— पूर्वी नवलपरासीमा गैँडाको संख्या बढेको भन्दै चितवन राष्ट्रिय निकुन्जले यहाँका गैँडा चितवन स्थानान्तरण गर्न लागेकोमा पर्यटन व्यवसायीले विरोध गरेका छन् ।
पर्यटनसँग सम्बधित व्यवसायीहरुले आइतबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई एक ज्ञापन पत्र बुझाउँदै कावासोती क्षेत्रका गैँडा स्थानान्तरण गर्ने चितवन निकुन्जको प्रस्ताव कार्यान्वयन हुन नदिन माग गरिएको छ ।
नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले गैँडा हाम्रो प्राकृतिक सम्पदा मात्र नभएर पर्यटनको दिगो श्रोत भएका कारण यो क्षेत्रमा रहेका गैँडा अन्यत्र लैजान नहुनेतर्फ प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको जानकारी दिए ।
गत चैतमा कावासोती क्षेत्रमा रहेका ६ वटा गैँडालाई चितवन स्थानान्तरण गरिएको थियो । यो पटक पनि त्यतिकै संख्यामा गैँडा चितवन सार्ने योजना निकुन्जले अघि सारेपछि स्थानीय सरोकारवालाले विरोध गरेका हुन् ।
कावासोतीको अमलटारी र आसपासको क्षेत्रमा पर्यााप्त घाँसे मैदान भएका कारण यो क्षेत्रमा गैँडाको संख्या धेरै रहेको छ । यो क्षेत्रमा आउने पर्यटकहरुले सधैजसो गैडा देख्न पाउने गरेका छन् ।
घाँसे मैदान गैँडाको मनपर्ने थलो भएका कारण यो क्षेत्रमा धैरै गैँडा देख्न पाइन्छ । त्यसैले चितवनका पर्यटन व्यवसायीको जोडबलमा गैँडा स्थानान्तरण गर्न खोजिएको सरोकारवालाको आरोप छ ।