: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संख्याको बलमा एमाले-कांग्रेसले भ्रष्टाचारी बचाउन सरकार बनाएको बताएका छन्।
शनिबार वाइसीएल थाहा नगर, मकवानपुरको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उनले दलाल भ्रष्टाचारीले एमाले-कांग्रेसको सरकार बनाएकाले उसैको सेवामा सरकार लागेको दाबी गरे। आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा काम उल्ट्याउने प्रयास भइरहेको उनको भनाइ छ। अहिलेको सरकारलाई उज्यालो मन नपरेको र उज्यालोबाट देशलाई अँध्यारोमा लाने प्रयास भइरहेको दाहालले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र सय दिनको कामको विवरणमा माओवादी सरकारले गरेको कामको विवरण उल्लेख गरेको उनको दाबी छ। जनतामा माओवादीप्रति विश्वास बढ्न थालेको र नयाँ आन्दोलनको नेतृत्व गर्न तयार रहेको दाहालले बताए। प्रत्यक्ष कार्यकारी नेतृत्वको एजेण्डासहित देशब्यापी अभियान सञ्चालन गर्ने तयारीमा माओवादी रहेको उनले बताए।
कार्यक्रममा बोल्दै नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटाले सरकार भ्रष्टाचारको दलदलमा फसेको र सरकारको रबैयाले जनतामा चरम निराशा पैदा भएको बताए। माओवादी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका पूर्व मन्त्री कुमारी मोक्तानले माओवादी सरकारले बागमती प्रदेशमा तामाङ र नेवार भाषालाई सरकारी कामकाजको मान्यता दिएको बताइन्।