मुख्य समाचार
इरानले गरेको आक्रमणको जवाफमा इजरायलले इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेसँगै पश्चिम एसियामा तनाव
इरानले गरेको आक्रमणको जवाफमा इजरायलले इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेसँगै पश्चिम एसियामा तनाव

— करिब एक महिनाअघि इरानले गरेको आक्रमणको जवाफमा इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेसँगै पश्चिम एसियामा तनाव चर्केको छ । इजरायली सुरक्षा फौज (आईडीएफ) ले इरानका सैन्य अखडाहरूमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ । उक्त आक्रमण आफूविरुद्ध इरान र उसका साझेदारहरूले बारम्बार गरेका हमलाको जवाफ भएको इजरायलको दाबी छ ।



इरानले लेबनानस्थित इरान समर्थित समूह हेजबुल्लाहलक्षित आक्रमण गरेसँगै गत अक्टोबर १ मा इजरायलमाथि १ सय ८० वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसको जवाफमा शनिबार आक्रमण गरेको इजरायलको भनाइ छ ।


आईडीएफ प्रवक्ता डानियल हगारीले तत्कालका लागि आफ्नो जवाफी कारबाही पूरा भएको र आक्रमणमा प्रयोग भएका विमानहरू सुरक्षित रूपमा फर्किएको जनाएको छ । इजरायलसामु आफ्नो प्रतिरक्षा गर्ने अधिकार र दायित्व भएको हगारीको भनाइ छ । आईडीएफले गुप्तचरी सूचनाका आधारमा इरानस्थित क्षेप्यास्त्र निर्माण केन्द्रहरूमा प्रहार गरेको जनाएको छ ।

आईडीएफले राजधानी तेहरानका साथै इलम र खुजेस्तानस्थित सैन्य शिविरमा गरेको आक्रमणबाट सीमित क्षति पुगेको इरानी सेनाले जनाएको छ । इजरायली आक्रमणमा चार सैनिकको ज्यान गएको इरानले जनाएको छ । इरानस्थित परमाणु वा तेल प्रशोधन केन्द्रमा भने इजरायलले कुनै निसाना नबनाएको जनाइएको छ ।

आक्रमणको जवाफमा लेबनानी समूह हेजबुल्लाहले उत्तरी इजरायलमा रेकट प्रहार गरेको छ । हेजबुल्लाहले उत्तरी इजरायलस्थित गुप्तचर निकायको मुख्यालय र तेल अभिभस्थित टेल नोफ सैन्य अखडामा ‘साल्भो’ रकेट र ड्रोन आक्रमण गरेको अल जजिराले जनाएको छ । त्यस्तै, हेजबुल्लाहले लेबनानको आइता अल–शाव गाउँको बाह्य क्षेत्रमा रहेका इजरायली सेनालाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ । ती आक्रमणमा भएको क्षतिबारे भने केही उल्लेख गरिएको छैन ।
इरानले इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको र आफ्नो भूमिको रक्षा गर्ने अधिकार रहेको प्रतिक्रिया दिएको छ । ‘इस्लामिक गणतन्त्र इरानले आफूलाई विदेशी आक्रमणविरुद्ध आफ्नो रक्षा गर्नु अधिकार र बाध्यता ठान्छ,’ संयुक्त राष्ट्रसंघीय बडापत्रको धारा ५१ लाई उद्धृत गर्दै इरानी विदेश मन्त्रालयले भनेको छ । उक्त धारामा आत्मरक्षाको अधिकार अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त भएको र कुनै पनि देशले सशस्त्र आक्रमणविरुद्ध आफ्नो रक्षा गर्न सक्ने उल्लेख छ । आईडीएफले सिरियाको राजधानी दमास्कस सहित मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थलमा पनि आक्रमण गरेको छ ।

इराकी राजधानी बग्दादनजिकै पनि विस्फोटन भएको बीबीसीले जनाएको छ । तर इजरायलले इरानबाहेक अन्य देशमा गरिएको आक्रमणबारे कुनै विवरण सार्वजनिक गरेको छैन । इरान र इराकले इजरायली आक्रमणका कारण बन्द गरिएको हवाई सेवा पुनः सञ्चालनमा आएको जनाएका छन् ।

