— अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्ड तथा नेपाल सरकारको गुरुयोजना अनुसार विमानस्थलको स्तर वृद्धि गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार (०८१ कात्तिक २३) देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म राकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य गर्ने भएको छ ।
अहिले जारी भएको नोटाम–सूचना अनुसार, चैत १८ गतेसम्म दैनिक १० घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान हुने छैन । शुक्रबार राति १० बजेको अन्तिम उडानपछि काठमाडौं विमानस्थलबाट हरेक दिन पहिलो उडान बिहान ८ बजेमात्रै हुनेछ । र, राति १० बजेअघि अन्तिम उडान भइसक्नुपर्ने छ । यो समयमा धावनमार्गबाट ७५ मिटरसम्मको संवेदनशील क्षेत्रका निर्माणका काम सक्ने प्राधिकरणको योजना रहेको छ ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, काठमाडौं विमानस्थल बिहान ६ बजे खुला भई राति ३ बजेसम्म सञ्चालन हुँदा दैनिक दुईतर्फी आउने/जाने गरेर ३ सय वटा आन्तरिक र १ सयवटा अन्तर्राष्ट्रिय उडान हुँदै आएको थियो । शुक्रबारदेखि विमानस्थल बिहान ८ बजे खुलेर राती १० बजे बन्द हुँदा ३० देखि ३५ प्रतिशतसम्म उडान कटौती हुने छन् ।
‘एसियाली विकास बैंकको अनुदान सहायतमा सन् २००९ मा तयार गरिएको गुरुयोजनाअनुसार सन् २०१३ देखि सुरु भएको काठमाडौं विमानस्थलको स्तरोन्नतिको कामको निरन्तरता हो यो,’ प्राधिकरणअन्तर्गत रहेको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दिपेन्द्र श्रेष्ठले कान्तिपुरसँग भने,‘अहिलेको पूर्वाधार विस्तार र स्तरोन्नतिले काठमाडौं विमानस्थलले आगामी वर्षहरूमा १ करोड २० लाख हाराहारी यात्रुलाई सेवा दिने प्रक्षेपण गरिएको छ । अहिले यसले वार्षिक करिब ८० लाख यात्रुलाई सेवा दिइरहेको छ । तर यसको क्षमता करिब ५० लाख हाराहारी मात्रै हो । यो सीमितताका कारण यात्रुलाई दिने सेवामा सम्झौता गनुपर्ने बाध्यता रहेको छ ।’
विमानस्थलको धावनमार्गको लम्बाई ३ हजार ३ सय ७४ मिटर छ । अहिले १९ सय मिटर लम्बाईको एकमात्र समानान्तर ट्याक्सी–वे छ । यो रन–वेदेखि १ सय १० मिटरको दूरीमा पश्चिमतर्फ पर्छ । धावनमार्गबाट जहाज बाहिरिन र छिर्न अहिले ५ वटा एक्जिट टेक्सी–वे छन् । विमानस्थलको एप्रोनमा अहिले ११ वटा अन्तर्राष्ट्रिय र १८ वटा आन्तरिक विमान मात्रै पार्किङ क्षमता छ । अहिलेको रन–वेको क्षमता प्रतिघण्टा भीएफआर उडानमा ३३ वटा र खराब मौसमका बेला उपकरणको सहायताबाट १२ वटा उडान प्रतिघण्टा रहेको छ । स्तरोन्नतिपछि यो दर २० देखि २५ प्रतिशतले वृद्धि हुने आयोजनाले जनाएको छ ।
काठमाडौं विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनले प्रतिघण्टा १५ सय ७० यात्रु तथा वार्षिक क्षमता ३६ लाख यात्रुलाई सेवा दिन्छ । त्यस्तै एक मात्र आन्तरिक टर्मिनल भवनले प्रतिघण्टा यात्रु ५ सय र वार्षिक यात्रु १० लाख हाराहारीलाई सेवा दिन्छ । प्राधिकरणले विमान तथा यात्रुहरुको चाप अत्याधिक बढ्न गएकाले विमानस्थलको गुरुयोजना अद्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तार गर्ने योजना डेढ दशकअघि ल्याएको थियो । जसअनुसार मुख्यत: रनवेको लम्बाई बराबर हुने गरी एक छेउदेखि अर्को छेउसम्म जोड्ने समानान्तर ट्याक्सी–वे तथा एक्जिट ट्याक्सी–वे, अन्तर्राष्ट्रिय तथा आन्तरिक विमान पार्किङ एप्रोन, विमान मर्मत सम्भार गर्न सुरक्षित ह्यांगर आदि निर्माण गर्ने योजना गुरुयोजनमा छन् । त्यसैगरी हालको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक टर्मिनल भवनमा रूपान्तरण गरी प्रतिघण्टा ३५ सय तथा वार्षिक ९० लाख यात्रु क्षमताको नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण हुने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यतिबेला नेपाल सरकार र एसियाली विकास बैंकको ऋण सहायतामा करिब १५ अर्ब रुपैयाँका तीनवटा फरक-फरक ठेक्का सञ्चालनमा छन् । ती योजनाहरूमध्ये एसियाली विकास बैंकको सवा ४ अर्ब ऋण सहायतामा पहिलो रनवेको दक्षिणतर्फ जोड्ने समानान्तर ट्याक्सीवे निर्माण भइरहेको छ । त्यस्तै करिब ४ अर्ब ऋणमा रनवेको पूर्वतर्फ ह्यांगर एप्रोन तथा एक्जिट ट्याक्सीवे निर्माण गर्ने कार्य भइरहेको छ । नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब ७ अर्ब लागानीमा रनवेको उत्तरतर्फ जोड्ने समानान्तर ट्याक्सीवे र अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गर्ने कार्य भइरहेको छ । इन्जिनियर श्रेष्ठका अनुसार, नेपाल सरकार र प्राधिकरणको आर्थिक स्रोतमा कोभिडपछि नै सुरु भएको ७ अर्ब रुपैयाँ हाराहारीको लगानीमा उत्तरमा करिब २७ मिटरसम्मको गहिरो भागमा माटो भरेर १८ वटा अन्तर्राष्ट्रिय वायुयानका लागि एप्रोन बनाउने कामको थालनी भएको थियो ।
विमानस्थलभित्रका आयोजनाहरूमा उत्तरतर्फको अन्तर्राष्ट्रिय एप्रोन तथा ट्याक्सीवेसम्बन्धी काममा चिनियाँ कम्पनी एभिक इन्टरनेसनल, पूर्वमा रहने ह्यांगर,एप्रोन तथा ट्याक्सीवेमा एभिक–सीसीईसीसी जेभी र समानन्तर ट्याक्सीवेमा गान्सु मेकनाइज इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन गरी तीनवटा चिनियाँ ठेक्कादार कम्पनी संलग्न छन् । यिनले विमान उडान र अवतरणको लागि तयार गरिएको क्षेत्र धावनमार्ग, विमानलाई विस्तारै गुडाएर विमानस्थलको एक भागदेखि अर्को भागसम्म जोड्ने मार्ग ट्याक्सीवे, यात्रु वा मालसामान चढाउने/उतार्ने, इन्धन भर्ने, पार्किङ वा मर्मतसम्भार गर्ने क्षेत्र एप्रोनलाई आइकाओको मापदण्डअनुसार पूर्णता दिने छन् । नेपाललाई विश्वसँग जोड्ने एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल आधुनिक नभएको, जहाजहरू अत्यधिक होल्डमा बस्नुपर्ने, उडान डिले हुनेलगायतका समस्या सामाना गरिरहेका बेला नेपालले सन् २०१२ मा ६ अर्ब रुपैयाँ खर्च गरेर विमानस्थलको स्तरोन्नति परियोजना ठेक्का स्पेनी कम्पनी कन्ट्रकटोरा सानजोसेको जिम्मा लगाएको थियो । तर, उक्त विदेशी कम्पनीले काममा गरेको ढिलाइ, आर्थिक र व्यवस्थापकीय चुनौती, स्थानीयसँगको विवाद, भूकम्प, नाकाबन्दीलगायतका कारण देखाउँदै सानजोसेले सन् २०१६ मार्चमा सम्पन्न गर्नुपर्ने काम नसकेपछि यो विवाद सिंगापुरस्थित सिंगापुर इन्टरनेसनल आर्बिटेसन सेन्टर(एसआईएसी)मा पुगेर २०२१ मार्चमा एसआईएसीले नेपालको पक्षमा फैसला सुनाउँदै सानजोसेबाट क्षतिपूर्ति पनि भराएको थियो ।
‘सानजोसेसँगको विवाद सकिएपछि दुई वर्षअघि रोकिएका काम पुन: ठेक्का लगाउने काम भयो,’ आयोजना प्रमुख श्रेष्ठले भने,‘अब पनि विस्तारसँग जोडिएका काममा ढिलाइ गर्दा लागत वृद्धि हुने, ठेक्काको म्याद थपिरहनुपर्ने लगायतका झन्झट थपिन सक्छन् । त्यसैले आउँदो मनसुनअघि नै हामी विमानस्थलको गुरुयोजनाअनुसार धावनमार्गलाई दुवैतर्फ ट्याक्सीवेमा जोड्ने, एप्रोन बनाउने, आन्तरिक र अन्तर्राष्ट्रिय विमानको पार्किङ क्षमता विस्तार गर्ने लगायतका एसोसियट काम सक्ने योजनामा छौं ।’
प्राधिकरणले पर्यटकीय सिजन लगभग सकिसकेकाले हवाई टिकटमा तत्काल देखिएको वृद्धि धेरै लामो समय नरहने दाबी गरेको छ । ‘विमानस्थल बन्द गर्ने निर्णय एक्लै गरेका होइनौं । वायुसेवा सञ्चालक कम्पनीहरू विमानस्थलको प्रमुख एवं महत्त्वपूर्ण अंग हुन् । विमानस्थलको आम्दानीको प्रमुख स्रोत भनेकै वायुसेवा सञ्चालक कम्पनी हुने भएकाले सम्पूर्ण आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक कम्पनीहरूसँग पटक-पटक छलफल गरेका थियौं,’ इन्जिनियर श्रेष्ठले भने,‘प्राधिकरणमा आयोजनाका इन्जिनियर, ठेकदार, परामर्शदाता, वायुसेवा सञ्चालकहरूका संघ, प्रतिनिधिहरूसँग बैठक गरेर, प्रस्तुत गरेर पहिलोपटक सरोकारवालालाई औपचारिक रूपमा ०८० फागुन २ गते तथा ०८१ जेठ १ गते छलफल गरेर लिखित सहमति नै लिएका थियौं ।’
उनले ती बैठकपछि प्राधिकरणले यस्तो पूर्वाधारको काम गर्न आइकाओको नियमअनुसार १७ जेठमा सबै वायुसेवा कम्पनीहरूको राजपत्रका रूपमा मानिने एआईपी सप्लिमेन्टमार्फत सूचना प्रकाशन गरेको बताए । कुनै पनि विमानस्थलमा मुख्य परिवर्तन गर्नुभन्दा ५६ दिनअघि सूचना निकाल्नु पर्ने अन्तर्राष्ट्रिय नियम हो । तर प्राधिकरणले हवाई भाडा वृद्धि नहोस् भनेर ६ महिनाअघि नै वायुसेवा कम्पनीहरूलाई बताउँदै आएको थियो ।
