मुख्य समाचार
जे जति फूलको प्रयोग भएको छ, अधिकांश स्वदेशी उत्पादन
जे जति फूलको प्रयोग भएको छ, अधिकांश स्वदेशी उत्पादन

 : मुलुकलाई तिहारले छपक्कै छोपेको छ। फूलैफूलले गाउँ सहर सजिएका छन्। यसपटक गजबको संयोग पनि छ, जे जति फूलको प्रयोग भएको छ, अधिकांश स्वदेशी उत्पादन हुन। सरकारले भारतीय फूलको आयातमा कडाइ गरेपछि स्वदेशी फूलले बजार ओगटेको हो। भारतीय फूलमा भाइरस भेटिएको भन्दै सरकारले आयातमा कडाइ गरेको हो। सीमा क्षेत्रमा फाट्टफुट्टबाहेक भारतीय फूल आयात हुन सकेका छैनन।



तिहारमा सबैभन्दा बढी खपत हुन्छ, फूल। सयपत्री, मखमली र गोदावरी फूलले घर, बजार, कार्यालय सजिसजाउ गरिन्छन। न्यूरोड क्षेत्रका पसल त दुलही झैं सिंगारिएका छन्। फूलसँगै रंगीचंगी बत्तीले साँझपखको दृश्य मनमोहक छ। घरदेखि पसल र कार्यालयको दृश्य मनमोहक बनाउन तिहारका बेला आम सर्वसाधारणले पनि फूलमा खर्च गर्ने प्रवृत्ति छ। यसैले अन्य दिनभन्दा यतिबेला फूलको माग अधिक हुन्छ।

तर, अघिल्लो वर्षको तुलनामा यसवर्ष फूलहरूको उत्पादनमा कमी आएको अनुमान गरिएको छ। अर्कोतर्फ सरकारले सयपत्री फूल आयातमा पनि कडाइ गरेकाले बैध मार्गबाट फूल आयात हुन असम्भव हुने बताउँछन्, फ्लोरिकल्चर एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङ। मखमली र गोदावरी फूल आन्तरिक उत्पादनले नै पुग्दै आएको तर सयपत्री भने स्वदेशी उत्पादनले नधान्ने उनले बताए।



न्यून आयात
भन्सार विभागका अनुसार आर्थिक वर्षको असोज मसान्तसम्म ताजा फूलहरू न्यून मात्रामा अर्थात् ७१ हजार रुपैयाँ बराबरको ५० किलोग्राम मात्रै भित्रिएको छ। सबैखालका काटिएका ताजा फूल, कोपिला र यसका बिरुवाहरू गरेर चालु आवको ३ महिनामा २ करोड ४ लाख ४५ हजार रुपैयाँ बराबरको मात्रै फूल आयात भएको छ। यो गतवर्षको सोही अवधिको भन्दा ६५.५२ प्रतिशतले कम हो। गत आर्थिक वर्षको असोजसम्ममा ५ करोड ९३ लाख ३ हजार रुपैयाँ बराबरको फूलहरू भित्रिएको थियो। वर्षको अन्तरमा ३ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरले आयात घटेको छ। यसपटक सरकारले फूल आयातमा कडाइ गरेको छ। १६ वटा मापदण्ड पूरा गरेर मात्रै ल्याउने पाउने व्यवस्था गरेको छ।

भारतले नेपाल भित्र्याउने शर्त पूरा गर्न नसकेकाले अहिलेसम्म आयात नभएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत (क्वारेन्टाइन शाखा,शत्रुजीव जोखिम विश्लेषण) प्रकाश पौडेलले बताए। उनकाअनुसार तिहारलाई लक्षित गरेर भारतबाट १५ लाख माला ल्याउने भनिए पनि त्यसका लागि अनुमति दिइएको छैन।

‘भारतले नेपालमा फूल पठाउन यहाँको शर्त पूरा गर्न नसक्ने भन्ने अफिसियल सूचना छ। भारतको फूलमा विशेष भाइरस भएकाले नेपाल भित्रियो भने हाम्रा विगतदेखि फूलेका गाउँघरका प्राकृतिक फूलहरू सबै सिद्धिन्छन्,’ पौडेलले भने, ‘१६ वटा विभिन्न भाइरसहरू छन्। यसकारण भारतले नेपालमा पठाउने फूल स्वस्थ छ भनेर आधिकारिक प्रमाण दिनसक्ने अवस्था छैन। यसैले नेपालमा वैद्य रूपमा फूल आएको छैन, अवैध रूपमा भित्रिएको थाहा भए नष्ट गर्नुपर्छ।’