अमेरिकाले इजरायली आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको जनाएको छ । तर उसले इजरायलविरुद्ध बदला नलिन इरानलाई आग्रह गरेको छ । ‘यदि इरानले फेरि जवाफ दिन खोज्यो भने हामी तयार हुनेछौं र इरानका लागि फेरि एक पटक भयावह परिणाम भोग्नेछ,’ अमेरिकी वरिष्ठ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले त्यस्तो देख्न नचाहेको विज्ञप्तिमा उल्लेख छ । ‘इजरायल र इरानबीचको प्रत्यक्ष आक्रमण र प्रत्याक्रमणको अन्त्य हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । लेबनानमा युद्धको अन्त्य सुनिश्चित गर्न र गाजामा युद्धविरामसँगै बन्धकहरूको रिहाइका लागि वासिङटन तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

बेलायतले भने इजरायलसँग इरानी आक्रमणबाट आफूलाई बचाउने अधिकार रहेको बताएको छ । ‘इजरायलसँग इरानी आक्रमणबाट आफूलाई बचाउने अधिकार छ भन्ने कुरामा म स्पष्ट छु र हामीले थप क्षेत्रीय द्वन्द्वबाट बच्न र सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुपर्छ भन्ने कुरामा पनि म स्पष्ट छु,’ समोआमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बेलायती प्रधानमन्त्री केअर स्टार्मरले भने ।

इरानले आक्रमणको प्रतिक्रिया दिन नहुने स्टार्मरको भनाइ छ । ‘इरानले प्रतिक्रिया दिनु हुँदैन । हामी यस क्षेत्रको तनावपूर्ण अवस्था अन्त्यका लागि सहयोगीहरूसँग काम गर्न जारी राख्नेछौं,’ उनले भने । त्यस्तै, बेलायत सरकारका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा बेलायत इजरायलको आत्मरक्षा र अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत रहेर आफ्नो रक्षा गर्ने अधिकारको साथमा रहेको जनाइएको थियो ।

रुसले विकसित घटनाक्रमले इरान थप आक्रामक हुने चिन्ता व्यक्त गरेको छ । ‘हामी संलग्न सबै पक्षहरूलाई संयमता अपनाउन, हिंसा रोक्न र विनाशकारी परिदृश्यबाट बच्न आग्रह गर्दछौं,’ रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्, ‘इरानलाई प्रतिशोधात्मक कारबाहीमा उक्साउन रोक्न र अनियन्त्रित तनावबाट बाहिर निस्कनु आवश्यक छ ।’

साउदी अरब, मलेसिया, संयुक्त अरब इमरेट्स (यूएई), कतार, इजिप्ट, पाकिस्तान, टर्की, इराक, जोर्डन, कुवेत, ओमानलगायत देशले आक्रमणको निन्दा गरेका छन् । इजरायली आक्रमणले इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुन र मान्यताको उल्लंघन भएको साउदी अरबको भनाइ छ ।
त्यस्तै, मलेसियाले इरानस्थित सैन्य अखडामा इजरायलले गरेको आक्रमण ‘क्षेत्रीय सुरक्षालाई गम्भीर रूपमा कमजोर पार्ने’ अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनको भएको जनाएको छ । ‘मलेसियाले शत्रुताको तत्काल अन्त्य गर्न र हिंसाको चक्रको अन्त्य गर्न आह्वान गर्छ,’ मलेसियाको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा मध्यपूर्वका देशहरूमा इजरायलको निरन्तर आक्रमणले यस क्षेत्रलाई फराकिलो युद्धको छेउमा पुर्‍याइरहेको उल्लेख गरिएको छ ।

यूएईले इजरायली आक्रमणको निन्दा गर्दै ‘जोखिम न्यूनीकरण गर्न र द्वन्द्व रोक्न अत्यन्त्र आत्मसंयम हुन आवश्यक’ भएको जनाइएको छ । त्यस्तै, कतारले इजरायली आक्रमणले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भएको र सम्बन्धित सबै पक्षहरूलाई संयमता अपनाउन आग्रह गरेको छ । इजिप्टले मध्यपूर्वमा बढ्दो तनावबाट निकै चिन्तित भएको र क्षेत्रीय सुरक्षा तथा स्थिरतालाई खतरामा पार्ने सबै उपायहरूको निन्दा गरेको छ ।

