— सिरहा कारागारमा अनुगमन गर्दा पनि अवैध वस्तुहरू बरामद भएका छन् । कारागारमा सिरहाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतले अनुगमन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार, जिल्लाका सुरक्षा समितिका सबै पदाधिकारी सम्मिलित अनुगमन टोलीले शनिबार ११ बजेदेखि ३ बजेसम्म गरी ४ घण्टा कारागारभित्र 'सर्च अपरेसन' चल्यो ।
त्यसक्रममा सुर्ती, चुरोटलगायतका अवैध वस्तुहरू भएको सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए । कारागारमा बरामद भएका अवैध बस्तुहरू नियन्त्रणमा लिइएको र अनुसन्धान अघि बढाइएको उनले जनाए ।
कान्तिपुरले कारागारभित्रको बेथिति प्रमाणसहित सार्वजनिक गरेपछि कारागार व्यवस्थापन विभागले बिहीबार नै तत्कालै 'सर्च अपरेसन' गर्न निर्देशन दिएको थियो । तर, प्रशासनले भने शनिबार अनुगमन गरेको हो । यस्तै, विभागले शुक्रबार जिल्ला प्रशासनलाई घटनाको छानबिन गरी संलग्नलाई कारवाही गर्न र कारागार कार्यालयलाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा नै निर्देशन दिइसकेको छ ।
सिरहा कारागारभित्रै कारागारका मूलनाइके विजय महतो र नाइके इन्द्रजित यादव मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटना कान्तिपुरले प्रमाणसहित गत बुधबार सार्वजनिक गरेको थियो । यस कारागारमा पाँच गुणासम्म मूल्यमा लागूऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने तथ्य पनि कान्तिपुरले खुलासा गरेको थियो ।
यस्तै, पैसा तिरेर कारागारका कैदीहरू बाहिर पनि निस्कन पाउने, फोनका नाममा कैदीबाट मनलाग्दी असुली हुने, कारागारभित्रै पसल खोलेर कैदीहरूमाथि लुट हुँदै आएको, चौकीदार र प्रशासन मिलेर महिनाकै २० लाख रुपैयाँभन्दा बढी उठाउने गरेकोलगायतका विषय पनि समाचारमार्फत सार्वजनिक भएको थियो ।