मुख्य समाचार
अमेरिकामा राष्ट्रपतीय चुनाव हुन अब एक साता मात्र बाँकी
अमेरिकामा राष्ट्रपतीय चुनाव हुन अब एक साता मात्र बाँकी

— अमेरिकामा राष्ट्रपतीय चुनाव हुन अब एक साता मात्र बाँकी छ । आगामी मंगलबार नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक दलका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन दलका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार छन् । सुरुमा अघिल्लो चुनावकै उम्मेदवारद्वय ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुने देखिएको थियो ।



तर उमेरका कारण आगामी कार्यभार सम्हाल्न नसक्ने आलोचनापछि बाइडेन गत जुलाई २१ मा चुनावी मैदानबाट पछि हटे । उनको बहिर्गमनसँगै डेमोक्रेटिक पार्टीले ह्यारिसलाई आधिकारिक उम्मेदवार चयन गरेको हो ।


अमेरिकाकै पहिलो महिला राष्ट्रपतिको कीर्तिमान राख्ने दौडमा छिन् ह्यारिस । तर उनलाई रोक्दै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्न ट्रम्पले पाको उमेरमा पनि उत्तिकै कसरत गरेका छन् । चुनावी मैदानमा ह्यारिसको प्रवेशसँगै ७८ वर्षीय ट्रम्पले आफूभन्दा १८ वर्ष कान्छी ह्यारिसलाई पराजित गर्न लगभग असम्भव हुने देखिएको थियो । तर बिस्तारै ट्रम्पले राजनीतिक दौडमा सुधार ल्याएको देखिएको छ । निर्वाचन अभियान सुरु गरेको केही सातामा बाइडेनभन्दा ह्यारिसप्रति मतदाताको समर्थन बढेको थियो । अगस्ट अन्तिमसम्मको अवस्थामा उनले करिब चार प्रतिशतको अग्रता कायम राखेकी थिइन् । तर सेप्टेम्बर सुरु भएसँगै ट्रम्पको अवस्थामा केही सुधार देखिएको छ ।

दुई उम्मेदवारबीच सेप्टेम्बर १० मा चुनावी बहस भएको थियो । टेलिभिजनमार्फत ७ करोडले प्रत्यक्ष हेरेको बहसमा ह्यारिस ट्रम्पमाथि हाबी देखिन्थिन् । तर उक्त बहसपछि पनि दुवै उम्मेदवारको अवस्थामा खासै ठूलो परिवर्तन देखिएको छैन । पछिल्ला चुनावी सर्वेक्षणले यस पटकको राष्ट्रपतीय चुनाव हालसम्मकै प्रतिस्पर्धात्मक हुने देखाएका छन् । पछिल्ला मत सर्वेक्षणका अनुसार ट्रम्पभन्दा ह्यारिस झिनो रूपमा अगाडि देखिएकी छन् । एबीसी न्युजले गरेको सर्वेक्षणमा ह्यारिसलाई ४८.१ प्रतिशतले मत दिने देखिएको छ । ट्रम्पले ४६.७ प्रतिशत मतदाताको समर्थन जुटाइसकेको मत सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणअनुसार अझै पनि ५.२ प्रतिशत मतदाता अनिर्णीत नै छन् । त्यस्ता मतदाताको समर्थन नै दुवै उम्मेदवारलाई जितका लागि महत्त्वपूर्ण देखिएको छ । सोझो हिसाबमा ५.२ प्रतिशतमध्ये बहुमत मतदातालाई रिझाउन सक्ने उम्मेदवारले नै चार वर्षका लागि ह्वाइट हाउसमा प्रवेश पाउने आकलन गर्न सकिन्छ । तर अमेरिकी राष्ट्रपतीय चुनावमा धेरै मत ल्याउने उम्मेदवार नै निर्वाचित हुन्छ भन्ने छैन । उम्मेदवारले केही राज्यहरूमा निकै कम मतान्तरबाट चुनाव जितेको खण्डमा देशभरको समग्र मत कम आउँदा पनि राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना हुन्छ । सन् २०१६ मा देशभरिबाट पाएको मत हिलारी क्लिन्टनको भन्दा करिब ३० लाख कम भएको अवस्थामा पनि डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए । त्यस्तै, सन् २००० मा राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन दलका जर्ज डब्लू बुसले डेमोक्रेटिक उम्मेदवार अल गोरको भन्दा पाँच लाख कम मत पाएका थिए ।
k
अमेरिकामा ‘इलेक्टोरल कलेज’ भनिने ‘निर्वाचन मण्डल’मा आधारित प्रणालीले चुनावी परिणामको छिनोफानो लगाउने गर्छ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ‘इलेक्टोरल कलेज मत’ निर्धारण गरिएको हुन्छ । क्यालिफोर्निया राज्यसँग सर्वाधिक ५४ इलेक्टोरल मत छ । कम जनसंख्या भएका वायोमिङ, अलास्का, नर्थ डकोटा र वासिङटन डीसीको समान तीन इलेक्टोरल मत छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये २ सय ७० ल्याउनुपर्छ । ५० राज्यमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ सँग ३ इलेक्टोरल मत छ ।

