— नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले तीन वटै तहका सरकारहरूले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । उनले संविधान जारी भएपछिका वर्षहरुको गहन समीक्षा जरुरी रहेको भन्दै अब समीक्षा गरेर अघि बढ्नुपर्ने बताए ।
शनिबार गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा नेता सिटौलाले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको बताए ।
उनले संविधान जारी भएको अब एक दशक पुग्न लागेको भन्दै आफैँले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन भयो भन्नेबारेमा गहन छलफल हुन जरुरी रहेको बताए । उनले संविधानमा वा राज्य सञ्चालनमा कतै त्रुटि भए गहन समीक्षा गरी आवश्यक परे संविधान संशोधन गर्नुपर्ने समेत बताए ।
‘हामी सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको छ । संविधान जारी भएको अब एक दशक पुग्नै लाग्यो । संविधान आइसकेपछि पहिलो निर्वाचन सम्पन्न भयो, ५ वर्ष गयो, संविधानको दोस्रो निर्वाचनपछिको दोस्रो कार्यकालमा हामी छौँ । स्थानीय तहले पहिला पाँच वर्ष पूरा गर्यो, संघीय संसद्, प्रदेशले पाँच वर्ष पूरा गर्यो,' उनले भने, 'अब दोस्रो चरणमा स्थानीय तहले झन्डै ५ वर्ष पूरा गर्न लागेको छ । संघीय संसद् र प्रदेश पनि दुई वर्ष पुगिसकेको छ । हामी आफैँले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन गर्यौँ भनेर अब समीक्षा गर्ने बेला भइरहेको छ ।'
उनले संविधान जारी भएपछि यताका वर्षहरुको गम्भीरतापूर्वक समीक्षा गरेर अघि बढ्नुपर्ने बताए । नेता सिटौलाले स्थानीय तहलेखि संघ सरकारसम्मै राज्य सञ्चालनका शैलीहरु परिवर्तन गर्न जरुरी रहेको बताए ।