्रियता देखिएको भन्दै अनुुसन्धान गर्नुपर्ने भनेको छ ।

अधिकारी नेतृत्वको समितिमा इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठ, वरिष्ठ सई लोकेन्द्र पण्डितसहितका अधिकारीहरु सदस्य छन् । ललितपुर प्रहरीका अनुसार, समितिको सिफारिस र जिल्ला सरकारी वकिलको कार्यालयले समेत सिफारिस गरेपछि अहिले इन्स्पेक्टर शाहीलाई पनि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा इस्लामहरुसँगै प्रतिवादी बनाइएको छ ।

प्रहरीले जिल्ला अदालत, ललितपुरबाट पक्राउ अनुमति लिएर फरार शाहीको खोजी गरिरहेको छ ।

क्षेत्राधिकार बाहिरको घटनामा शंकास्पद केरकार

प्रहरी प्रभाग, भैंसेपाटीमा प्रहरी सहायक निरीक्षक (सई) को दरबन्दी छ । तर, मन्त्री क्वार्टरसमेत पर्ने इलाका भएकाले काजमा प्रहरी निरीक्षक खटाइँदै आएको छ ।

भैंसेपाटी प्रहरीकै लागि भनेर छुट्टै बजेट विनियोजन हुँदैन, त्यहाँबाट मुद्दा चल्दैन । त्यसैले त्यहाँ हुने गम्भीर प्रकृतिका घटनाका उजुरी कि सातदोबाटो पुग्छन् कि जावलाखेल ।

तर, भैंसेपाटीकी इन्स्पेक्टर शाहीले आफ्नो त के ललितपुर प्रहरीकै क्षेत्रमा नपर्ने घटनामा ठाडो निवेदनका भरमा ‘आरोपीलाई सोधपुछका लागि बोलाएको’ भेटिएको छ । ललितपुर प्रहरीका अनुसार, सुनसरीमा भएको भनिएको घटनाका पीडित आफूकहाँ आएको भए पनि उनले त्यहाँ मुद्दा नचल्ने भनेर फर्काइदिनु पर्थ्यो ।

सामान्यतः कुनै अपराधको घटनास्थल जहाँ हो, त्यहीँको स्थानीय प्रहरी युनिटले अनुसन्धान गर्छ । ‘पीडित पनि भैंसेपाटीका होइनन्, आरोपी पनि उनको क्षेत्रमा बस्ने होइन’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘यस्तोमा उनले आफूले निवेदन लिनु, आरोपीलाई बोलाउनु नै सही देखिँदैन ।’

मोरङका व्यवसायी भए पनि ती व्यक्ति इमाडोलमा पनि बस्दै आएका थिए । ‘यस्तोमा बरु विषय गम्भीर लागेको भए जिल्ला प्रहरी परिसर, ललितपुरमा खबर गर्न सकिन्थ्यो वा महिला सेलतिर पठाइदिन सकिन्थ्यो’, ती अधिकृतले भने, ‘तर, उनले माथिल्लो निकायलाई पनि जानकारी नगराइ लेनदन गराउनुले बदनियत देखाउँछ ।’

छानिबन समितिका सदस्यहरुका अनुसार, भैंसेपाटीमा शाहीकै उपस्थितिका बीच इस्लामको समूह र ती व्यवसायीबीच बार्गेनिङ भएको भेटिएको छ । पक्राउ परेका इस्लाम र व्यवसायी दुवैले ललितपुर प्रहरीसँग ६० लाख रुपैयाँबाट बार्गेनिङ सुरु भएको बताएका छन् ।

‘५० लाखबाट सुरु भएको बार्गेनिङ ३० लाखमा टुंगिएको बयानमा खुलेको छ’, प्रहरी स्रोतले भन्यो, ‘सहमतिपछि ७ लाख रुपैयाँ व्यवसायीले तुरुन्तै इस्लामले भनेअनुसार भीमादेवी बुढाथोकी नामको खातामा हालिदिएको खुलेको छ ।’

बाँकी रहेको २३ लाख रुपैयाँमध्ये १३ लाख रुपैयाँमध्ये अर्को दिन बैंकमा गएर फेरि बुढाथोकीकै नाममा जम्मा बैंकमा जम्मा गर्न लगाएको पाइएको प्रहरी अधिकृतहरुको भनाइ छ ।