अवैध भित्रिएको फूलको पनि भ्याट बिल काटिएको सुनिएको उनले बताए। तर मुलुकभित्र कृषिजन्य वस्तु बिक्री गर्दा भ्याट बिल लाग्दैन। ‘यदि भ्याट बिल काटेर उठाएको हो भने त्यो सिधै अवैध हो। सामान्यतया नेपालको फूल धागोले गाँसिएको हुन्छ र भारतको फूल जुटको धागोले बाँधेको हुन्छ। भारतबाट ल्याइएका २०–२२ वटा ट्रकका फूल नष्ट गरिएका छन।’

यसकारण फूल आयात हुन सकेन

जैविक सुरक्षासँग सम्बन्धित निकाय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले विश्व व्यापार संगठन (डब्लूटीओ)को अन्तर्राष्ट्रिय व्यापारमा प्राविधिक अवरोधहरू छ भने त्यसलाई जाँच गरेर सुरक्षित व्यापार गर्न सुझाव दिइएको जनाएको छ। त्यसैकारण, विशेष विरुवा र बिरुवाजन्य उपजहरूलाई आयात गर्न कडाइ गरेको केन्दले जनाएको छ।

केन्द्रका सूचना अधिकारी तथा वरिष्ठ बाली संरक्षण अधिकृत (क्वारेन्टाइन शाखा,शत्रुजीव जोखिम विश्लेषण) प्रकाश पौडेलकाअनुसार शत्रुजीव जोखिम विश्लेषणले विरुवाजन्य सामग्रीको माध्यमबाट एकदेशबाट अर्कोदेशमा हानिकार रोग वा किरा नफैलिउन भनेको छ। ‘भारतमा सयपत्री फूलमा हुने ब्याक्टेरिया, भाइरस किराहरू छन् तर अहिलेसम्म नेपालमा त्यस्तो छैन,’ उनले भने, ‘यसैले भारतबाट आयात गर्दा रोग, भाइरस, किराहरू नभएको आधिकारिक रूपमा पुष्टि गरेर मात्रै बिरुवा र फूलको पठाउन निर्देशन दिइएको छ। यो जुनसुकै देशले प्राविधिक शर्त राख्छ। यसैअनुरूप नेपालले पनि शर्त राखेको छ।’ सोही शर्तअनुसार आयातकर्ताहरूले त्यस्तो फूलको सवस्थताको प्रमाणहरू ल्याउन सकिरहेको छैनन। पौडेल भन्छन्, ‘त्यहाँको फूलमा रोग छ नेपालकोमा छैन। यसैले वैद्य रूपमा नेपालमा फूल आयात अहिले सम्भव छैन।’

आयातित फूल नेपालभर फैलिने र विशेष सयपत्री फूल सुकेपछि पनि उम्रिने भएकाले त्यस्ताखालका फूलको बिउ नै ट्रान्सफर हुने हुँदा नेपालको स्थानीय विविधता, परम्परागत फूल पनि लोप हुने जोखिमले गर्दा कडाइ गरिएको हो। आयातकर्ताले औपचारिक शर्त पूरा गरेर मात्रै फूल तथा बिरुवा ल्याउन पाउँछन्। यदि कसैले भारतबाट आएको फूल भनेर थाहा पाए तत्काल प्रहरीलाई उजुरी गर्न उनले अनुरोध गरे। ‘त्यस्ता अवैध फूललाई जस्ले आयात गरेको हो उसैको खर्चमा खाल्टो खनेर गाड्नुपर्छ,’ उनले भने।

बिरुवा संरक्षण तथा क्वारेन्टाइन नियमावलीको दफा १७ ले जोखिमयुक्त अवैध फूल तथा विरुवा गाड्नुपर्ने व्यवस्था गरेको छ। यस्ता खाले अवैध फूल ल्याएर त्यस्को भाइरसको उपचार तुरुन्त गर्न सम्भव हँुदैन र यसलाई खर्च पनि गर्न नसकिने भएकाले गाड्नै पर्ने स्थिति भएको उनले बताए।
३ महिनामा ४२ लाख ३१ हजार रुपैयाँको फूल निर्यात null

नेपालबाट फूलका बिरुवा तथा फूल निर्यात भइरहेका छन्। यस्ता उत्पादनको निर्यातमा सुधार पनि देखिन्छ। भन्सार विभागको असोजसम्मको तथ्यांकअनुसार ४२ लाख ३१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ। यो गत आवको सोही अवधिकोभन्दा ३५९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही बेला ९ लाख २१ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।

नेपालबाट निर्यातित हुने मखमली लगायतका फूल कुन देश जाँदै छन् र उक्त देशको शर्तअनुसार सीमा क्षमताअनुसार पूरा गर्ने गरेको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत (क्वारेन्टाइन शाखा, शत्रुजीव जोखिम विश्लेषण) पौडेलले बताए। उनकाअनुसार अष्ट्रेलिया, बेलायतमा फूल निर्यात हुने गरेको छ। पौडेल भन्छन्, ‘ती विकसित देशलाई नेपालमा बलियो एड्भान्स ल्याबरोटरी छैन भन्ने थाहा छ। तर, हामीले निर्यात गर्ने फूल तथा बिरुवाको सामान्य जाँच गरेर स्वस्थताको प्रमाणपत्र दिन्छौं, एड्भान्स जाँच भने छैन। ती देशले माग गरेरै वैद्य तरिकाले लैजान्छन र एड्भान्स जाँच गरेर मात्रै भित्र्याउँछन्।’

