— म्यानचेस्टर युनाइटेडले बिहीबार यो सिजनको पहिलो युरोपा लिग जित हात पारेको छ । उसले ओल्ड ट्रायफोर्डमा भएको खेलमा ग्रिक च्याम्पियन पीएओकेलाई २–० ले हराएको हो ।
यो जितमा एमड डिएलोले दोस्रो हाफमा दुई गोल गरे । युनाइटेडमा नयाँ प्रशिक्षकका रूपमा रुबेन एमोरिन भित्रिनु अगाडि यो प्रभावशाली जित हात परेको हो ।
अर्को इंग्लिस प्रिमियर लिग क्लब टोटनहम भने यत्तिकै भाग्यमानी रहेन । उसलाई गालातासारेले इस्टानबुलमा भएको खेलमा ३–२ ले हरायो । त्यसमा भिक्टर ओसिमहेनले टर्कीको टिमका लागि दुई गोल गरे ।
अन्य प्रमुख खेलमा आयाक्सले मकाबी टेल अभिभलाई ५–० र लाजियोले पोर्टोलाई २–१ ले पराजित गर्यो । कन्फ्रेन्स लिगको खेलमा भने चेल्सीले आरमेनियाको एफसी नोहलाई सजिलै ८–० ले हरायो । कन्फ्रेन्स लिगमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो ।