: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुने बताएका छन्। नेकपा एमाले ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा पोखरेलले संसदीय छानविन समितिको प्रतिवेदन अनुसार सहकारी प्रकरणमा छवि र रविदेखि दोषि देखिएका सबैमाथि अनुसन्धान र कारवाही हुने बताएका हुन् । सबै दलका प्रतिनिधि रहेको संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सबैले स्वभाविक रुपमा लिनुपर्ने उनले बताए।
पोखरेलले सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर अहिले मुलुकलाई अराजकतातर्फ लैजाने षडयन्त्र भइरहेको धारणा समेत राखे । उनले अराजकताका विरुद्ध खवरदारी गर्न कार्यकर्तालाई आग्रह गरे।
पोखरेलले पार्टी कार्यालय निर्माणका लागि एमाले निकट मीन बहादुर गुरुङले दिएको जग्गा पारदर्शीरुपमा पार्टीले ग्रहण गरेको र अपारदर्शी ढंगले कुनै काम नभएको दावी गरे।
पोखरेलले कांग्रेस–एमालेबीचको सहकार्य आगामी चुनावसँग रहने र त्यसपछि पार्टी एक्लै चुनाव लड्ने जिकिर गरे। मुलुकमा संकट देखा परेकाले ठूला दुई दल मिल्नुपरेको भन्दै उनले कांग्रेस–एमालेको गठबन्धनलाई अन्यथा नलिन उनले आग्रह गरे।