पाकिस्तानले इरानस्थित सैन्य अखडाहरूमा इजरायलले गरेको आक्रमणको निन्दा गर्दै पश्चिम एसियामा द्वन्द्व बढाउनका लागि इजरायल ‘पूर्ण जिम्मेवार’ भएको जनाएको छ । ‘इस्लामिक गणतन्त्र इरानविरुद्ध इजरायलले शनिबार बिहान गरेको आक्रमणको पाकिस्तानले कडा निन्दा गर्दछ,’ पाकिस्तानी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, टर्कीले इजरायली आक्रमणको भर्त्सना गर्दै अन्तर्राष्ट्रिय समुदायले कानुन कार्यान्वयन गरी इजरायली प्रधानमन्त्री नेतान्याहु सरकारलाई रोक्नुपर्ने जनाएको छ । ‘हामी यस क्षेत्रमा युद्ध, हिंसा वा अराजकता चाहँदैनौं,’ टर्कीको विदेश मन्त्रालयले भनेको छ । इराकी प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै ‘गाजा र लेबनानमा युद्धविराम गरी स्थायित्वका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रयास गरिनुपर्ने’ जनाएको छ । जोर्डन, कुवेत, ओमान र प्यालेस्टिनी समूह हमासले पनि इजरायली आक्रमणको निन्दा गरेका छन् ।

इजरायलले तत्कालका लागि इरानमाथिको आक्रमण पूरा भएको जनाए पनि शनिबारको घटनाले पश्चिमा एसिया क्षेत्रमा तनाव थप बढ्दै जाने देखिन्छ । खासगरी घटनापछि इरान र उसका साझेदारहरू इजरायलसँग थप क्रुद्ध भएका छन् । यसको अर्थ इरानले इजरायलमाथि आक्रमण गर्ने अवसरको पर्खाइ सधैं रहने निश्चित छ ।

कसको सैन्य सामर्थ्य कति ?

जनसंख्या र भूगोलका आधारमा इरान इजरायलभन्दा निकै ठूलो छ । १६ लाख ४८ हजार १ सय ९५ वर्गकिमि क्षेत्रमा फैलिएको इरानको जनसंख्या करिब ९ करोड छ । २२ हजार १ सय ४५ वर्गकिलोमिटर क्षेत्रफल रहेको इजरायलको जनसंख्या ९४ लाख छ ।

भौगोलिक हिसाबले इजरायल र इरानबीचको हवाई दूरी १ हजार ७ सय २४ किलोमिटर छ । यस्तो अवस्थामा दुवै देशले एकअर्कामाथि आक्रमण गर्नका लागि सबैभन्दा सहज भनेको क्षेप्यास्त्र प्रहार नै हो । इरान पश्चिम एसियाकै सबैभन्दा ठूलो र विविधतायुक्त क्षेप्यास्त्र विकास गर्ने देश हो । इरानसँग कम्तीमा तीन हजार बलिस्टिक क्षेप्यास्त्र छन् ।

क्षेप्यास्त्रसँगै दुवै देशले एकअर्कामाथि आक्रमण गर्न ड्रोनको प्रयोग गर्ने गरेका छन् । इरानसँग छोटो र लामो दूरीमा प्रहार गर्ने मिल्ने ड्रोन पनि छन् । इजरायलले भने विभिन्न देशबाट क्षेप्यास्त्र आयात गर्ने गरेको छ । इजरायलको सबैभन्दा हातहतियार आपूर्तिकर्ता अमेरिका हो । अमेरिकी सहयोगमा नै इजरायल प्राविधिक रूपमा विश्वकै दक्ष सेना बनेको मानिन्छ । इजरायलले आयात गर्ने हातहतियार मध्ये करिब ६९ प्रतिशत अमेरिकी हुन् ।

त्यस्तै, अमेरिकाले दुई देशबीच भएको सम्झौताअनुसार इजरेललाई वार्षिक सैन्य सहायताका रूपमा ३ अर्ब ८ करोड अमेरिकी डलर दिने गरेको छ । अनुदानअन्तर्गत इजरायलले आक्रमणका लागि हालसम्मकै उत्कृष्ट मानिएको ‘एफ–३५ जोइन्ट स्ट्राइक फाइटर’ विमान किन्ने गरेको छ । इजरायलले अमेरिकासँग त्यस्ता ७५ वटा विमानको सम्झौता गरेकोमा ३० वटा पाइसकेको बीबीसीले जनाएको छ ।

