: उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको बताएका छन्।
इजिप्टको कायरोमा भएको विश्व अर्बान फोरममा सहभागी भइ शनिबार स्वदेश फर्किएका सिंहले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जलवायु परिवर्तनको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराइएको र जलवायु न्यायमा विश्व अर्बान फोरम सकारात्मक देखिएको बताएका हुन्।
यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधिसँगको छलफलमा पनि जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको प्रमुख सहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्नेमा आफूले प्रस्ताव राखेको उनले बताए।
सिंहले यूएन ह्याबिटेटले आगामी दिनमा जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न इच्छुक देखाएको बताए । आगामी वर्षमा यूएन ह्याबिटेटका नयाँ कार्यक्रमहरु नेपालमा सञ्चालन हुने जानकारी पाएको उनको भनाइ छ ।
विश्व फोरममा नेपालका तर्फबाट उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रमा सम्बोधन गरेका थिए भने उनले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका थिए।