: प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट पारेका छन्।
सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली मनलाई विभाजित गर्ने र साम्प्रदायिक विद्वेष मच्याउन नदिने बताएका हुन्। उनले भने, 'अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन र मौलाउन पनि दिइँदैन।'
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान, मातातीर्थमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिए। उनले सशस्त्र बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भएको बताए ।
प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिए।
समारोहमा गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थित थिए। तालिमबाट ४५ प्रशिक्षार्थी सफल भई कार्यक्षेत्रमा खटिन तयार भएका छन् ।