जर्मनीसँग इजरायलले हवाई प्रतिरक्षा प्रणाली र सञ्चार उपकरणका सामग्री किन्ने गरेको छ । हेलिकोप्टर र नौसेनाका अस्त्र भने इटालीसँग खरिद गर्ने गरेको छ । त्यस्तै, बेलायत र क्यानडासँग पनि अस्त्र किन्ने गरेको छ । रक्षा खर्च हेर्ने हो भने इरानको भन्दा इजरायलको छ । अघिल्लो वर्ष इजरायलको रक्षा बजेट १९ अर्ब अमेरिकी डलर थियो भने इरानको ७ अर्ब ४ करोड मात्र थियो । इजरायलसँग १ लाख ७० हजार र इरानसँग ६ लाख सैनिक छन् । दुवै देशबीच औपचारिक रूपमा युद्ध नभए पनि लामो समयदेखि अनौपचारिक द्वन्द्वमा छन् ।

भौगोलिक हिसाबले निकै टाढा भएका कारण दुई देशका सेनाबीच प्रत्यक्ष युद्ध हुने सम्भावना छैन । इरानसहित पश्चिम एसिया क्षेत्रका अन्य देशमा इरानी अधिकारीहरूको हत्याका लागि इजरायल जिम्मेवार ठानिन्छ । इरानले भने इजरायलमाथि अन्य कुनै पक्षमार्फत अर्थात् ‘प्रोक्सी’ आक्रमण गर्ने गरेको छ । त्यसका लागि उसले हमास, हेजबुल्लाह वा हुथीलाई प्रयोग गर्ने गरेको छ । इरानले लेबनानस्थित सैन्य तथा राजनीतिक समूह हेज्बुल्लाह, यमनस्थित हुथी र गाजास्थित हमासलाई अस्त्र, गोलाबारुद र प्रशिक्षण प्रदान गर्ने गरेको छ । त्यस्तै, इराक र सिरियास्थित इरान समर्थित विभिन्न समूहहरू पनि शक्तिशाली रहेको बताइन्छ । इरानले सिरियाली सरकारलाई साथ दिन्छ र सिरियाली भूमिबाट समेत आफूमाथि आक्रमण गर्ने गरेको इजरायलको दाबी छ ।

इजरायलको प्रतिरक्षा प्रणालीका मेरुदण्ड ‘आइरन डोम’ र ‘एरो’ हुन् । यिनै प्रणालीमार्फत इजरायलले आफूमाथि प्रहार गरिएका क्षेप्यास्त्रलगायतका हतियारहरू निस्तेज पार्ने गरेको छ । इरानको प्रतिरक्षा प्रणाली भने प्राविधिक रूपमा इजरायलको भन्दा कमजोर छ । इजरायलसँग युद्धका लागि प्रयोग गर्न सकिने ३ सय ४० वटा सैन्य विमान छन् । इजरेलसँग लामो दूरीमा आक्रमण गर्न सक्ने ‘एफ–१५’ जेट विमान, राडार छल्न सक्ने ‘एफ–३५’ जेट विमान र तीव्र गतिमा आक्रमण गर्न सक्ने हेलिकोप्टरहरू छन् । तर इरानसँग ३२ वटा मात्र लडाइँमा प्रयोग गर्न सकिने विमान छन् । यस आधारमा हवाई आक्रमणका लागि इजरायल इरानभन्दा बढी क्षमतावान् देखिन्छ । इरानी जलसेनासँग २ सय २० वटा पानीजहाज छन् भने इजरेलसँग ६० वटा मात्र छन् ।

इजरालसँग परमाणु अस्त्र भएको ठानिन्छ । तर उसले त्यसको प्रस्ट रूपमा केही उल्लेख गरेको छैन । तर इरानसँग त्यस्ता अस्त्र नरहेको ठानिएको छ । इरानले परमाणु हतियार राखेको आरोप लाग्दै आएको भए पनि तेहरानले आफ्नो परमाणु कार्यक्रम अस्त्र निर्माणका लागि प्रयोग नगरेको दाबी गर्दै आएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...