दुई वर्ष अघिसम्म यस्तो जोखिम व्यवस्थापनको जाँच भएको थिएन। त्यतिबेला मज्जाले आयात भइरहेको थियो। सरकारले अघिल्लो वर्ष मात्रै जोखिम व्यवस्थापनको काम पूरा भयो र यसपछि शर्तअनुसार मात्रै आयात सुरु गरेको हो। गत वर्ष उदयपुर, रामेछाप, दोलखा, काभ्रे, सिन्धुली, ओखलढुंगा, धादिङ, नुवाकोट, मकवानपुर लगायतका जिल्लाबाट धेरैका धेरै फूल राजधानी आएका थिए। तर, यो वर्ष जिल्लाबाट फूल आए बजारमा समस्या नपर्ने तर गतवर्ष केही किसानहरूले फूल बिक्री नहुँदा फूल फाल्नुपर्ने कारणले केही किसान विस्थापित भएका थिए। यो वर्ष फूलखेती नगरेको भन्ने सुनिएको निवर्तमान अध्यक्ष बताउँछन्।

अवैध रूपमा भित्र्याउने क्रम जारी

भारतबाट अवैध रूपमा आयात हुने फूललाई काठमाडौं महानगर प्रहरीले कडाइ गर्दै नियन्त्रणमा लिएको छ। बालाजुको ३ वटा कोलस्टोरबाट मात्रै झन्डै २८ लाख बराबरको सयपत्री फूललाई नियन्त्रणमा लिएको थियो। महानगर प्रहरीले कात्तिक १३ गते मंगलबारमात्रै जय बागेश्वरीबाट एक गाडी अवैध भित्रिएको फूल नियन्त्रणमा लिएको थियो। यस्तै, कात्तिक १२ गते हेटौंडामा पनि प्रहरीले एक गाडी सयपत्री नियन्त्रणमा लिएर मंगलबार नष्ट गरेको थियो। यसवर्ष भारतबाट प्रक्रिया पुर्‍याएर फूल आयात गर्न सक्ने अवस्था छैन। किनभने नेपाल सरकारले गत वर्षदेखि १६ किसिमका रोगकिरा मुक्त भएको फूल मात्रै आयात गर्न पाइने व्यवस्था गरेको छ। आयात हुने नाकामा उक्त फूलहरूलाई क्वारेन्टाइनमा राखेर प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले चेकजाँच गर्छ।

यसकारण यसपटक भारतबाट सयपत्री फूल प्रक्रिया पुर्‍याएर आयात गर्ने स्थिति छैन। फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङ भन्छन्, ‘सरकारले गत वर्षदेखि १६ किसिमका रोग किरामुक्त भएका फूल मात्रै आयात गर्न सक्ने गरी कडाइ गरेको छ। यसको निगरानी गर्ने प्लान्ट क्वारेन्टाइन तथा विषदी व्यवस्थापन केन्द्रले उक्त १६ प्रकारका रोग नभएको पुष्टि गर्ने कागज हुनुपर्ने भनेर निगरानी गरेको छ। यसकारणले अहिले आयात हुनै सक्दैन। जति पनि नेपाल भित्रिएको छ त्यो सबै अवैध च्यानलबाट आएको हो।’ कडाइका बाबजुद पनि भारतबाट सयपत्री फूल आयात भएको तर यो सबै अवैध तरिकाबाट भित्रिएकोउनको दाबी छ।

यसअघि अवैध फूल भित्रिँदा फूल उत्पादनमा धेरै क्षति व्यहोर्नुपरेको उनले बताए। ‘हामीलाई १५–२० वर्षअघि अवैध रूपमा सयपत्री फूल भित्रिँदा नेपालमा सयपत्रीमा सेप्टोरिया भन्ने पात डढ्ने रोग भित्रिएको थियो। फूलमा यस्तो रोग लागेपछि झन्डै १० वर्षसम्म राम्ररी सयपत्री फूलको बेर्नासमेत बेच्न पाएनौं। जसले फूल उत्पादन नहुँदा बिक्री गर्न सकेका थिएनौं,’ उनले भने, ‘किनभने यसको रोग पत्ता लगाउन ५ वर्ष लाग्यो र विषादी पत्ता लगाउन ५ वर्ष लाग्यो। यसर्थ सस्तो नयाँ–नयाँ किसीमको रोगहरू भित्रिन्छ।’ यसपटक महानगर प्रहरीले अवैध फूल नियन्त्रणमा लिएका कारणले गतवर्ष जस्तै बाहिर जिल्लाबाट किसानहरूले काठमाडौं उपत्यकामा फूल बेच्न ल्याए भने यो पटक राम्रै मूल्य पाउने उनको भनाइ छ। यसपटक गत वर्षको भन्दा अली अपुग सयपत्री फूल भएकाले मूल्य केही बढी हुनसक्ने उनले बताए। उनकाअनुसार गत वर्ष सयपत्री फूल एउटा एक मिटरको मालाको १ सय रुपैयाँ हाराहारीमा थियो भने यसवर्ष १ सय २५ रुपैयाँसम्म हुनसक्छ।