राज्यका लागि इलेक्टोरल मत निर्धारण गरिएकाले मतदाताले राष्ट्रियस्तरमा नभई राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन् । त्यसको मतलब मतदाताले दिएको मत सिधै उम्मेदवारहरूलाई नगई इलेक्टोरल मत चयनका लागि जान्छ । निर्वाचन सकिएको केही सातामा हुने इलेक्टोरल कलेजको भेलाले राष्ट्रपति र उपराष्ट्रपति छान्ने गर्छ ।

राजनीतिक दलले आफ्ना समर्थक वा पार्टी अधिकारीलाई चुनाव हुनुअघि नै इलेक्टोरलका रूपमा चयन गर्ने गर्छन् । कम्तीमा २ सय ७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन्छन् । त्योसँगै राष्ट्रपतिले उपराष्ट्रपतिको उम्मेदवारका लागि चयन गरेका व्यक्ति पनि स्वतः निर्वाचित हुन्छन् । इलेक्टरहरूले सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउँछन् । तर व्यवहारमा भने इलेक्टरहरूले आफ्नो राज्यमा लोकप्रिय मत बढी पाउने उम्मेदवारलाई नै समर्थन गर्ने गर्छन् ।

राज्यमा बढी मत पाउने उम्मेदवारलाई छोडेर अर्कोलाई मत दिने निर्वाचकलाई विश्वासघातीको संज्ञा दिने गरिन्छ । सन् २०१६ मा निर्वाचन मण्डलका ७ जनाले राज्यमा कम मत ल्याउने उम्मेदवारलाई मत दिएका थिए । तर उनीहरूको मतका कारण अन्तिम परिणाममा भने कुनै असर पुगेन । केही राज्यमा भने त्यस्ता विश्वासघाती निर्वाचकलाई जरिवाना हुने वा मुद्दा चल्ने व्यवस्था छ ।

दुई उम्मेदवारले पाएको इलेक्टोरल मत बराबर भयो भने अमेरिकी संसद्को तल्लो सदनले मतदानमार्फत सबैभन्दा बढी इलेक्टोरल मत पाउने तीन उम्मेदवारबीचबाट राष्ट्रपति छान्छ । यस्तो प्रक्रियाबाट अमेरिकामा एक पटक मात्रै राष्ट्रपति निर्वाचित गरिएको छ । सन् १८२४ को राष्ट्रपतीय चुनावको इलेक्टोरल कलेज चार उम्मेदवारहरूबीच बाँडिएका कारण कसैले पनि बहुमत पाएका थिएनन् । त्यसपछि तल्लो सदनले जोन क्विन्सी एडम्सलाई राष्ट्रपतिमा निर्वाचित गरेको थियो ।

दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ । मेइन र नेब्रास्का राज्यले अमेरिकी कंग्रेस र राज्यस्तरको चुनावमा प्राप्त लोकप्रिय भोट प्रतिबिम्बित गर्ने थप जटिल प्रणाली अपनाएका छन् । जसका कारण ती राज्यको इलेक्टोरल मत विभाजित हुन सक्छ । अमेरिकामा ५० राज्य छन् । अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई मत दिन्छन् । त्यस्ता राज्यहरू ‘ब्लू’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लू’ र रिपब्लिकन उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘रेड’ स्टेट भनिन्छ ।

केही राज्यमा मात्र हरेक निर्वाचनमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुन्छ । ती राज्यले नै समग्र निर्वाचनको परिणामलाई नै तलमाथि पारिदिन्छन् । ती राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ भन्ने गरिन्छ । यस वर्षको चुनावमा ह्यारिस र ट्रम्पबीच चर्को प्रतिस्पर्धा रहेका ७ राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ मानिएको छ । यो सूचीमा पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा छन् ।

पेन्सिलभेनियामा १९, जर्जियामा १६, नर्थ क्यारोलाइनामा १६, मिसिगनमा १५, एरिजोनामा ११, विस्कन्सिनमा १० र नेभादामा ६ गरी यी सात राज्यमा कुल ९३ इलेक्टोरल मत छ । मत सर्वेक्षणहरूका अनुसार यी सात वटै राज्यमा हालसम्म कुनै पनि उम्मेदवारले स्पष्ट र निर्णायक अग्रता कायम गर्न सकेका छैनन् । यीमध्ये पाँच राज्यमा ट्रम्प र दुई राज्यमा ह्यारिस अघि देखिएकी छन् । सर्वेक्षणअनुसार यी राज्यमा दुवै उम्मेदवारले पाउने मतको अन्तर निकै कम देखिएको छ । जसका कारण यी ७ राज्यमा कुन उम्मेदवार विजयी हुन्छन् भन्ने टुंगो लाग्न सकेको छैन ।