प्राधिकरणले स्तरोन्नतिको काममा मनसुनमा सम्भव नभएकाले अहिले सुरु गरिएको पनि जनाएको छ । ‘मनसुनमा सम्भव छैन’, आयोजना प्रमुमखले श्रेष्ठले भने,‘किनकि करिब असारको अन्तिमदेखि मध्य असोजसम्म काठमाडौंमा मनसुन सक्रिय नै रहने देखिएको छ । पानी परेको समयमा माटोसम्बन्धी काम, सबबेस तथा बेस कोर्ससम्बन्धी काम र बिटुमेनसम्बन्धी काम गर्न मिल्दैन ।’
त्यस्तै उडान सञ्चालन र निर्माण साथसाथै गर्न सम्भव नहुने प्राधिकरणले जनाएको छ । सञ्चालनरत विमानस्थलको विस्तार गर्नु चुनौतीपूर्ण कार्य भएको प्राधिकरणले जनाएको छ । 'विमानस्थल चालु रहेको समयमा उक्त क्षेत्रमा कुनै पनि प्रकारको निर्मा सम्बन्धी उपकरण प्रयोग गर्न मिल्दैन । त्यसैगरी उक्त क्षेत्रमा कुनै खाडल खनेर छोड्न पनि मिल्दैन । उक्त क्षेत्रमा सुरक्षा सम्बेदंशीलतामा सम्झौता गर्दा ठूलो दुर्घटना निम्तिने जोखिम हुन्छ,' आयोजना प्रमुख श्रेष्ठले भने ।
आयोजनाले विमानस्थलभित्रको काम जहाजको भारवहनसँग जोडिने भएकाले निर्माणबारे अपनाउने विधि पनि बेग्लै हुने जनाएको छ ।‘काठमाडौं विमानस्थलभित्र सञ्चालन हुने ६ टनभन्दा कमका साना टुइनअटरदेखि २ सय ५० टन क्षमताका वाइडबडीसम्मका जहाजहरूको तौल, चाप, फ्रिक्वेन्सी, जमिनको माटोको भारवहन क्षमता आदि लाई मध्यनजर गरी तयार गरेको डिजाइनअनुसार काम गर्नुपर्ने इन्जिनियर श्रेष्ठ बताउँछन् ।
इन्जिनियर श्रेष्ठले हवाई इन्धन डिपो पनि स्थान्तरण गर्नुपर्ने बताए । ‘हवाई इन्धन डिपो स्थानान्तरण गर्ने जिम्मेवार निकाय आयल निगम हो । प्राधिकरण होइन । हवाई इन्धन डिपो स्थानान्तरण पनि अब हुनैपर्छ । नत्र समानान्तर ट्याक्सिवेको मापदण्डले पूर्णता पाउन सक्दैन,’ इन्जिनियर श्रेष्ठले भने, ‘काठमाडौं विमानस्थलको गुरुयोजना अनुसार, आयल निगमलाई स्थान उपलब्ध गराइसकेका छौँ । नेपाल वायुसेवा निगमको ह्यांगर पनि अहिलेको स्थानबाट पूर्व सर्छ । सेनाको ह्यांगर पनि स्तान्तरण हुनेछ ।’
भूकम्पपछि नेपालमा राहत लिएर आएका विमान पार्किङ अभाव हुँदा मापदण्डविपरीत ट्याक्सीवेमा राख्नु परेको र केहीलाई घन्टौं आकाशमा होल्ड गर्नुपरेको इन्जिनियर श्रेष्ठको भनाइ छ । अब जहाज राख्ने ११ वटा एप्रोनको संख्या बढेर १८ पुग्ने भएकाले विमान होल्डमा रहने समस्या पनि न्यूनीकरण हुने उनले बताए ।
काठमाडौंमा पूर्वाधारको काम भइरहँदा प्राधिकरणले विकल्पमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलाई विकल्पका रूपमा सारेको छ । सरकारले प्रोत्साहन प्याकेज पनि ल्याएको छ । ‘५ वर्षअघि काठमाडौं विमानस्थलको धावनमार्गको जीर्णोद्धार गर्दा राति १० बजेदखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर १ वर्षमा काम सम्पन्न गरियो,’ सहप्रवक्ता भुलले भने,‘त्यसबेला अहिले जस्तो नेपालसँग भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेका थिएनन् । तर अहिले विकल्प छ । सरकारले त्यहाँ जाने वायुसेवालाई पार्किङ, ल्यान्डिङलगायतका थुप्रै सेवामा छुटको प्याकेज दिएको छ ।’