४५ लाख माला बिक्रीको अनुमान
यसपटक बजारमा फूलको माग राम्रै भएको व्यवसायीहरू बताउँछन्। सयपत्री, मखमली र गोदावरी गरेर ४५ लाख गोटा फूलको माला खपत हुनसक्ने व्यवसायीको अनुमान छ।

२ सय ६० हेक्टरमा फूल खेती
मुलुकका ५२ जिल्लामा २ सय ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा फूल खेती भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले बताएको छ। १ हजार १ सय ७४ जना फूल खेती गर्ने व्यावसायिक किसान छन् ४ सय ५० प्रजातिका फूल उत्पादन गर्दै आएका छन्।यस क्षेत्रमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको फ्लोरीकल्चर एसोसिएसनको अनुमान छ।

सबैभन्दा बढी खेती काठमाडौं, ललितपुर र भक्तपुरमा हुने गरेको छ। ‘यसबाहेक कास्की ,चितवन, कपिलवस्तु लगायतका जिल्लामा राम्रै फूल उत्पादन भइरहेको छ। पछिल्लो समय इलाममा पनि फूल खेती गरएिको छ। बढ्दो सहरीकरण भएका जिल्लाहरूमा फूल खेती पनि बढिरहेको छ,’ निवर्तमान अध्यक्ष तामाङले भने। उनकाअनुसार अघिल्लो आर्थिक वर्षमा करिब ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको वैद्य कारोबार देखिएको छ। तर, अवैद्य आयात भएको रेकर्डमा रहँदैन।

वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी फूलको कारोबार हुने गरेको उनको अनुमान छ। यतिबेला तिहारको मौसम भएकाले सयपत्री फूल अहिले सबै स्थानीय सरकारहरूले पनि प्रबर्द्धनगरेकाले बाहिरी जिल्लाहरूमा आ–आफ्नो जिल्लालाई पुग्ने उत्पादन भइरहेको छ। ‘काठमाडौंमा भने जनसंख्या धेरै र उत्पादन क्षेत्र थोरै भएका कारणले अलिकति अपुग हुन्छ की भन्ने अनुमान हो। तर, गत वर्षको जस्तै जिल्लाबाट किसानहरूले फूलमाला लिएर आएभने अपुग हुने अवस्था देखिँदैन। यदि अपुग भइहाले पनि हामीसँग गोदावरी र मखमलीको माला छ र त्यो मालाले बजार पूर्ति गर्छौं,’ उनले भने।

आन्तरिक उत्पादनलाई प्रबर्द्धन गर्न योजना छैन

केन्द्रीय सरकारले खाने वस्तुबाहेक अरुको तथ्यांक नराख्ने भएकाले फूल उत्पादनबारे प्रबर्द्धनका कार्यक्रम नल्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका योजना तथा विकास सहायता महाशाखाका प्रमुख हरबिहादुर केसी बताउँछन्। फूल व्यवसाय प्रबर्द्धनका लागि संघीय निकायले सिधै सहायता नगरे पनि प्रदेश र पालीकामार्फत सहयोग भइरहेको उनले बताए। भारतबाट अवैध रूपमा हुने आयात पूर्णरूपमा प्रतिबन्ध लगाए मुलुकभित्र फूल व्यवसायीले लगानी बढाउने निवर्तमान अध्यक्ष तामाङ बताउँछन्।null​​​​​​​

‘क्वारेन्टाइन ऐनलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्छ,’ उनले भने, ‘यस्तो भए खुलेर लगानी गर्ने वातावरण बन्छ।’ सरकारले २ वर्षदेखी प्लास्टिकजन्य फूल आयात, बिक्री वितरण, उत्पादनमा पूर्ण रुपमा लगाए पनि बजारमा खुला बिक्री भइरहेको छ। यसलाई पनि नियमनकारी निकायले नियमन गरेर रोक लगाउन जरुरी भएको उनले जोड दिए। सरकारले यी सबैमा ध्यान दिए हामीले लगानी बढाएर फूलमा आत्मनिर्भर हुने सम्भावना भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...