: मोरङमा प्रेसर कुकर पड्किँदा घाइते भएकी महिलाको बिहीबार बिहान मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बेलबारी नगरपालिका–६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार घरमा खाना पकाउने क्रममा कात्तिक ३ गते बिहान प्रेसर कुकर विस्फोट हुँदा मगर घाइते भएकी थिइन् । उनको १२ दिनपछि मृत्यु भएको हो । कुकरको सिट्ठीले निधारमा लागेर घाइते भएपछि मगरलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
मगरको उपचारकै क्रममा बिहान ८ बजेतिर मृत्यु भएको जोशीले बताए । कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।