अगस्टयताका सर्वेक्षणहरू हेर्ने हो भने यी राज्यमा सधैं कुनै पनि उम्मेदवारको अग्रता छैन । केही सातायता भने यीमध्ये अधिकांश राज्यमा ट्रम्प झिनो मतले अगाडि देखिन्छन् । एबीसी न्युजले मंगलबार गरेको सर्वेक्षणअनुसार रिपब्लिकन उम्मेदवार ट्रम्प एरिजोनामा १.९ प्रतिशत, जर्जियामा १.५, नेभादामा ०.२, नर्थ क्यारोलाइनमा १.३, पेन्सिलभेनियामा ०.३ प्रतिशतले अघि देखिएका छन् । ह्यारिस मिसिगनमा ०.५ प्रतिशतले अघि छिन् । विस्कन्सिनमा दुवै उम्मेदवारले बराबर मत पाउने देखिएको छ ।

सन् २०१६ मा ट्रम्प विजयी हुनुअघि पेन्सिलभेनिया, मिसिगन र विस्कन्सिन राज्यहरू डेमोक्रेटिक पार्टीको गढका रूपमा चिनिन्थे । सन् २०२० मा जो बाइडेनले पुनः ती राज्यमा डेमोक्रेटिकको प्रभाव स्थापित गर्न सफल भएका थिए । यस आधारमा यी राज्यको मतलाई आफ्नो पक्षमा पारेको खण्डमा ह्यारिस विजयी हुने सर्वेक्षणहरूले देखाएका छन् । ट्रम्पका लागि पनि राष्ट्रपति बन्न लगभग त्यस्तै अवस्था छ । त्यसकारण पनि दुवै उम्मेदवारले ‘स्विङ स्टेट’ मा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।

नोभेम्बर ५ मा अमेरिकी मतदाताले देशको ४७ औं राष्ट्रपतिसँगै संघीय, राज्य र स्थानीयस्तरमा पनि प्रतिनिधिहरू चयन गर्छन् । ५० वटै राज्यका मतदाताले संघीय संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका ४ सय ३५ सदस्य निर्वाचित गर्दै छन् । हरेक राज्यका लागि तल्लो सदनका प्रतिनिधिको संख्या जनसंख्याका आधारमा निर्धारण गरिएको छ । हाउस अफ रेप्रिजेन्टेटिभ्समा हाल रिपब्लिकनका २ सय २० र डेमोक्रेटिकका २ सय १२ सदस्य छन् ।

त्यस्तै, मंगलबार हुने चुनावबाट सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदै छन् । सिनेटमा हरेक राज्यबाट दुई सदस्य निर्वाचित हुने व्यवस्था छ । सिनेटमा हाल रिपब्लिकनका ४९, डेमोक्रेटिकका ४७ र डेमोक्रेटिक पक्षधर ४ स्वतन्त्र सदस्य छन् । मोन्टाना, विस्कन्सिन, ओहायो, नेभादा, पेन्सिलभेनिया, मिसिगन, एरिजोना र टेक्सास राज्यमा सिनेट सदस्यका लागि हुने निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने ठानिएको छ । यी आठमध्ये हाल ७ सदस्य डेमोक्रेटिक दलका छन् ।

अमेरिकामा सिनेटको अध्यक्ष उपराष्ट्रपति हुन्छन् । उनले सिनेटका सत्रहरूको अध्यक्षता गर्नुका साथै निर्णायक मत दिन्छन् । सिनेटले विधेयक पारित गर्नुका अलावा राष्ट्रपतिद्वारा नियुक्त मन्त्रिपरिषद् सदस्यहरू, सर्वोच्च अदालत र अन्य संघीय न्यायाधीशहरू र राजदूतहरूको नियुक्ति पारित गर्नुपर्छ ।

त्यस्तै, ११ राज्य र दुई क्षेत्रका मतदाताले गभर्नर निर्वाचित गर्दै छन् । अमेरिकन समोआ, डेलावेयर, इन्डियान, मिसोरी, न्यु ह्याम्सायर, नर्थ क्यारोलाइना, नर्थ डकोटा, प्युटो रिको, युटा, भर्मन्ट, वासिङटन र वेस्ट भर्जिनियामा नयाँ गभर्नर निर्वाचित हुँदै छन् ।

-एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...