ललितपुर प्रहरीका अनुसार, इटहरीबाट पक्राउ गरेर ल्याउँदा बुढाथोकीले आफ्नो एटिएम, चेक लगायत इस्लामले नै चलाउने गरेको बयान दिएकी छन् ।

इन्स्पेक्टर शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाल पनि बैंकमा पैसा जम्मा गर्न जाँदा व्यवसायीसँगै बैंक पुगेको खुलेको छ । यसपछि ललितपुर प्रहरीले हमाललाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, इस्लामसँग सोधपुछका क्रममा यो गिरोहले अन्यत्र पनि यस्तै प्रकृतिबाट विभिन्न व्यक्तिलाई हनी ट्रयापमा पारेको हुनसक्ने देखिएको छ
ललितपुर प्रहरीले यो मामलाबारे थाहा पाउँदा बाँकी रहेको १० लाख रुपैयाँको चेक इस्लामसँगै थियो । तर, ललितपुर प्रहरीले छानबिन गरिरहेका बेला इन्स्पेक्टर शाहीले प्रमाण मेटाउने प्रयास गरेको भेटिएको छ ।

अधिकृतहरुका अनुसार, घटनामा संलग्नहरुलाई बेग्लाबेग्लै राखेर सोधपुछ भइरहेका बेला इन्स्पेक्टर शाहीलाई भने बाहिरै राखिएको थियो । तर, अहिले तिनै शाहीले आफूविरुद्धको प्रमाण मेटाउन प्रहरी कार्यालयबाटै इस्लामसँग भएको मोबाइल र चेक गायब पारेको भेटिएको छ ।

छानबिनमा संलग्न अधिकृतहरुका अनुसार, उनले आफ्ना सवारी चालक सहायक हबल्दार महेन्द्र हमाललाई प्रयोग गरेर इस्लामबाट लिएको पाइएको छ ।

‘यो विषय पनि पछि बयानका क्रममा मात्र थाहा पायौं, सुरुमै यो तहको घटना हो भन्ने भेउ पाएको भए भैंसेपाटीमै टोली पठाएर अनुसन्धान गर्थ्यो’, अनुसन्धानमा संलग्न एक अधिकृतले सुरुमा यो मामलालाई नजरअन्दाज गरिएको स्वीकार्दै भने, ‘मोबाइल हात पार्न सकेको भए इन्सपेक्टर शाही र इस्लामको सम्बन्ध खुल्ने प्रमाणहरु भेटिन्थे भन्ने हाम्रो बुझाइ हो ।’

प्रहरी स्रोतका अनुसार, शाही र इस्लामबीच सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । इस्लाम र शाहीबीच नेपाल प्रहरीका एसपी कमल थापाले सम्बन्ध जोडिदिएको भेटिएको छ । ‘थापा एसपी सा’ब सुनसरीमा प्रहरी प्रमुख हुँदा इस्लामसँग चिनजान रहेछ, उहाँले शाही इन्स्पेक्टर सा’बसँग चिनजान गराइदिनु भएको रहेछ’, स्रोतले भन्यो ।

थापा कञ्चनपुरमा एसपी हुँदा शाही त्यहीँ कार्यरत् थिइन् । त्यसबेला थापाले उनलाई मुद्दा शाखामा महत्वपूर्ण जिम्मेवारी दिएकी थिइन् । पछि एक जना प्रहरी जवान राजेन्द्र नाथले शाहीका कारण जागिर छाड्नु परेको भन्दै भिडियो सार्वजनिक गरेका थिए । त्यसक्रममा शाही विवादमा समेत मुछिएकी थिइन्, आन्तरिक छानबिन समेत भएको थियो ।

यही मामलामा समाचार लेख्दा उनले कञ्चनपुरका दुई पत्रकारविरुद्ध आफू कार्यरत् युनिटमै विद्युतीय अपराध ऐनविपरीतको कसुर गरेको भन्दै जाहेरी दिएकी थिइन् । उजुरीका आधारमा पत्रकार ऐश्वर्या कुँवर र पुष्कर भट्ट पक्राउ परेका थिए ।

अहिले एसपी थापाको इस्लामसँग पुरानै सम्बन्ध रहेको देखिएपछि छानबिन समितिले उनीबारे पनि अनुसन्धान गर्नुपर्ने भन्दै राय लेखेको छ भने त्यसका आधारमा प्रहरी प्रधान कार्यालयले छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र जिसीको नेतृत्वमा समिति बनाएको छ ।

प्रहरी प्रधान कार्यालयले थप जाँचका लागि ललितपुर प्रहरीले बनाएको अधिकारी नेतृत्वको समितिको प्रतिवेदन पनि मागेको छ ।

इन्स्पेक्टर शाहीलाई खोज्न कालिकोटमा पत्राचार

प्रहरी स्रोतका अनुसार, अहिले यो प्रकरणमा इन्स्पेक्टर शाहीसँगै दर्शन पोखरेल फरार छन् ।

ललितपुर प्रहरीले दुवै पक्षलाई लिएर आउनु भनेका बेला पोखरेल प्रहरी प्रभाग, भैंसेपाटीमै थिए । तर, बीचमै उनी भागेको पाइएको प्रहरीको भनाइ छ ।

शाहीको खोजीका लागि ललितपुर प्रहरीले उनको स्थायी ठेगाना रहेको कालीकोटस्थित जिल्ला प्रहरी कार्यालयमा पनि पत्राचार गरेको छ । ‘उहाँको स्थायी घर भएकाले खोजतलास गर्न भन्दै पक्राउ अनुमतिसहित पत्र पठाएका हौं’, प्रहरी स्रोतले भन्यो ।

शाहीले भने पक्राउ अनुमति जारी भइसकेको अवस्थामा कञ्चनपुरका पत्रकार टेकसिंह धामीको फेसबुकमा कमेन्ट गरेकी छन् । उनी फरार भएको भन्दै लेखिएको स्टाटसमा उनले ‘म यतै छु भाइ, चिन्ता नगर’ भन्दै कमेन्ट लेखेको भेटिएको छ । ‘यो विषयलाई पनि नोटिसमा लिएर खोजी गरिरहेका छौं’, ललितपुर प्रहरी स्रोतले भन्यो ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, इस्लामसँग सोधपुछका क्रममा यो गिरोहले अन्यत्र पनि यस्तै प्रकृतिबाट विभिन्न व्यक्तिलाई हनी ट्रयापमा पारेको हुनसक्ने देखिएको छ । ‘दरबारमार्ग प्रहरी वृत्तले मुद्दा चलाएको विदुर शर्मासँग सम्बन्धित मुद्दामा पनि लेनदेन भएको भन्ने बुझेपछि त्यसतर्फ पनि जाँच गरिरहेका छौं’, स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, 'राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन ...
— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साना पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने जालझेल नगर्न सरकारलाई चेतावनी दिएका छन् । ‘जालझेल गरेर साना पार्टी टुक्र्याउने काम नहोस्,’ उनले भने । सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई कपिलवस्तुको खरेन्द्रपुरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले अरू पार्टीलाई टुक्र्याउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने पनि चेतावनी दिए ...
— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताएका छन् । सोमबार जनसभालाई सम्बोधन गर्न कनकासुन्दरीको गोरुचौर आइपुगेका दाहालले वर्तमान सरकारले नै भ्रष्टाचारीको संरक्षण गरिरहेको भन्दै यो सरकारबाट योभन्दा थप अपेक्षा गर्न सक्ने अवस्था नरहेको बताए । प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले भने, 'मैले उति बेला नै ...
। प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक जात्रा र पर्वहरुमा जात्रामा भड्काउ खालका गतिविधि हुन थालेको बताएका छन् । उनले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने भन्दै त्यसलाई रोक्नुपर्ने बताए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक बालेनको फोटो अंकित टिर्सटसहित इन्द्रजात्रामा सहभागी भएकोतर्फ संकेत गर्दै उनले मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका ...
। डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्न भन्दै ऊर्जामन्त्री दिपक खड्काले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । ऊर्जामन्त्री खड्काले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत पदाधिकारी तथा केही उद्योगीहरूलाई मन्त्रालयमा बोलाएका थिए । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्नुपर्ने उद्योगीहरूलाई ८ कात्तिकसम्म रकम भुक्तानीका लागि ताकेता गरेको, तर प्रमाण नदिएसम्म बक्यौता भुक्तानी नगर्ने उद्योगीहरूको ...